दुर्गेश थापाले गरे ‘जनकवि केसरी’को अपमान

दुर्गेश थापाले गरे ‘जनकवि केसरी’को अपमान


■ राजन घिमिरे

के सर्जकको सिर्जना मापनको सही र भरपर्दो यन्त्र ट्रेन्डिङ नै हो ? कुनै सर्जकको सांगीतिक प्रस्तुति यूट्यूबको ट्रेन्डिङमा परेन भने त्यो सर्जक क्षमता प्रतिभा नभएको या गलत नै हो त ? ट्रेन्डिङभित्र नपर्ने कलाकर्मीको आफ्नो क्षेत्र वा विधाप्रति कुनै योगदान नै रहेन भन्ने ? यस्तो होइन । त्यसैले कुनै पनि सर्जक र उसको सिर्जनालाई युट्यूबको तराजुमा जोख्ने काम नगरौँ । ट्रेन्डिङमा पर्नुको अर्थ राम्रो भएर नै हो भन्ने होइन, के रहेछ त हेरि हालौँ न भनेर पनि हेरिएको हुन सक्छ । आजका पुस्ता ट्रेन्डिङमा पर्छन् तर लामो यात्रा तय गर्न सक्दैनन्, किन ? नयाँपुस्तालाई धाप दिनेहरूले कहिले बुझ्ने यो कुरा ?

कला संगीतमा लागेका आजको पुस्तालाई रातारात भाइरल हुने र कसरी ट्रेन्डिङमा पर्ने भन्ने चिन्ताले सताएको देखिन्छ । यदि यूट्यूब र ट्रेन्डिङ भन्ने नभएको भए साँच्चै संगीत विधामा लागेर केही गर्छु भन्नेहरु मिहेनत गर्न कोसिस गर्दथे र दीर्घकालीन रूपमा टिकिरहन्थे । तर, अहिले तत्काल देखाओटीका लागि मात्र युवापुस्ता सक्रिय भएको पाइयो, लामो बाटो र यात्रा तय गर्नतिर सोचेको देखिएन । मिहेनत, कर्मप्रति लगाव थोरै, अनि चर्चामा आउन जे पनि गर्ने सोच धेरै । यो सोच घातक हुने देखिन्छ ।

श्रोता तथा दर्शकहरूको कमेन्ट अनि आफ्नो गल्ती–कमजोरी ढाकछोप गर्न रातारात अर्को गीत सिर्जना गरेर ‘इगो’साध्न भ्याउने गायक दुर्गेश थापा र उनका दाजु गीतकार वसन्त थापाले अबको सिर्जना मौलिक र उच्चकोटीको बनाउँछु भनेर किन सोच्न सकेनन् ? इगो साध्नकै लागि कोठामा बसेर एक रातमै गीतमार्फत जवाफ दिन सक्ने क्षमता बोकेका दुर्गेश र वसन्तको यो क्षमता देख्दा त गाउँ–गाउँ डुलेर एउटा गीत जन्माउन हामी महिनौँ लगाउँथ्यौँ भन्ने अग्रज स्रष्टाहरुको कुरा बेकार रहेछ भन्ने भान नयाँ पुस्तामा परेको छ । आज कसैले गाली गऱ्यो भने भोलि त्यो गालीलाई जवाफ दिन गीतै तयार पार्न सक्ने… वाह १ क्या क्षमता, प्रतिभा र दक्षता भएका सर्जक ? दुर्गेश थापाको लागि गीत तयार पार्ने उनका दाजु वसन्त थापाले आफ्नो भाइको बजारमा बिग्रेको छविलाई सुधार्ने खालको गीत जन्माउनुपर्ने होइन र ? तर वसन्तले त आलु बोलको गीत लेखिदिएर दुर्गेशको वजन झनै घटाइदिएका छन् । यो यथार्थको बोध दुर्गेश र वसन्तलाई कति भएको छ कुन्नी ?

दुर्गेशको आलु गायक बोलको गीत ट्रेन्डिङमा पऱ्यो, उनलाई शुभकामना छ । तर यो गित बिक्ने कि टिक्ने ? त्यो त समयले नै बताउला । यो गीतले नेपाली संगीतलाई माथि पुऱ्याउन कत्तिको साथ दिएको छ त भन्ने प्रश्नचाहिँ टड्कारै रुपमा उठिरहेको छ । नेपाली गीत–संगीतको फाँटलाई हराभरा बनाउन के योगदान देला त यस्ता गीतले ? वसन्त थापा– जसले सालको पात जस्तो सर्वाधिक मन पराइएको उच्चकोटीको गीत लेखेर वाहवाही पाएका थिए, तर आज आलु गीतमार्फत् उनले सालको पातबाट बनेको साख पनि गिराएका छन् । तपाईं त अभिभावक जस्तो मान्छे, अभिभावकले भाइलाई यस्तै सृजनामा भुलाउन मिल्छ ? अनि सृजना जस्तो विधालाई इगोको रूपमा लिन मिल्छ ? सृजनामा पनि यस्तो हुन्छ ?

अझ महत्वपूर्ण कुरा त के छ भने आलु बोलको यो गीतमा जनकविकेशरी धर्मराज थापाको सिधै अपमान गरिएको छ । अनि भिडियोमा रामकृष्ण ढकाल, एम बराल जस्ता जानेमानेका गायकले दुर्गेश थापाबारे अनभिज्ञतासम्बन्धीको सम्वाद राखेर यिनकै कारण आलु गीत तयार पार्न आफू विवश भएको धारणा प्रस्तुत गरिएको छ । के यो अग्रजहरुमाथिको अपमान होइन ? ‘हो हो माले गीत गाउने बबाल गायक हुने तर म किन नहुने !’ जस्तो मानसिकता दुर्गेशको यो गीतमा स्पष्ट महसुस गर्न सकिन्छ । उनले जनकविकेसरीको सम्मान गरेका हुन् कि अपमान ? यिनै अग्रजले बाटो खनिदिएका थिए र पो तपाईंले आज ट्रेण्डिङमा परे भनेर नाक फुलाउन पाउनुभएको छ । आजका पुस्तामा किन अग्रज र विगतलाइ भुल्ने परिपाटीको विकास भैरहेको छ ? नेपाली गीतसंगीतप्रति तपाईंको अज्ञानतामा जनकविकेसरी धर्मराज थापाको के दोष ? यस्ता शब्द लेख्नुअगाडि वसन्त थापाजी तपाईंको मुटु किन काँपेन ? आफै भन्नुस् के तपाईंले राम्रो गर्नुभयो त ? अनि दुर्गेशजी र तपाईंको महानता र नेपाली संगीतप्रतिको सम्मान यही हो त ? एक दिन तपाईंहरू पनि अग्रज हुनुहुने छ । यही हो त भावी पुस्तालाई तपाईंहरूले सिकाएको पाठ ?