गोवध रोक्न जङ्गबहादुरले विदेशमासमेत यतिसम्म गरे

गोवध रोक्न जङ्गबहादुरले विदेशमासमेत यतिसम्म गरे


जङ्गबहादुरले युरोप भ्रमण गर्न जाँदा काठमाडौंमा भाइ जनरल बमबहादुरले कायम–मुकायम प्रधानमन्त्रीको कार्य सम्हालेका थिए भने भाइ बद्रीनरसिंहले कायम–मुकायम प्रधानसेनापतिको कार्य सम्हाले । त्यस्तै, भाइ कमान्डिङ कर्णेल, कृष्णबहादुरले पाल्पा गौंडा छोडी काठमाडौं आएर कानून विभागको कार्य सम्हाले । यसैगरी भाइ रणोद्दीपसिंहले पूर्व तराईदेखि पश्चिम तराईतर्फको सम्पूर्ण सुरक्षातर्फको रेखदेखको कार्य सम्हाले । काकाका छोरा काजी जयबहादुरले मालपोततर्फ इन्स्पेक्टर जनरल भइ कार्य सम्हाले । त्यस्तै अरू नजिकका भाइभतिजाहरूले पनि मुख्य–मुख्य विभाग सम्हाली काम गरे ।

बेलायतकी महारानी भिक्टोरियालाई श्री ५ महाराजाधिराज सुरेन्द्रले लेखेको पत्र र सौगातहरूसमेत लिई जङ्गबहादर प्रधानमन्त्री तथा प्रधानसेनापति भए तापनि आफू नेपाल सरकारको राजदूतको हैसियतले नेपाली प्रतिनिधिहरूको नेतृत्व गर्दै वि.सं. १९०६ माघ, तदनुसार सन् १८५० जनवरी १५ तारिखका दिन काठमाडौं छोडी चिसापानीगढीको बाटो गरी प्रस्थान गरे ।

तराईमा प्रथम क्याम्प पत्थरघट्टामा खडा भयो । त्यहाँ जङ्गले १५ दिनसम्म शिकार खेले । सो शिकारमा हात्तीखेदा गरियो । साथै एक ठूलो दँतार हात्ती पक्राउ गरी ६ वटा पाटेबाघ, २ वटा गोही र ४ वटा बँदेल मारियो । त्यसपछि अर्को क्याम्प कटरवनमा सऱ्यो । त्यहाँबाट जङ्गको टोली भारततर्फ लाग्यो र बंगालको सिमानासम्म पुगी सन् १८५० फेब्रुअरी ११ तारिखका दिन ढाका पुग्यो । नेपाली प्रतिनिधिमण्डल दुई दिन ढाकामा विश्राम गरी त्यहाँबाट पटना ‘हाल भारतको विहार’तर्फ लाग्यो । हप्ता दिनमै पटना पुगेर नेपाली अलैंची कोठीमा विश्राम गरी त्यहाँबाट फेब्रुअरी २२ तारिखका दिन सो टोली बाँकेपुर पुग्यो । त्यहाँ अंग्रेजहरूले जङ्गबहादरको सम्मान गरी गोलघरको अगाडि एउटा महलमा राखे । त्यहाँ जङ्गको इज्जतको खातिर उन्नाइस तोपको सलामी दिइयो र अंग्रेज सेनाको एक टुकडीले सैनिक प्रदर्शनीसमेत देखायो । त्यहाँ कम्पनी सरकारको तर्फबाट बाटोमा हरेक प्रकारको मद्दत दिन तयार छ भनी सूचना ग¥यो । बाँकेपुरबाट दानापुर भइ स्टिमरद्वारा सुन्दरवनको बाटो भएर ११ दिनसम्म यात्रा गरी सन् १८५० मार्चमा नेपाली टोली कलकत्ता पुग्यो । कलकत्तामा पनि नेपाली प्रतिनिधिमण्डलका नेता जङ्गबहादुरको भव्य स्वागत भयो । चाँदपाल घाटमा जङ्ग स्टिमरबाट बाहिर निस्कनासाथै फोर्ट विलियमबाट उन्नाइस तोपको सलामी दिइयो । गोरा सेनाको एक सानो टुकडीले जङ्गबहादुरको सम्मानार्थ सलामी गारत अपर्ण गऱ्यो । जङ्गलाई बस्नको निमित्त बग्गीमा राखी वेल्भडियर प्यालेसतर्फ लगियो ।

