ओलम्पिक लक्ष्य बनाएकी तेक्वान्दोकी ‘ह्याट्रिक गर्ल’

ओलम्पिक लक्ष्य बनाएकी तेक्वान्दोकी ‘ह्याट्रिक गर्ल’


■ श्रीविक्रम भण्डारी

सामान्य परिवार, जीवनसँग जोडिएका सबै कुरा आकाशकै फलसरह थिए । मृगतृष्णा जस्तै लाग्ने चाहनाहरू चाहेर पनि पूरा हुने अवस्था थिएन । साँचो अर्थमा भन्नुपर्दा अरुले खाँदा आफुले मुख मिठाउनु र थुक निलेर चित्त बुझाउनु पर्थ्यो । त्यसमाथि चारजना छोराछोरीको पालन पोषण गर्नु उनका बाबा–आमाका लागि पहाड जस्तै चुनौती थियो । यस्तो विषम परिस्थितिमा एक सामान्य परिवारको मनोदशा कस्तो हुन्छ त्यो सोझै अनुमान लगाउन सकिन्छ । त्यहाँ आफ्ना हरेक इच्छा–आकाङ्क्षालाई अंकुश लगाउने मात्र नभइ तिलाञ्जली नै दिनुको विकल्प रहँदैन । उनीहरूले सपना देख्न पाउँछन् तर सपनालाई सार्थक तुल्याउन सुनजस्तै आगोमा रापिनु पर्छ । यस्तै विषम परिस्थितिसंग पौँठेजोरी गर्दै १६ क्यारेटको सुन भएर निस्केकी थिइन्– ‘संगीता बस्याल’ । उनी अहिले नेपाली खेलकुदको उज्ज्वल नक्षत्र भइ चम्किरहेकी छिन् । नेपाली तेक्वान्दोको आन, वान र शान बनेकी छिन् ।

परिवारमा खेलकुदप्रति कसैको सकारात्मक धारणा थिएन । खेलाडी बन्नको लागि प्रोत्साहन गर्ने कोही थिएनन् । यस्तोमा खेलाडी बन्ने कल्पना गर्नु मात्र पनि ठूलै धृष्टता थियो । अझ बाबा सीताराम र आमा पुष्पा बस्यालले परिवारका सम्पूर्ण सदस्यहरूलाई खेल्नको लागि प्रतिबन्ध जस्तै लगाएका थिए । उनीहरूको बुझाइमा खेलकुद केटीले होइन, केटाले मात्रै खेल्ने हो भन्ने थियो । यस्तो वातावरणमा परिवारको विरुद्धमा जानु खतरा मोल्नु मात्रै हुन्थ्यो ।

अर्को कुरा खेल्ने इच्छा गरेर केही फाइदा पनि थिएन, आर्थिक पक्ष त्यत्तिकै जटिल पाटो थियो । र पनि, स्कुल जाँदा–आउँदा देखेको काठमाडौं तेक्वान्दो डोजाङमा जाने संगीताले साहस जुटाइन् । कस्तो त हुँदो रहेछ भनेर बुझ्नका लागि बहिनी सावी बस्यालसँगै डोजाङ पुगिन् । त्यहाँ अन्य केटाकेटीले खेलेको दृष्य देख्दा संगीता तेक्वान्दोप्रति आकर्षित भइन् । उनलाई भित्रैदेखि तेक्वान्दो खेल्ने इच्छा जागेर आयो । त्यसपछि दुवै दिदीबहिनीले तेक्वान्दो खेल्ने निर्णय गरे ।

तेक्वान्दो त खेल्ने तर कसरी ? संगीताको लागि यो अहम् प्रश्न बन्यो । परिवारको सपोर्टविना तेक्वान्दो खेल्ने सभ्भावना थिएन । जहाँ इच्छा त्यहाँ उपाय भनेझैँ त्यसपछि संगीताले हजुरआमा इन्द्रकुमारीलाई आफ्नो अभीष्टसिद्धिको ‘हतियार’ बनाइन् । पहिले त हजुरआमालाई संगीताको कुरा त्यति चित्त बुझेन तर केटाकेटीको जिद्दीको अगाडि उनी नतमस्तक हुनुपऱ्यो । त्यसपछि हजुरआमाले आफ्नै अग्रसरतामा संगीतालाई खेलाउने पं्रतिवद्धता जाहेर गरिन् र पारिवारिक वातावरण मिलाइन् । यसरी वि.सं. २०६४ सालदेखि संगीता सक्रिय रूपमा तेक्वान्दोको प्रशिक्षण गर्न थालिन् । यहीँबाट उनको खेल–जीवनको शुभारम्भ भयो, जसले यतिबेलासम्म निरन्तरता पाइरहेको छ ।

