केरेवियन प्रीमियर लिग (सीपीएल)को उपाधि त्रिनिबागोलाई

केरेवियन प्रीमियर लिग (सीपीएल)को उपाधि त्रिनिबागोलाई


केरेवियन प्रीमियर लिग (सीपीएल)को आठौँ संस्करणको उपाधि त्रिनिबागो नाइट राइडर्सले जितेको छ ।

फाइनलमा नाइट राइडर्सले सेन्ट लुसियालाई आठ विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो । प्रतियोगिताका १२ वटै खेलमा अपराजित रहँदै नाइट राइडर्सले उपाधि उचालेको हो । यसभन्दा अघि नाइट राइडर्स २०१५, २०१७ र २०१८ च्याम्पियन बनेको थियो ।

सीपीएलको फाइनल खेल ब्राइन लारा स्टेडियममा भएको थियो । टस हारेर पहिलो व्याटिङ गरेको सेन्ट लुसियाले १९.१ ओभरमा १ सय ५४ रन बनाएको थियो । १ सय ५५ रनको विजय लक्ष्य पाएको नाइट राइडर्सले १८.१ ओभरमा दुई विकेटको क्षतिमा उक्त लक्ष्य भेट्टाउँदै च्याम्पियन बनेको हो ।

फाइनलमा नाइट राइडर्सका कप्तान केरोन पोलार्ड उत्कृष्ट बलिङको प्रदर्शन गरेका थिए । पोलार्डले चार ओभरमा ३० रन खर्चेर ४ लिएका थिए । पोलार्डकै उत्कृष्ट बलिङका कारण सेन्ट लुइसा १ सय ५४ रनमै समेटिएको थियो ।

१ सय ५५ रनको विजय लक्ष्य पाएको नाइट राइडर्सको शुरुवात राम्रो हुन सकेन । टीमको कुल स्कोर १९ रन हुँदा दुई विकेट गुमाएको थियो । तर लेन्डन सिमन्स र डेरेन ब्राबोले उत्कृष्ट पारी खेल्दै टीमलाई चौथो पटक च्याम्पियन बनाएका थिए । सिमन्सले ८४ र ब्राबोले ५८ रनको पारी खेल्दै तेस्रो विकेटको लागि १ सय ३८ रनको साझेदारी गरेका थिए । सीपीएल लिगमा सिमन्स प्लेयर अफ दि म्याच र पोलार्ड प्लेयर अफ सिरिज घोषित भए ।

त्रिनीबागो नाइट राइडर्स च्याम्पियन भएपछि बलिउडका अभिनेता शाहरुख खानले ट्वीटमार्फत सम्पूर्ण खेलाडीलाई बधाई दिएका छन् । शाहरुख खान नाइट राइडर्सका मालिक हुन् ।