सन् १८५० मार्च ११ तारिखका दिन गभर्नर जनरल लर्ड डल्हौजीले जङ्गबहादुरसँग गभर्मेन्ट हाउसमा भव्य स्वागत पश्चात् कुराकानी गरे । वार्ताको सिलसिलामा गभर्नर जनरलले जङ्गसँग युरोप यात्राको निमित्त कुनै अफिसर साथै लिई जाने इच्छा गर्नुहुन्छ भने भन्नुहोस्, म व्यवस्था गरिदिन्छु भने । जङ्गले आफ्नो स्वागतार्थ खटिएको दोभाषेको कार्य गर्ने कप्तान ओ. केभिनेजलाई साथै लिई जान माग गरे । लर्ड डल्हौजीले खुशीसाथ मञ्जुर गरे । त्यस दिनदेखि कप्तान केभिनेज युरोप भ्रमणको समाप्ति नभएसम्म नेपाली प्रतिनिधिहरूकै साथ लागे । यसरी युरोपतर्फ जानेहरूमा अब बयालीस जना भए । भोलिपल्ट मार्च १२ ता. का दिन जङ्गबहादुर पुरी–जगन्नाथजीतर्फ लागे । सम्पूर्ण बन्दोबस्त कम्पनी सरकारका तर्फबाट भएको थियो । पुरीबाट मार्च १८ ता. का दिन नेपाली प्रतिनिधिमण्डल पुनः कलकत्ता फर्केर आइपुग्यो । मार्च १९ ता. का दिन जङ्गलाई ‘ग्याण्डवल’ को निमित्त लर्ड डल्होजीले आमन्त्रण गरेकाले उनी भाइहरू जगतशमशेर र धीरशमशेर साथ लिई सो बल डान्स हेर्न गभर्मेन्ट हाउस पुगे । त्यस अवसरमा डा. हुकरले जङ्गलाई ‘बोटानिकल’ विषयको पुस्तक उपहार स्वरुप प्रदान गरे ।

सन् १८५० अप्रिल ५ ता. का दिन लर्ड डल्हौजीले गभर्मेन्ट हाउसमै जङ्गलाई पुनः ‘स्टेट बल’ हेर्न आग्रह गरेकाले उनी सो बल–डान्स हेर्न गए । कलकत्तामा जङ्गलाई किल्ला, टक्सार, छापाखाना, बन्दुक बनाउने कारखाना, डम–डममा केप बनाउने कारखाना, अस्पताल, तोप ढाल्ने कारखाना आदिको अवलोकन गराइयो ।

वि.सं. १९०६ चैत्रको आखिरी, तदनुसार सन् १८५० अप्रिल ७ ता. का दिन जङ्गबहादुर नेपाल सरकारको राजदूतको हैसियतले कलकत्ताबाट ‘हेडिङ्टन’ ज्बममष्लनतयल नामक इस्टिमरद्वारा युरोप प्रस्थान गरे । त्यसतर्फ प्रस्थान गर्न लाग्दा कम्पनी सरकारको तर्फबाट सलामी गारत अर्पण गर्नुको साथै उन्नाइस तोपको सलामीसमेत दिइयो । काठमाडौंबाट जङ्गको सवारीसाथ गएको एक बटालियन रिफेल–पल्टन सोही दिन काठमाडौं फक्र्यो ।

त्यस समयमा समुद्री डाँकुहरूको अत्यन्तै डर भएकोले ‘हेडिङ्टन’ नामक स्टिमरमा चारवटा तोप जडान गरिएको थियो, पाँच हजार पौण्डमा ‘चार्टर्ड’ गरिएको सो स्टिमर १ हजार २ सय जना यात्रुहरू ओसार्ने क्षमताको थियो ।

