देश जीवित छ कि छैन आफैं जान्नुहोस् !

देश जीवित छ कि छैन आफैं जान्नुहोस् !


■ केशवप्रसाद भट्टराई

मानिसहरू ‘मुलुक नबाँच्ने भयो, नरहने भयो’ भनेर गुनासो, पिरोलो गरिरहेको बाक्लै सुनिन्छ ।
त्यसो भन्नेहरूले उक्त कुरालाई कसरी बुझे उनीहरू नै जानुन्, मैलेचाहिँ यसरी बुझेँ–

मानौँ देश भनेको हाम्रो गाउँको अल्छीढुङ्गाको चौतारो हो..
पहिला–पहिला त्यो चौतारोले यति बाक्लो र सुखद शीतल छहारी दिन्थ्यो कि मानिसलाई त्यहाँ बसेपछि उठ्नै मन नलाग्ने, त्यहाँको ढुङ्गामा अडेस लागेर सुत्न मन लाग्ने, आ..एक निद्रा सुतेर जानु जस्तो लाग्ने भएर नै नाउँ पनि अल्छीढुङ्गो रहेको !

चौतारो अहिले पनि छ,
त्यहाँको बर–पीपल, समीको रूखले दिने बाक्लो र चीसो छहारी अहिले पनि यथावत छ ।
गँगटेखोलातिरबाट आउने चिसो हावा अहिले पनि आउँछ ।

तर, स्वाभाविक रूपमा वरपरबाट बसोबास गर्न आउनेको संख्याले बस्ती बढायो !
बीपी राजमार्गमा ओहरदोहर गर्ने मानिसको वृद्धिसँगै होटेल–रेस्टुराको सङ्ख्या बढायो,
मानिससँगै फोहोरको उत्पादन पनि त ह्वात्तै बढ्ने भैगयो !
अनि चौतारोमुनिको पाखोमा फोहोर फाल्न थालिएकोले अब त्यस्तो चिसो हावामा फोहोरको कडा दुर्गन्ध मिसिएर आउँछ ।
त्यसैले अल्छीढुङ्गाको चौतारोमा अब मानिस शीतल ताप्न, थकाई मार्न र आराम गर्न जाँदैनन्–
जो जान्छन् फोहोर फाल्न मात्र जान्छन् ।

अल्छीढुङ्गाको चौतारोसँग अहिले त्यसको मूल्य छैन ।
मर्म छैन ।
अल्छीढुङ्गासँग अब जीवन छैन !
अब त्यसको नाउँ पनि फोहोरसँग जोडिएको छ– सुख, आराम, शीतलतासँग जोडिन्न !

यस्तै बनेको छ देश !
सरकार,
संसद,
अदालत,
सेना,
प्रहरी,
निजामती प्रशासन,
स्कूल, कलेज, विश्वविद्यालय,
राजनीतिक दलहरू, तिनका भातृ र शुभेच्छुक सँस्था, पेशागत संगठन, ट्रेड युनियन, अन्य नागरिक समाज संगठनहरू
सबै अल्छीढुङ्गाको चौतारो बनेका छन् ।

माथिका सबै सँस्था र संरचनाका जिम्मेवार व्यक्तिहरू अल्छीढुङ्गामा फोहोर फाल्न गएजस्तै ती सँस्था संरचनामा फोहोर गर्न जान्छन् ।
फोहोर थुपार्न जान्छन् ।
फोहोर बन्न जान्छन् ।

देश भनेकै तिनै सँस्था र संरचना त हुन् नि !
त्यहाँ काम गर्ने मानिस त हुन् नि !
तिनीहरू जोडिने आस्था र विश्वास त हो नि !
जसको लागि ती सँस्था र संरचना खडा भए तिनै त हुन् नि देश भनेको !
तिनले गर्ने सामूहिक आशा र विश्वास नै त हो देश भनेको पनि !

अल्छीढुङ्गाको चौतारो जसरी शीतल ताप्नेका लागि भएन,
थकाई मेट्न जानेका लागि भएन ,
फ़ोहोर गर्ने र फोहोर फाल्नेका लागि मात्र भइरहेछ ।
माथि उल्लेखित सँस्था र संरचना पनि त्यस्तैका लागि मात्र भइरहेछन् ।

मेरो गाउँको अल्छीढुङ्गाको चौतारोले त्यसको मूल मर्म र उद्देश्यसँग वर्तमानले कुनै सरोकार नै राख्दैन ।
मेरो देश पनि त्यस्तै छ ।
अब देश जीवित छ कि छैन त्यो तपाईं जान्नुहोस् !