एफ.एम.ले नेपाली संस्कृति बोल्न मिल्दैन ?

एफ.एम.ले नेपाली संस्कृति बोल्न मिल्दैन ?


सुशील भट्टराई

‘विदेशी वेशभूषा, भाषा, आचरण, खुराक र गीत संगीतमा क्रमशः डुब्न लागेको काठमाडौं महानगर बुझ्नेहरूको निम्ति ठूलो सर्पले निल्दै गरेको सानो सर्पजस्तो भान हुन्छ ।’

उपरोक्त भनाइ स्व. पारिजातद्वारा २०३८ सालतिर लिखित एक उपन्यासमा पाउन सकिन्छ । २०३८ सालमा पनि काठमाडौंलाई विदेशी सभ्यता र संस्कृतिले गाँजेको महसुस गर्नुहुने पारिजातले अहिलेको परिस्थिति देख्न र भोग्न पाउनुभएको भए कस्तो अभिव्यक्ति प्रकट गर्नुहुँदो हो कल्पना मात्रै गर्न सकिन्छ । उहाँले भन्नुभएजस्तै काठमाडौंको सभ्यता र संस्कृति विदेशी सर्परूपी सभ्यता र संस्कृतिको आहार बनेको छ । फरक यति मात्रै हो, पारिजातले भर्खरभर्खर विदेशी संस्कृति भित्रिन खोज्दा नै त्यसको दूरगामी असरको बारेमा अनुमान गर्नुभएको थियो । आज हामी सोही अनुमान साकार भएको अनुभव गर्दैछौँ ।

यसरी हाम्रो सभ्यता र संस्कृतिमाथि नाङ्गो प्रहार गर्ने हतियारमध्ये सरकारी सञ्चारको माध्यम विशेषगरी रेडियो प्रमुख बनेको छ । विगत १७–१८ महिना अगाडिदेखि सञ्चालित रेडियो नेपालको एफ.एम. प्रसारणले काठमाडौं उपत्यका र यसका केही छिमेकी जिल्लाहरूमा एक किसिमको सञ्चार आतङ्क फैलाएको छ । बिहान ५ बजेदेखि राति १२ बजेसम्म लगातार एवम् निर्वाध रूपमा प्रसारण हुँदै आइराखेका एफ.एम. रेडियोका कार्यक्रमहरूले (१–२ वटालाई अलग राख्दा) नेपाली भाषा, गीत, अझ भन्ने हो भने बिहान नित्यकर्म सकेर भगवानको पूजापाठ गर्ने समयमा घन्किने अंग्रेजी पप–गीतहरूले हामीलाई कता–कता खिसिट्युरी गरेझैँ लाग्छ ।

एफ.एम.का कार्यक्रमहरू प्रायजसो ‘टिन एज’का केटाकेटी जो स्कूल पढ्दछन् उनीहरूलाई अत्यधिक प्रभाव पारेको पाइएको छ । ‘टिन एज’ आफैंमा यस्तो उमेर हो जुन बेला केटाकेटीहरू सानो कुराले पनि प्रभावित हुने, वातावरणअनुसार आफ्ना बानी व्यवहार परिवर्तन गर्ने, अर्काको नक्कल बढी गर्ने आदिआदि । त्यसैले कतिपय स्कुले विद्यार्थीहरू पठनपाठनमा ध्यान नदिई एफ.एम.को कीरो बन्नेगरेका छन् । केटाकटीको कलिलो मस्तिष्कमा विदेशी सभ्यता र संस्कृतिको साम्राज्य विस्तार यसै एफ. एम. बाट हुने गरेको छ ।