खेल्ने इच्छा गर्नु जति सजिलो थियो, त्यो भन्दा सयौँ गुणा गाह्रो प्रशिक्षण थियो । डाइटको नाममा बिहानबेलुकीको रुखोसुखो घरको खाना मात्रै थियो । यस्तो स्थितिमा प्रशिक्षण गर्नु निकै कठिन थियो । अझ पढाइसँगै खेलको तालमेल मिलाउनु आफैमा चुनौतीपूर्ण थियो । यस्तोमा असमञ्जस्यता उत्पन्न हुनु स्वभाविकै थियो । तर संगीताले हार मानिनन्, भविष्यमा जस्तोसुकै जटिल परिस्थितिको सामना गर्ने साहस जुटाइन् । दुवै विधालाई एकसाथ लैजाने कुरामा अडिक रहिन् । यस्तोमा संगीतालाई कसैको साथ थियो त त्यो केवल आत्मविश्वासको । त्यही आत्मविश्वासको जगमा उभिएर समयसँग पौँठेजोरी खेल्दै, विभिन्न चुनौतीहरूको सामना गर्दै संगीता अगाडि बढिन् । ‘मेहनतको फल मीठो हुन्छ’ भनेझैँ १६ वर्षको उमेरमा ब्ल्याकबेल्ट प्राप्त गर्न सफल भइन् । यो उनको खेल–जीवनको सवैभन्दा ठूलो उपलब्धि थियो । त्यतिबेला उनले एसएलसी पनि पास गरेकी थिइनन् । पछि उनले काठमाडौं तेक्वान्दो डोजाङबाट सेकेन्ड डान लिइन् ।

तेक्वान्दो खेल्न शुरु गर्दा संगीता कक्षा ६ मा अध्ययनरत थिइन् । तेक्वान्दोका दुई विधा (गेरोगी र पुम्से)मध्ये संगीताले ‘गेरोगी’मा आफ्नो भविष्य देखिन् । फाइट गर्न मनपर्ने भएकै कारण संगीताले गेरोगी रोजेकी थिइन् । चोट लाग्न सक्ने सम्भावना भए पनि खेल्दा आनन्द आउने र पदक जित्दा बेग्लै शान हुने भएकै कारण गेरोगी संगीताको पहिलो रोजाइमा परेको थियो । संगीताले पहिलो पटक कक्षा ६ मा पढ्दा १२ वर्षको उमेरमा स्कुलस्तरीय तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाएकी थिइन् । उक्त प्रतियोगिता उनको अनुभवको पाटो मात्रै बन्यो । ४९ केजीमा प्रतिस्पर्धा गरेकी उनी पहिलो राउण्डमै पराजित भइन् । बालपन जित–हार भन्दा पनि प्रतियोगितामा खेल्ने अवसर जुटेकोमा उनी प्रशन्न थिइन् । त्यसपछि उनले सोही तौल समुहमा भक्तपुरमा भएको गणतान्त्रिक खुला तेक्वान्दोमा प्रतिस्पर्धा गरिन् । त्यहाँ पनि पहिलेकै परिणाम दोहरियो । यसपछिका अन्य दुई तीनवटा प्रतियोगितामा पनि कुनै पनि पदक जित्न नसकेपछि संगीताको खेल–जीवन एक प्रकारले धरापमै पऱ्यो । परिवारले अब पुग्यो, नखेल भनेर दवाब दिन थाले । यस्तो धर्मसंकटको अवस्था श्रृजना भएपछि उनले अर्को प्रतियोगितामा मेडल जितेर ल्याउने नजिते नखेल्ने भन्दै परिवारलाई आश्वस्त तुल्याइन् र खेललाई निरन्तरता दिइन् ।

