जहिल्यै जनता मात्र दोषी ?

जहिल्यै जनता मात्र दोषी ?


■ सुन्दर शर्मा

गत बिहीबार मछिन्द्रनाथको जात्रा शुरु गर्न लाग्दा ललितपुरको पुल्चोकमा जुन अकल्पनीय घटना घट्यो, त्यसमा दोषी सरकार हो कि स्थानीय जनता ? यसमा बहस हुनैपर्छ । अन्यथा, राज्य जहिल्यै निरङ्कुश बनिरहने परिवेश बन्न सक्छ ।

वर्तमान सरकारी रवैया देख्दा यस्तो लाग्दैछ कि राज्यसञ्चालनको प्रमुख एजेन्डा नै मुलुकका सनातन धर्म, संस्कृति र परम्परालाई बिथोल्दै निमिट्यान्न पार्नु हो । यो सरकारले पाइला–पाइलामा हाम्रो धर्म र संस्कृतिमाथि अनावश्यक हस्तक्षेप गर्दैछ ।

कतिपय हाम्रा लोक–सांस्कृतिक परम्पराहरू, आस्था र विश्वासका धरोहर मानिन्छन् । ब्यक्ति जस्तोसुकै मूल्य चुकाउन परे पनि उसले ती धार्मिक आस्था र परम्परालाई पूरा गरेरै छाड्छ । हामी नेपाली र धार्मिक संस्कारको सम्बन्ध बडो मजबुत पाराले बाँधिएको यथार्थलाई कसैले उपेक्षा गर्न मिल्दैन ।

त्यस्तै, सांस्कृतिक परम्परामध्यको एक महत्त्वपूर्ण पर्व हो इन्द्रजात्रा । अर्थात्, १४ सय वर्ष अघिदेखि मान्दै आएको सांस्कृतिक पर्व । मछेन्द्रनाथको रथको विषयमा विगत पाँच महिनादेखि स्थानीय जनता वार्तामा सरिक भइरहेको अवस्था थियो । तर, सरकारले निकास दिने कुरामा ध्यान दिन नखोज्दा बिहीबारको दुःखद घटना घट्न गयो । यसमा सरकार नै दोषी छ ।

नेपालमा सबैभन्दा लामो समय मनाइने पर्व हो मछिन्द्रनाथको जात्रा, अर्थात् भोटो देखाउने जात्रा । यो जात्रा एक महिनाको हुन्छ । बैशाखको मध्यसम्ममा यो जात्रा सकिन्थ्यो सामान्य परिस्थितिमा । तर यो वर्ष कोरोना कहरले गर्दा बैशाख १२ मा भगवानलाई रथारोहण गराइ १५ मा रथ तान्ने साइत जुरेको थियो । रथ बनिसकेपछि पनि कोरोनाको कारण देखाउँदै पटक–पटक रथारोहणको मिति तोक्ने र रोक्ने केटाकेटीपनको काम भइराख्यो । असार १७ र २४ गते बाट सार्दै रथारोहणको कार्य श्रावण १० मा बल्ल सम्पन्न भयो । रथारोहण गर्दा चुपचाप बसेको प्रशासन एकाएक ब्यँझेर जनतामाथि लाठी बर्साउनु घोर अन्याय हो । यसमा कुन शक्तिको दूराशयले काम गरेको छ, अब पर्गेल्नै पर्छ ।

अनादिकालदेखि चल्दै र मान्दै आएका धर्म, संस्कृति र परम्परालाई विभिन्न बहानामा हत्या गर्न खोज्ने अनि भगवान रामको जन्म नेपालमा नै भएको हो भन्दै नयाँ अयोध्या बनाउन खोज्नु यो कस्तो बचपना प्रवृत्ति हो ? अहिले हामीसाँग भएका धर्म र संस्कृतिको रक्षा गरे मात्र पुग्छ । अहिले नेपालीलाई नयाँ धार्मिक प्रोजेक्ट (नेपाली अयोध्या)को आवश्यकता छैन ।

