ऋण सुविधाको दुरुपयोग गरेको आरोपमा जापानमा दुई नेपाली पक्राउ

ऋण सुविधाको दुरुपयोग गरेको आरोपमा जापानमा दुई नेपाली पक्राउ


विशेष प्रतिनिधि, टोकियो (जापान)

कोरोना भाइरसको कारणले आम्दानी घटेका घरपरिवारलाई सरकारले दिँदै आएको बिनाब्याज ऋण सुविधाको दुरुपयोग गरेको आरोपमा टोकियोमा दुई जना नेपाली पक्राउ परेका छन् ।

उनीहरुले फर्जी विवरण बुझाई चार लाख येन लिएको खुल्न आएको छ ।

यसरी पक्राउ पर्नेहरुमा रेष्टुरेन्ट सञ्चालक ३४ वर्षीय चुडामणि काफ्ले तथा अर्का एकजना रेस्टुरेन्टका कर्मचारी ४४ वर्षीय शिवप्रसाद रेग्मी रहेका छन् ।

उनीहरुलाई आप्रवासन र शरणार्थी कानूनको उल्लंघनअन्तर्गत छानवीन गरिँदै छ ।

आप्रवासन र शरणार्थी कानूनको उल्लंघन गरेको अनुसन्धानको क्रममा आरोपित उनीहरुले नक्कली कागजात तयार पारी जापान सरकारले साना तथा मझौला व्यवसायहरुलाई दिएको २० लाख येन अनुदान पनि लिएका हुन सक्ने आशंकामा थप अनुसन्धान भइरहेको जापानी संचारमाध्यमहरुले जनाएका छन् ।

उनीहरुलाई सिन्जुकु वार्डमा रहेको सामाजिक कल्याण परिषदको कार्यालयमा फारम बुझाउने क्रममा पक्राउ गरिएको बुझिएको छ ।

स्मरण रहोस् केही दिनअघि मात्रै नक्कली बाउछोरी बनेर जापान आएको आरोपमा इबाराकी केनमा दुई जना नेपाली पक्राउ परेका थिए ।