कक्षा आठमा पढ्दा संगीताले पुनः खुला तेक्वान्दोमा प्रतिस्पर्धा गरिन् । यो प्रतियोगिता उनको लागि ‘गर कि मर’को अवस्थामा थियो । पदक जित्न नसके खेल्न नपाउने कारणले पनि संगीता निकै तनावमा थिइन् । भाग्यले साथ दियो, पहिलो पटक ५३ केजीमा प्रतिस्पर्धा गरेकी संगीताले उक्त प्रतियोगितामा तेस्रो स्थान हासिल गरिन् । पहिलो पटक पदक जित्दा उनको खुशीको सीमा थिएन । उनलाई महाभारतको युद्ध जितेर आएको जस्तो महसुस भएको थियो । साँचो अर्थमा भन्नुपर्दा यो पदकले परिवारको मुख टाल्न ‘स्वर्ण पदक’कै कार्य गरेको थियो । छोरीले पदक जितेपछि सबै दङ्ग परेका थिए । त्यसपछि संगीताका खुशीका दिन प्रारभ्भ भए, तेस्रोबाट शुरु भएको उनको पदकको यात्रा दोश्रो हुँदै पहिलोसम्म पुग्यो ।

उनले कोटेश्वर डोजाङले आयोजना गरेको खुला तेक्वान्दो प्रतियोगितामा पहिलो पटक ५७ केजीमा स्वर्ण पदक जितेकी थिइन् । यसपछि संगीताको खेल जीवनले ‘यु टर्न’ लिएको थियो । त्यसपछि उनले काठमाडौं डोजाङको तर्फबाट पाँचौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोट खेल खेलिन् । उक्त छनोट खेलमा पहिलो खेल जिते पनि दुर्भाग्यवश उनले दोश्रो खेल खेल्न पाइनन् । एसएलसी परिक्षाका कारण दुईमध्ये एकलाई चुन्नुपर्ने अवस्था आएपछि संगीताले परिक्षालाई रोजिन् । तेक्वान्दोमा झैँ एसएलसीमा पनि पास भइन् ।

‘कर्म गर फलको आशा नगर’ गीताको सारजस्तै भयो संगीताको खेल–जीवन । चौथो कोरियन एम्वेस्डर तेक्वान्दो प्रतियोगिता उनको लागि खुशी नै खुशी ल्याएर आयो । उनले यो प्रतियोगिता दोश्रो स्थान हासिल गरे पनि पहिलो पटक राष्ट्रिय तेक्वान्दो टीममा आफ्नो स्थान बनाउन सफल भइन् । यो खेलाडी भएर संगीताले देखेको ठूलो सपनामध्ये प्रमुख थियो । त्यसपछि मात्रै संगीताले आफुले खेलाडी भएको महसुस गरेकी थिइन् । अब मिहेनत गर्नुपर्छ र यो भन्दा ठूलो सफलता हात पार्नुपर्छ भन्ने उनमा जोश पैदा भयो । यहि कुरालाई आत्मसात गरेकी संगीता त्यसपछि निरन्तर रूपमा राष्ट्रिय टिमको सदस्य बनिन् । राष्ट्रिय टीमको सदस्य भइसकेपछि चुलिएको उनको ग्राफलाई विभागीय टिम सशस्त्र प्रहरी बलले क्यास गऱ्यो । संगीतालाई आफ्नो परिवारको सदस्य बनायो । २०६९ सालदेखि संगीता सशस्त्र प्रहरी बलबाट राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गर्दै आएकी छिन् । जुन विश्वास गरेर सशस्त्रले संगीतालाई भित्र्याएको थियो, अहिले उनी उक्त क्लबको आन, बान र शान बनेकी छिन् ।

सशस्त्रलाई तेक्वान्दोमा दरिलो उपस्थिति गराउन उनी मजबुत खम्बा बनेको संगीताको कीर्तिमानी प्रदर्शनले प्रमाणित गरेको छ । संगीताले छैठौं, सातौं र आठौं राष्ट्रिय प्रतियोगितामा लगातार स्वर्ण पदक जितेर ‘ह्याट्रिक’ गरेको इतिहास लोभलाग्दो छ । जुन प्रदर्शनले संगीताले आफुलाई तेक्वान्दो उत्कृष्ट खेलाडीको रुपमा स्थापित गरेकी छिन् । जस्लाई संगीताले आत्मसात गर्दै भनेकी छिन्– ‘मेरो राष्ट्रिय प्रतियोगिता ह्याट्रिक गर्ने रहर थियो त्यो पुरा भो, निकै खुशी छु, भगवानलाई धेर–ैधेरै धन्यवाद । त्यो मेरो खेल जीवनको अविष्मणीय क्षण हो, म कदापि बिर्सन सक्दिनँ ।’