रथारोहण गरेको लामो समय हुँदासम्म पनि रथ जात्रा (रथ तान्ने काम) गर्न नपाएकोमा स्थानीय चिन्तित हुनु स्वाभाविकै हो । जनस्वास्थ्यका मापदण्ड पूरा गरेर रथ तान्न तयार छौँ, यसको ब्यबस्थापन गरिदिनुपऱ्यो भन्दै कैयौँ पटक प्रशासनसमक्ष अनुरोध गरेका थिए स्थानीयले । रथ बनिसकेको र रथारोहण भैसकेको अवस्थामा बरु सामान्य तरिकाले भिडभाड नगरी पर्बको कर्म पुऱ्याउने काम मात्रै गर्न आग्रह गर्दै सम्झाउनुपर्ने थियो प्रशासनले । यस्तै सुनाउँछन् सरोकारवालाहरू । बिनाकारण प्रहरीले बल प्रयोग गर्न थालेपछि युवाहरू पनि आक्रोशित हुन पुगेका देखिन्छ । प्रहरीले एकोहोरो बल प्रयोग गर्न थालेपछि प्रतिउत्तरमा रथ तानेरै देखाउँछौँ भन्दै स्थानीय युवाहरू अगाडि बढ्न बाध्य भएका हुन् । त्यसपछिको घटना हामीले सञ्चारमाध्यममार्फत् देख्यौँ, सुन्यौँ, पढ्यौँ । के शासकले कहिल्यै पनि जनताको भावना बुझ्ने कोसिस गर्नु पर्दैन ? जे र जस्ता कुरामा पनि प्रशासनिक डण्डाले जनता तर्साउने भूमिका मात्र हो त शासकको ? शासक अभिभावक भएको जनताले कहिले महसुस गर्ने ?

परम्परादेखि चल्दै र मान्दै आएको धर्म र संस्कृतिलाइ सरकारले नजरअन्दाज (उपेक्षा) गरिदिँदा बिहीबारको घटना भएकोमा दुई मत छैन । यो घटनामा न स्थानीय युवा दोषी छन् न त प्रहरी दाजुभाइहरू । यो घटनाको दोषी केवल जनताप्रति अनुत्तरदायी सरकार चलाउने विवेकशुन्य ठालुहरू हुन् ।

सरकार जहिल्यै जनताको भावनासँग खेल्न खोज्नु मुर्खता मात्र हो । बिहीबार पनि समस्या समाधानका विविध उपाय हुँदाहुदै पनि प्रशासन स्थानीयसँग निहुँ खोज्दै पैँठेजोरी खेल्न खोज्दा दुर्भाग्य बन्न पुग्यो । त्यसैले त्यो घटनाको दोषी सरकार नै हो । सरकारप्रमुख जस्तो ब्यक्ति आफूचाहिँ पद र मर्यादाको ख्यालसम्म नगरी होलीवाइन नामक ‘पञ्चामृत’ पिउँदै प्रभुको जयजयकार गाउँदै हिँड्ने, राष्ट्रको कल–संस्कृति, धर्म–परम्पराको जगेर्ना गर्न खोज्ने जनतालाई चाहिँ मनपरी प्रशासनिक डण्डा चलाउने ? यो कस्तो न्याय हो सरकार ? वास्तवमा यो सरकारले कोरोनाको नाममा नियोजित रूपमै हाम्रा मौलिक परम्परा र संस्कृतिलाइ ध्वस्त पार्ने खेल खेल्दै छ भन्दा अत्योक्ति हुने छैन ।

अनादिकालदेखि चल्दै र मान्दै आएका धर्म, संस्कृति र परम्परालाई विभिन्न बहानामा हत्या गर्न खोज्ने अनि भगवान रामको जन्म नेपालमा नै भएको हो भन्दै नयाँ अयोध्या बनाउन खोज्नु यो कस्तो बचपना प्रवृत्ति हो ? अहिले हामीसाँग भएका धर्म र संस्कृतिको रक्षा गरे मात्र पुग्छ । अहिले नेपालीलाई नयाँ धार्मिक प्रोजेक्ट (नेपाली अयोध्या)को आवश्यकता छैन । एकातिर हाम्रो खोकना जस्तो मौलिक, सांस्कृतिक धरोहरसहितका सम्पदा र परम्परालाई जरैदेखि उखेलेर तहसनहस पार्ने अर्कोतिर हुँदैनभएको कुरामा जिद्दी गर्दै नयाँ अयोध्या बनाउने सपना बाँडेर दुनियाँ हँसाउने ! कस्तो दुरगामी योजना हो शासकको ?