एफ.एम.का कतिपय कार्यक्रमहरू यस्ता छन् जसले प्रत्यक्ष स्रोता कुराकानीअन्तर्गत अनाहकमा समय खर्चिराखेका हुन्छन् । १ घण्टाको कुनै कार्यक्रम हुन्छ र त्यसमा हल्काफुल्का विषयवस्तु उठाइन्छ । जस्तै, केटाले केटी किन जिस्क्याउँछ ? शिक्षाको कस्तो महत्व हुन्छ ? चलचित्र, आदि–आदि विषयमा पूरा कार्यक्रम केन्द्रित हुन्छ । प्रत्यक्षः स्रोता सहभागितामा कहिलेकाहीँ यस्ता स्रोताहरू पनि भाग लिन्छन् जसले ‘पल्लै दर्जाको’ शब्दमा कुराकानी गर्दछन् । आफूले कुनै केटीलाई मन पराएको र उसको लागि गीत सुनाइदिने (उनीहरूको भाषामा ‘डेडिकेट’ गर्ने) अनुरोध पनि प्रशस्तै स्रोताहरू गर्दछन् । मानौ एफ.एम. भनेका केटा र केटीको प्रेम गराउने एजेण्ट हो । कार्यक्रम सञ्चालकहरू बीच–बीचमा अंग्रेजी घुसाएर बोल्नु आफ्नो ठूलै खूवी ठान्दछन् । कतिपय कार्यक्रममा रोचक एवं मनोरञ्जनात्मक जानकारी दिने बहानामा विभिन्न स्वदेशी एवं विदेशी पत्रपत्रिकामा छापिएका विषयवस्तुहरू पढ्न लाज मान्दैनन् । यी र यस्तै खालका कतिपय उदाहरण भेटिन्छन् जसले एफ.एम.को छविमा नराम्रो प्रभाव पार्दै आएका छन् ।

एफ.एम. भनेको विकसित प्रविधिको प्रसारण सेवा हो भन्नेमा दुईमत छैन । शुरुमा यस्तो विकसित प्रसारण सेवा सुन्न पाउँदा काठमाडौंवासी हर्षित थिए र विकासको एउटा ठूलै ढोका खुलेकोसमेत महसुस गरियो । कसैले पनि एफ.एम.लाई आजको स्थितिमा आइपुग्ला भनेर कल्पनासमेत गरेनन् । तर आज परिस्थिति उल्टो भइदिएको छ । हाम्रा पाखा–पखेरा, उकाली–ओराली, पहरा–छहारका भाखालाई मुखरित गर्ने लोक सुसेलीहरु पाखा लाग्दैछन् र त्यसको ठाउँमा आयातित विदेशी’ संगीतहरूले जरा गाड्दैछन् । यसो भनुँ, एफ.एम. ले विदेशी संगीतलाई काखी च्यापेर स्वदेशी मौलिक संगीतलाई पाखा लगाइदिएको छ । वर्षौं देखि गीत र संगीतमा समर्पित कलाकारहरू ओझेलमा पर्दै गएका छन् ।

अझ सुनिदैछ, श्री ५ को सरकारले एफ.एम. प्रसारण सेवा क्रमशः विस्तार गर्दै लैजाने नीति बनाएको छ । यदि यही अवस्थामा एफ.एम.लाई अधिराज्यभर विस्तार गरियो भने अहिलेको भन्दा धेरै गुणा नकारात्मक असर पार्ने पक्का छ । बर्तमानमा त शहरी इलाका अझ खासगरी राजधानीमा मात्रै एफ.एम.ले सांस्कृतिक प्रदूषण फैलाएको छ । तर भोलि देशका कुना–कुनामा समेत विदेशी सांस्कृतिक दबदबा बढ्ने निश्चित छ । त्यसपछिका दिनहरूमा के–के हुँदै जाने हो त्यो सहजै अनुमान गर्न पनि सकिँदैन । सम्बन्धित निकायले यससम्बन्धी अलिकति पनि ध्यान दिएको जस्तो देखिदैन । अझै पनि एफ.एम.बारे केही सोच्ने फुर्सद निकाल्ने हो कि ?

(घटना र विचार साप्ताहिक, २०५४ जेठ ८ गते बुधबार)