जंगबहादुर, रणमेहर अधिकारी र अरू दुई–चार जनाहरूलाई जहाज लागी बान्ता भयो र बिरामी परे । यात्रुहरू कट्टर हिन्दू धर्मावलम्बी भएको हुँदा जहाजमा त्यसै किसिमको बन्दोबस्त गरिएको थियो । ४२ जनालाई महिनौँ पुग्ने गरी दाल, चामल, चिउरा, पीठो, घ्यू, तेल, मरमसलाका साथै पित्तलका ४० वटा ठूला–ठूला गाग्रीभरि पिउने पानी, दूध दिने गाई र पीपलसहितको गमला जहाजमा राखेर साथै लगिएको थियो । दूध दुहुनसमेत नेपालीबाहेक अरूलाई मनाही थियो । जहाजले जहाँ–जहाँ लङ्गुर झाऱ्यो, त्यहाँ–त्यहाँ नेपाली प्रतिनिधिहरू जमिनमा ओर्लिएर अलग–अलग पलेँटी कसी भुजा खाने गर्दथे । कट्टर हिन्दू भएकाले जहाजभित्र नेपाली प्रतिनिधिहरू कसैले पनि भुजा खाँदैनथे । जहाजभित्र चिउरा, रोटी, सातु, मासु, माछा, तरकारी इत्यादि अरू सबै खाने गरिन्थ्यो । खाना खाँदा युरोपियनहरूले देख्लान् भनी नेपालीहरू बाक्लो कपडाको पर्दाले छेकेर खाने गर्दथे । त्यस्तो कार्य देखेर त्यस स्टिमरमा यात्रा गर्ने यरोपियन यात्रु र कर्मचारीहरू आश्चर्य मान्थे । एकदिन त्यसै स्टिमरमा यात्रा गर्ने यात्रुले काजी करवीर खत्रीसँग तिम्रो प्रधानमन्त्री जंगबहादुरको जनताप्रति के दायित्व छ भनी प्रश्न गर्दा करवीर खत्रीले परराष्ट्र, रक्षा र गृहको साथै उनको मुखबाट निस्केको शब्द नै कानूनसमान मानिन्छ भन्दा ती युरोपियन यात्रु छक्क परे ।

६ दिनको समुद्री यात्रापछि नेपाली प्रतिनिधिहरू मद्रास पुगे । त्यहाँ पनि सेन्टजर्जको किल्लाबाट जंगको सम्मानार्थ उन्नाइस तोपको सलामी दिइयो । घटेका खानपिनका सामग्रीहरू त्यहाँ थप गर्ने र चोखो पानी भर्ने कार्य भयो । मद्रासका गभर्नर आएर जंगको स्वागत सत्कार गरे । उनले चौघोडे बग्गीमा राखेर सरकारी अतिथि भवनसम्म पुऱ्याई फर्के । बेलुकी गभर्नरले जंगलाई सैनिक प्रदर्शनसमेत देखाए ।

मद्रासबाट स्टिमर श्रीलंका पुगेपछि जंगले त्यहाँको जंगल देखेर मुग्ध हुँदै रामायणको पुस्तकमा वर्णन गरिएझैँ यहाँको वनको दृश्य साँच्चै त्यस्तै देखियो भने । श्रीलंकाबाट एडेन पुग्न ८ दिन लाग्यो । त्यहाँका एक ब्रिटिश जनरल र एक कर्णेलले जंगको स्वागत–सत्कार गरी उन्नाइस तोपको सलामी दिनुका साथै सलामी गारत अर्पण गरे । साथै एडेनको हेर्न लायकका स्थानहरूको अवलोकनसमेत गराए ।

