सेलिब्रिटीमा सङ्क्रमण र कोरोनाको करामत !

सेलिब्रिटीमा सङ्क्रमण र कोरोनाको करामत !


■ राजन घिमिरे

कोरोना पनि साह्रै बेइमानी र निर्दयी रहेछ । साँच्चै कोरोनाको मनमा दया, करुणा र स्नेह रहेन छ । सर्वसाधारणलाई कोरोना लागे पनि कतै नाम, चासो र चर्चा नआउने तर, समाजमा नाम चलेका केही ब्यक्तिहरूलाई छोयो भने पनि रातारात ‘कोरोना सेलिब्रिटी’ बनाइदिने । गजबको भाइरस रहेछ यो कोरोना ।

हरेक दिन यति जनालाई लाग्यो, यति महिला अनि यति पुरूष…, यति मात्र जानकारी दिन्छ सरकार । तर, कहाँको कसलाई र कसरी लाग्यो ? आधिकारिक जानकारी दिँदैन सरकार । तर, प्रदेशमन्त्री जीवन घिमिरे, अख्तियार प्रमुख नवीन घिमिरे, काठमाडौंका मेयर विद्यासुन्दर शाक्य, उद्योगपति विनोद चौधरी र चिकित्सक भोला रिजालका दम्पतिलाई कोरोना संक्रमण भएकोदेखि रक्षामन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापाहरुको नतिजा नेगेटिभ आएको भन्नेसम्मका चर्चाले ब्यापकता कमाउँछ । उहाँहरूको नाम मिडियामा ‘सेलिब्रिटी’को रूपमा आउन थाल्छ । यो रोगले मरेका भनिएका जनताको भन्दा यी ‘प्रतिष्ठित’ ब्यक्तिहरूलाई छोएको समाचारले प्रमुख स्थान पाउँछ वा बनाइन्छ । कुरा बुझिसक्नु छैन । प्रतिष्ठित ब्यक्तिको दुई दिनमै नतिजा नेगेटिभ आउँछ, तर सर्वसाधारणचाहिँ अरू कुनै रोगले मरे या झुन्डिएर, पानीमा डुबेर, मरे भने मृत्युपछि कोरोना रहेछ भनेर समाचार फुकिन्छ ।

आजकल त कोरोना पनि प्रचारप्रसारको भोको हुन थालेजस्तो छ । साधारण मानिसमा संक्रमित हुँदा प्रचारप्रसारमा कमी आउला भन्ने सोचेर होला कोरोना आफै प्रतिष्ठितहरूसँग हातेमाले गर्दै उनीहरूसँग साँठगाँठ गर्न थालेजस्तो छ । सरकारलाई पनि सजिलो भयो कोरोनाको यो ‘आइडिया’ले गर्दा । सर्वसाधारणमा यो रोग हाउगुजी हो, डराउनु पर्ने अवस्था छैन भन्ने मनोभाव पैदा हुन थालेपछि आफ्नो बर्चश्व र कमाउ–बजार गुम्ने डरले कोरोना समाजका प्रतिष्ठितहरूतिर पल्कन थालेको देखिन्छ । समाजका प्रतिष्ठितहरूमा संक्रमित हुन सकियो भने समाचार पनि सनसनी हुने अनि सर्वसाधारणहरू पनि सजग हुने र समाजमा आतङ्क पनि फैलने कोरोनाको दुर्उद्देश्य सफल भएको छ ।

त्यस्ता मान्छेलाई त लाग्यो, सर्वसाधारणलाई नलाग्ने त कुरै भएन भन्ने समाचार बजारमा ब्यापक हुँदा कोरोनाले निःशुल्क प्रचारप्रसार पनि पाउने र आफ्नो बजार पनि बिस्तार हुने कुरामा कोरोना ढुक्क देखिन्छ । यसले गर्दा विभिन्न सञ्चारमाध्यमहरूबाट पनि कोरोनाका बारेमा धेरै फुक्नु परेन, किनकि प्रतिष्ठितहरूको समाचार त मिडियाले आफै खोजी–खोजी प्रसार गरिहाल्छन् । यसमा सरकारले दुःख पनि गर्नु परेन । यस्तोमा कतै कोरोना र सरकार ताराबाजी लै लै गर्दै मिलेर अगाडि बढेका त होइनन् ? शंका पो लाग्न थालेको छ । यो कुरामा सरकार र कोरोना कहर दुवै फाइदामा, गजब भएन त ? प्रतिष्ठितको कोरोना समाचारले समाजमा आतंक फैलाउन सहयोग पनि गऱ्यो र जनताहरू बाध्यतावश सजग पनि हुने भए ।

कोरोना लागेका यी प्रतिष्ठितहरूलाई यसअघि पनि रूघाखोकी, ज्वरो या अरू कोरोनाभन्दा पनि जोखिम रोग लागेको थिएन होला र ? खै त, त्यो समाचार न कतै सुन्न पाइयो न त कुनै मिडियामा नै आयो ! तर आज कोरोनाको लक्षण के च्वास्स देखिएको थियो, मिडियामा यस्तो स्थान पायो कि अब बर्बादै हुने भयो, तहसनहस नै हुने भयो जस्तो गरेर झ्याली पिटाइयो । यो मामिलामा त कोरोनाले नेपालको मिडियामा सफलता हात पारेकै हो !

कोरोनाजी ! प्रतिष्ठितहरूलाई यही रोगले च्वास्स छुँदा राष्ट्रिय मिडियामा समाचार आउने तर सर्वसाधारण मर्दासम्म पनि सामान्य नै हुने, किन ? यो त अन्यायपूर्ण भेदभाव भयो नि कोरोनाजी !? तपाईंले पनि छुट्याउन मिल्छ कोरोनाजी ? यो त छोरीलाई गाली गरेर बुहारी तर्साए जस्तो भएन र कोरोनाजी !?