सरकारप्रमुख जस्तो ब्यक्ति आफूचाहिँ पद र मर्यादाको ख्यालसम्म नगरी होलीवाइन नामक ‘पञ्चामृत’ पिउँदै प्रभुको जयजयकार गाउँदै हिँड्ने, राष्ट्रको कल–संस्कृति, धर्म–परम्पराको जगेर्ना गर्न खोज्ने जनतालाई चाहिँ मनपरी प्रशासनिक डण्डा चलाउने ? यो कस्तो न्याय हो सरकार ? वास्तवमा यो सरकारले कोरोनाको नाममा नियोजित रूपमै हाम्रा मौलिक परम्परा र संस्कृतिलाइ ध्वस्त पार्ने खेल खेल्दै छ भन्दा अत्योक्ति हुने छैन ।

यी शासक भनाउँदाहरूले जहिले–जहिले जे–जे कुरा मागे जनताले चुँक्क नबोली उनीहरूलाइ साथ दिए । निर्दलीय ब्यवस्था फालेर बहुदलीय ब्यवस्था ल्याउनुपऱ्यो, अनि मात्र देश बन्छ भन्दै जनता उचाले । जनताले पनि अग्रपंक्तिमा आफूलाई उभ्याउँदै साथ दिए । जनताको साथले बहुदलीय ब्यवस्था आयो । राजाले देश लुटेर सक्काउने भए, राजा फाल्नुपऱ्यो भन्दै नेताहरूले कोलाहल मच्याए । जनताले त्यसमा पनि साथ दिए । राजा फाली आफू सर्वेसर्वा भए त्यो पनि जनताले सहेर बसे । बिना जनमतसंग्रह धर्मनिरपेक्षता घोषणा गर्दा पनि जनता चुप लागेर बसे । संघीयतासहितको गणतन्त्रात्मक ब्यवस्था भएमा मात्र देश बन्ने भन्दै तीन हात उफ्रेर भाषण ठोक्दै जनता ढाँटे । त्यसमा पनि जनताले सहयोग गरे । उनीहरूले नै माग गरेको संविधानसभाद्वारा जारी गरिएको संविधान चलनमा छ । संविधानमा उनीहरू जे–जे चाहन्थे सबै कुरा पर्याप्त रूपमा लेखिएको छ । लौ न पुर्ण बहुमतको सरकारको अभावमा नेपाल र नेपाली जनताको आर्थिक विकासमा बाधा पुग्यो भन्दै जनतासँग गुहार मागे, जनताले त्यो पनि पूरा गरिदिए । अहिले लगभग दुई तिहाई बहुमतको छ सरकार । छानी–छानी रोजी–रोजी बनाइएका मन्त्रीहरू छन् । राज्य ब्यवस्थाका मुख्य–मुख्य अङ्गमा विद्वान् र सक्षम आफ्नै भाइभारदार आसिन छन् । सबै अङ्गमा भ्रष्टाचारले सिमा नाघेको छ, तैपनि जनता चुपचाप छन् । जनताको जीवनस्तर दिनप्रतिदिन खस्किँदै गएको छ, तैपनि जनता चुप छन् ।

तर, अब अति भयो ! अब चुप लागेर बस्नु हुँदैन । आज नेवार सम्प्रदायलाई चोट लाग्यो, भोलि राई, लिम्बू , बाहुन, क्षेत्रीलगायत विभिन्न जातजातिका कला र संस्कृतिलाई पनि यसरी नै बिथोल्ने प्रयास हुनेछ । त्यसैले हामी सबै एकजुट भइ आ–आफ्नो संस्कृति जोगाउन कस्सिएर अघि बढ्ने बेला भैसक्यो ।

अन्तमा, गत बिहीबारको घटनाको जिम्मा सरकारले लिँदै हिरासतमा लिइएका युवाहरूको अविलम्ब रिहाई गर्नुपर्छ । स्थानीय र गुठियारसँग समन्वय गरी विश्वास दिलाउँदै रथ तान्न सहयोगी भुमिका निभाउने गर्दा नै प्रशासनप्रति जनविश्वास बन्ला ।

स्थानीय वासिन्दाका अनुसार दशैँसम्ममा रथ तानिएन भने मक्षेन्द्रनाथलाई भक्तपुर लैजानु पर्छ । यस्तो उनीहरूको परम्परागत व्यवस्था रहेछ । त्यसैले नतानीनहुने बाध्यतामा पाटनका स्थानीय छन् भने यस्तो बाध्यात्मक परिस्थितिलाई प्रशासनले बुझ्न नखोज्नु महामुर्खता हो भन्नुपर्ने हुन्छ ।