एडेनबाट प्रस्थान गरेको ८ दिनपछि स्टिमर स्वेज पुग्यो । स्वेजमा पुगेपछि सो ‘हेडिङ्टन’ नामक स्टिमर छोड्नुपऱ्यो । त्यहाँबाट नेपाली प्रतिनिधिहरूले सम्पूर्ण सामान उतारी बग्गीहरूमा लाद्नुपऱ्यो । कारण, त्यहाँबाट भूमध्यसागर पुग्नुपर्ने थियो । हालको ६० माइल लामो स्वेज नहर त पछि बनेको हो । त्यसबेला ६० माइल भूमिको बालुवा नै बालुवा भएको बाटो हिँडी भूमध्यसागर पुग्नुपर्दथ्यो । त्यहाँ अंग्रेज सरकारको तर्फबाट नेपाली प्रतिनिधिहरूको बन्दोबस्तको निमित्त कप्तान लिगार्डेटलाई खटाइएको रहेछ । स्वेज पुगेपछि ‘हेडिङ्टन’ स्टिमरबाट उत्रनासाथ सर्वप्रथम नेपाली प्रतिनिधिहरूले भूजा खाए । त्यसपछि नेपाली प्रतिनिधिहरूको निमित्त तयार गरी राखिएको आठवटा घोडाले तान्ने ठूला–ठूला बग्गीहरूमा सबै सामान लादेर एकलासको बालुवै बालुवाको बाटो गरी ६० माइल तय गर्न पऱ्यो । बाटोभरि कतै एउटा जीवित प्राणी पनि देखिएन । जता गए पनि बालुवा नै बालुवाको भूभाग मात्र थियो भने गर्मी पनि अति थियो । यसप्रकारको कठीन यात्रा तय गर्दै नेपाली प्रतिनिधिमण्डल इजिप्टको राजधानी कायरो शहरमा पुग्यो । त्यहाँ सबैलाई आरामको अत्यन्तै आवश्यकता थियो, तसर्थ नेपाली प्रतिनिधि सबैले थकाइ मारे । अँध्यारो भएपछि नेपालीहरू सबै कायरो शहर घुम्न निक्ले । उनीहरूले कायरो शहर अत्यन्तै रमाइलो माने । त्यस समयमा त्यहाँका धेरैजसो बासिन्दाहरू अन्धा देखिए । शायद अन्धा हुनुको कारण पनि सोही ‘स्वेज’को ६० माइलमा पर्ने बालुवाका टलक हो कि भन्ने अनुमान ती नेपाली प्रतिनिधिहरूले गरे ।

कायरोबाट नाइल नदीमा ‘फेरोगा’ नामक स्टिमर चढेर सामानहरू सबै नेपाली प्रतिनिधिहरू ‘एलेक्जेन्ड्रिया’ शहरमा पुगे । उक्त विश्वविख्यात शहरमा पुगेपछि ‘फेरोगा’ नामक स्टिमरबाट पुनः सबै सामान उतारी ‘होटल डी–युरोप’ नामक होटलमा ओसारे । एलेक्जेन्ड्रियामा मिश्र देश ‘इजिप्ट’ का गभर्नर शाह अब्बास पाशाले दरबारको आयोजना गरी जंगबहादरको भब्य स्वागत गरे । गभर्नर शाह अब्बास पाशाले जंगलाई असल जातको एक जोडी अरबी घोडा उपहारस्वरुप प्रदान गरे । जंगले पनि एक दर्जन कस्तुरीको विना, गैडाको खाग र हस्ती हाडको बीँड भएको खुकुरी एक–एक थान प्रदान गर्नुको साथै दुवैले आ–आफ्ना फोटो आदान–प्रदान गरे । केही बेरपछि दरबारको आयोजना सकियो र नेपाली प्रतिनिधिमण्डल होटल–डी–युरोपमा फर्की आए । करिव २ घण्टापछि गभर्नर शाह अब्बास पाशाले सयौँ कमाराहरूद्वारा सौगात अर्थात् अनेक प्रकारका सुगन्धित फूलहरू, फलफूलहरू र काँचो सागपातहरू शाही सौगातस्वरुप नेपाली प्रतिनिधिहरूको निमित्त होटल–डी–युरोपमा पठाइदिए ।

एलेक्जेन्डियामा नेपाली प्रतिनिधिहरूले त्यहाँको पार्क, लाइब्रेरी, पम्पियाईको खम्बा, क्लियोपेट्राको सियो र अरू मुख्य–मुख्य ठाउँहरूको अवलोकन गरी भोलिपल्टै ‘रिपन’ नामक स्टिमरमा मालसामानहरू चढाई आफूहरू पनि चढी माल्टातर्फ प्रस्थान गरे । केही पर पुगेपछि त्यो स्टिमरमा गोवध भएको सूचना जंगले पाए । तुरुन्त कप्तान क्याभिनेजलाई बोलाई गोवध हाम्रो हिन्दू धर्मको घोरविपरीत कार्य हुँदा हामी हिन्दू धर्मावलम्बीहरूलाई ठूलो बाधा पुग्न गयो, तसर्थ गोवध तुरुन्त रोक्ने व्यवस्था गरिदिनुपऱ्यो, अन्यथा यो स्टिमर छोडी अर्को स्टिमरद्वारा यात्रा गर्न करै लाग्ने भयो भने । कप्तान क्याभिनेजले जंगले भने बमोजिम गोवध रोकिदिने कार्य गरे ।

(‘जंगबहादुरको जीवनयात्रा’)