सर्पलाई अर्ब !

सर्पलाई अर्ब !


■ अर्जुनराज पन्त

गरिबको पेटलाई पनि पर्ने रै’छ खान
छैन तर त्यो मौका नै काम गर्न जान
न साथमा धन छ न त घरमा अन्न
न छन् कोही छिमेकी नै लेउ पैँचो भन्न !

के आयो लौ बेला यस्तो बिलखबन्द पाऱ्यो
रोगले भन्दा हामीलाई त भोकले पो माऱ्यो
बनाइदे न इश्वर तैँले अब यो हाल जानी
गरिबको पेटले बरु ढुङ्गा-माटो खानी !

पर्दैन है भन्थे उन्ले भोकले कोही मर्न
सरकार त आएन नि उद्धार त्यो गर्न
कुर्ची मात्रै जोगाउने झगडामै ब्यस्त
के देख्दथे पीडा हाम्रा छन् आफैमा मस्त !

जोगाउन केवल कुर्ची अर्को अश्त्र फाल्यो
जेसुकै होस् मान्छे जाबो लौ सर्प पो पाल्यो !
‘राम’ देव पुजेजस्तै नागदेव नि पुज्यो
एउटाको मुखलाई सर्पले नै बुज्यो !

गरिबजस्तै नागलाई चाहिँ नदिनु नि धोका
नाग देउता भएकाले नराख्नु नि भोका
एउटा बसे पनि अब नाग–सर्प पाली
अर्का विरोधि त छन् नि अझै खाली !

तिनलाई पनि देउ पैसो ती भ्यागुता पालुन्
जम्मा पारी त्यो आहारा सर्पलाई हालुन्
त्यति गरेपछि पक्कै आउन्नन् ती पनि
अब मेरो पालो हो लौ छोड कुर्ची भनी !

यस्तै त छ हाम्रो सरकार के गर्नु त गर्व
मान्छे यहाँ भोकभोकै छन् सर्पलाइ अर्ब !
भोकले मान्छे परिरा’छन् देख्दैनन् है त्यता
भन्नैपऱ्यो सर्पभन्दा विषालु छन् नेता !

एकथरि सर्प खेतका ती बेग्लै छन् डस्नी
अर्काथरि झनै चर्का ती कुर्चीमा बस्नी
मारीकन तिन्ले गरिव पोषे ठूलाठालू
कुनचाँहि सर्प रहेछन् त हामीलाई बिषालु ?!