‘राष्ट्रिय प्रतियोगितामा पहिलो पटक स्वर्ण पदक जित्दा मलाई विश्वास नै लागेन’, संगीता भन्छिन् । त्यो अपत्यारिलो र अविश्वसनीय थियो, यसर्थमा कि यसभन्दाअघि उनले यस्तो ठूलो सफलता प्राप्त गर्न सकेकी थिइनन् । सपना देखेकी थिइन् तर आत्मसात गर्न पाएकी थिएनन् । त्यो दिन संगीताले आफुले देखेको सपनाको साक्षात्कार गर्न पाएकी थिइन् । त्यसैले ज्यादै खुशी थिइन्, वर्णन गर्न सक्ने अवस्थामा थिइनन् । किनकि उनी राष्ट्रिय च्याम्पियन बनेकी थिइन् । संगीताको यो प्रदर्शनपछि परिवारमा पनि हर्षोल्लास छायो, परिवार पनि सकारात्मक भयो, उनलाई खेल्नमा अब कुनै रोकटोक भएन । राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितेर पनि राष्ट्रिय खेलाडी बन्छु भन्ने संगीतामा विश्वास थिएन । समय बित्दै गयो, खेलमा भिज्दै गए, त्यसपछि संगीना वैद्य, दीपक विष्ट र सविताराज भण्डारी जस्तै चर्चित खेलाडी बन्ने मन पलायो ।

यसपछि राष्ट्रिय स्तरमा आयोजना भएका कुनै पनि प्रतियोगितामा संगीताले दोश्रो हुन परेन । सफलतामाथि सफलता हासिल गर्दै गइन् । कोरियन एम्वेस्डर राष्ट्रिय तेक्वान्दोको पाँचौं, छैठौं र आठौं संस्करणमा स्वर्ण पदक जितेर आफ्नो प्रतिभालाई चम्काउँदै गइन् । त्यस्तै लुम्बिनी च्याम्पियनसिपमा पनि उत्कृष्ट प्रदर्शन गरेर स्वर्ण जितिन् । तर विडम्बना, यति धेरै सफलता प्राप्त गरे पनि राष्ट्रिय च्याम्पियनसिपमा भोगेको पराजय र पहिलो राउण्डबाटै बाहिरिनु परेको पीडा उनको मानसपटलमा ताजै थियो । यो पराजयको पीडाले संगीता अहिलेसम्म गाँजिरहेको छ, उनको मन पोलिरहेको छ । अकल्पनीय पराजयको उत्तर अहिले पनि संगीता उत्तरको रुपमा खोजिरहेकी छिन् ।

आफुलाई एग्रेसिप भन्दा डिफेन्स खेलाडीको भन्न रुचाउँछिन् संगीता । उनी आक्रमणभन्दा काउन्टरमा विश्वास गर्छिन् । त्यसैले होला साथीहरूले तिमी ट्रेनिङमा भन्दा गेममा राम्रो गर्छौ भन्छन् । साथै खेल्ने क्रममा उनी आफ्नो तालसुरले नभइ प्रशिक्षकहरूको सुझावअनुसार खेल्छिन् । ‘जब म मेरो विवेक प्रयोग गरेर खेल्छु तब हारिरहेको हुन्छु । त्यसैले मलाई कोच डिसिजन राम्रो लाग्छ’– संगीताले विश्वासका साथ भनिन्– ‘तर कहिलेकाहीँ यस्तो अवस्था आउँछ, जुन बेला गर कि मरको अवस्था हुन्छ । यस्तोमा चाहिँ म मन दह्रो पारेर खेल्छु, जसले मलाई थुप्रै पटक सफलता दिलाएको छ ।’

पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्न पाउने अवसर जुट्दा संगीताको खुट्टाले भुइँ छोडेको थियो । उनी निकै उत्साहित बनेकी थिइन् तर सन्त्रास पनि त्यत्तिकै थियो । किनकी संगीताले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) नखेल्दै एसियाली खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गर्न गैरहेकी थिइन् । त्यसमाथि अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव सून्य हुँदा उनको लागि इन्डोनेसियामा आयोजना भएको १८औँ एसियाड आफैमा अवसर र चुनौती बनेको थियो । यस्तोमा आफ्नो प्रदर्शन कस्तो रहला भन्ने कुराको उनको भोक निन्द्रा हराएको थियो । पछि उनले खेल त हो भन्दै आफुलाई सम्हाल्दै दिनरात प्रशिक्षणमा जुटिन् । एसियाडको लागि अन्य खेलको तुलनामा तेक्वान्दोको स्वदेश र विदेशमा राम्रो प्रशिक्षण भएको थियो । एसियाडमा सम्भावित पदक जित्न सक्ने खेल भएकै कारण तेक्वान्दो खेलाडीप्रति सबै आशावादी थिए ।

पहिलो पटक दृढ आत्मविश्वासका साथ म्याटमा उत्रिएकी संगीताले सोचेभन्दा उत्कृष्ट प्रदर्शन गरिन् । प्रतिद्वन्दी खेलाडीसँग तीन राउण्ड भिड्दै मात्र तीन अङ्कले पराजित भइन् । अन्तिम स्कोर थियो २०–१७ । आफुले कस्तो प्रदर्शन गरेँ त्यो थाहा थिएन, पछि गुरुहरूले स्यावासी दिँदै राम्रो खेल्यौ भनेर तारिफ गरेपछि निकै खुशी भएको संगीताको कथन थियो । साँचो अर्थमा भन्नुपर्दा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता त्यसमाथि एसियाडमा यस्तो उत्कृष्ट प्रदर्शन गर्नु आफैमा तारिफयोग्य कुरा थियो । पहिलो राउण्डमै पराजित भए पनि संगीताले प्रतिद्वन्दी खेलाडीलाई राम्रो टक्कर दिएकी थिइन् । एसियाडमा तेक्वान्दोबाट प्रतिस्पर्धा अन्य नेपाली खेलाडीको भन्दा संगीताको प्रदर्शन उकृष्ट थियो । यसरी पहिलो अनुभवलाई नै अविष्मणीय बनाएकी थिइन् संगीताले ।

१८औँ एसियाडमा उत्कृष्ट प्रदर्शन गरेपछि १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) संगीताको लागि निकै चुनौंतिपूर्ण बनेको थियो । उनले सागमा स्वर्ण पदक जितेर गुरुलाई देखाउनुपर्ने बाध्यता थियो । एसियाडमा गरेको उत्कृष्ट प्रदर्शन काकताली थिएन भनेर प्रमाणित गर्नु थियो । तर स्वर्ण पदक जित्ने सम्भावित तेक्वान्दो खेलाडीको सूचीमा संगीताको नाम थिएन । उनलाई यसले स्वर्ण पदक जित्छ भनेर कसैले ठोकुवा गरेका थिएनन्, तर जित्न पनि सक्छ भन्ने सूचीमा भने राखेका थिए । यी सबै अडकलबाजीलाई मात दिँदै संगीताले १३औँ सागमा स्वर्ण जितिन् । उनले सेमिफाइनलमा श्रीलंका र फाइनलमा भारतकी खेलाडीलाई पराजित गर्दै साग गेमको पहिलो सहभागितामै नेपाललाई स्वर्ण पदक दिलाइन् । स्वर्ण पदक जितेपछि निकै प्रशन्न मुद्रामा देखिएकी संगीताले त्यतिबेला भनेकी थिइन्– ‘मैले स्वर्ण पदक जितेर देखाउनुपर्ने नै थियो, देखाएँ, प्रशिक्षकको नजरमा खरो उत्रिएँ ।’

संगीतालाई तेक्वान्दोका प्रायः सबै गुरुहरू मन पर्छन् । त्यसमध्ये उनको पहिलो रोजाइमा दीपक विष्ट परेका छन् । विष्टले पारिवारिक वातावरणमा सिकाउने भएकै कारण संगीताले दीपकलाई रोजेको बताइन् । त्यस्तै उनले अन्य प्रशिक्षकहरूमा मुख्य प्रशिक्षक नवीन श्रेष्ठ र संगीना वैद्य पनि मन पर्ने बताइन् । साथै उनले नेपालका सबै गुरु राम्रो हुनुहुन्छ भन्दै अन्तर्राष्ट्रिय स्तरमा स्तरीय प्रदर्शन गर्न र पदक जित्नका एउटै गुरु हुनुपर्ने राय प्रकट गरिन् । किन एउटै गुरु भन्दा उनले भनिन्– ‘सबै गुरुहरूको सिकाउने तरिका आ–आफ्नै हुन्छ, यसरी खेलाडीहरू द्विविधामा पर्छन्, कस्ले भनेको मान्ने, कस्ले भनेको नमान्ने ? जसले गर्दा खेलाडीमा असमञ्जस्यता उत्पन्न हुन्छ । जसले खेलाडीको प्रदर्शनमा पनि असर पर्छ । त्यसैले स्वदेशी होस् या विदेशी, जो भए पनि एउटै गुरु हुनुपर्छ भन्ने मेरो व्यक्तिगत मान्यता हो ।’

निकै फरासिली, जे सोधे पनि धक नमानी हाँसेर जवाफ दिने संगीतासंग पे्रम प्रसङ्गको बारेमा चर्चा गर्दा पनि बडो खुलेरै नै जवाफ दिइन् । पहिला स्कुलमा छँदा थियो, कोही एउटा आफुलाई मनपर्थ्यो, तर उसले मलाई मन पराउँथ्यो कि पराउँदैनथ्यो थाहा भएन । स्कुल सकिनासाथ खेलकुदमा लागिहालियो, अहिले कसैसंग प्रेमस्रेम केही छैन । साँचो कुरा भनौँ भने साथीसंगीहरूको ‘प्रेम’ देखेर नै दिक्क लागिसक्यो । बेलाबेलामा रोकटोक गर्ने, टाइम दिनुपर्ने, भेटौँ भन्ने, भेट्न नसके रिसाउने, मोवाइलमै झगडा गर्ने, मलाइ मन पर्दैन यस्तो कुरा । आफ्नो कति काम हुन्छ, जिम्मेवारी हुन्छ, अफठ्यारो हुन्छ, त्यस्तो कुरालाई बुझ्दै नबुझ्ने खाली ढिपी मात्रै गर्ने ? अनि कसरी प्रेम हुन्छ ? मैले यिनै कुरालाई आत्मसात गर्दै म लवसव गर्ने चक्करमै परिनँ । म त सिंगल छु । यति हुँदाहुँदै पनि मान्छे हुँ, मन छ, पे्रमभाव उत्पन्न हुन्छ, कसैप्रति आकर्षित पनि हुन्छु, अहिले पनि नभएको होइन । कसैलाई ब्वाइफ्रेण्ड बनाउँ जस्तो लाग्छ तर खेल्न थालेपछि सबै विर्सन्छु । मलाई अहिलेसम्म थुप्रै व्यक्तिहरूले प्रेमको प्रस्ताव राखिसकेका छन् । मैले थुप्रैलाई उत्तर फर्काएको छैन, जसलाई फर्काएको छु तिनीहरूलाई ब्वाइफ्रेण्ड छ भनेर टारिदिएकी छु । हा हा हा…..।’

२८ वर्ष पुगीसक्यो कहिले विवाह गर्ने त भन्दा संगीता गम्भीर भइन् । ‘मेरो केही जिम्मेवारी छ, त्यो पुरा भएपछि विवाह गर्नुुपर्ला । पहिले घरपरिवारको सेटेल गर्छु अनी विवाहको बारेमा सोच्छु । म खेल क्षेत्रको मान्छेसँग विवाह नगर्ने, बाहिरकै ठिक छ ।’

अझै चार–पाँच वर्ष खेलकुदमै बिताउने प्रण गरेकी संगीताले ओलम्पिक खेल्ने लक्ष्य राखेकी छिन् । उनको त्यो लक्ष्य पुरा होला–नहोला त्यो आफ्नो ठाउँ छ, तर उनले जुन सपना देखेकी छिन् त्यो आफैमा प्रशंसनीय छ । त्यस्तै अर्को साग र एसियाड खेल्दै पदक जित्ने उनको धोको छ । विभिन्न कारणले अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाएको स्मरण गर्दै संगीताले भनिन्– ‘अब ती प्रतियोगिता खेल्ने धोको छ, नेपाललाई पदक दिलाउनु छ, राष्ट्रिय झण्डालाई अन्तर्राष्ट्रिय स्तरमा फहराउनु छ ।’