अमेरिकाबाट साबुको यो सक्रियता

अमेरिकाबाट साबुको यो सक्रियता


■ राजन घिमिरे

जीवनमा सबैभन्दा ठूलो कुरा चाहना, उद्देश्य, आफूले अपनाएको विधा वा क्षेत्रप्रतिको लगाव अनि केही गरौँ भन्ने दृढ़ संकल्प अनि आत्मबल नै हो । यति कुरा भएमा मानिसलाई सफलताको बाटोमा अग्रसर हुन निकै मद्दत पुग्दछ ।

वर्तमान समयमा आफ्नो मनले खाएको विधालाई निरन्तरता दिइराख्न स्वदेशमै बसिराहनु पर्छ भन्ने पनि छैन । इच्छाशक्ति भयो भने के देश के प्रवास ? जहाँसुकै पनि आफ्नो माहोल खडा गर्न सकिन्छ । जहाँ रहे पनि सांगीतिक, साहित्यिक वा अन्य विधालाई निरन्तरता दिन सकिन्छ ।

यसको गतिलो उदाहरण पेश गरेकी छिन् साबु गदाल कार्कीले । साबु अमेरिका बसेको धेरै वर्ष भैसक्यो र पनि नेपाल रहँदा उनले आफू संलग्न रहेको या आफूले इच्छाएको साहित्यिक विधालाई छोड्न सकेकी छैनन् । प्रवासबाट साबुले नेपाली साहित्य र सांगीतिक क्षेत्रमा दिएको योगदान र निरन्तरताको यतिबेला प्रशंसा हुने गरेको छ ।

पछिल्लो पटक उनी चलचित्र निर्मात्रीको रूपमा पनि छाइन् । दर्पण छाँया–२ नामक चलचित्रमार्फत नेपाली सिनेमाको रंगीन दुनियाँको अनुभव सँगालेकी साबुले यो सिनेमाको एउटाबाहेक अन्य गीत लेखेकी हुन् । साबुले आफ्नो श्रीमान् रवि कार्कीको साथ–सहयोगमा चलचित्र दर्पण छाँया–२ निर्माण गरेकी थिइन् । प्रवासको ब्यस्त जीवनमा पनि नेपाली साहित्य, संगीत र चलचित्र विधातर्फ साबुको गतिलो उपस्थिति वास्तबिक रूपमै उदाहरणीय नै मानिएको छ ।

२०५१ सालदेखि गीत लेखन यात्रा शुरू गरेकी साबु गदालले आफ्ना रचनामा गीतकारको रूपमा ‘साबु रवि’ नाम राख्ने गरेकी छिन् । कतिपय श्रोताले साबु गदाल र साबु रवि बेग्लाबेग्लै व्यक्ति भएको ठान्ने गरेको साबु बताउँछिन् ।

यसबारे हाल अमेरिकामा रहेकी साबुले भनिन्– ‘यो दुवै नाम मेरै हो । मैले नेपालमा रहँदा २०४९ देखि २०६३ सालसम्म रेडियो नेपालमा कार्यक्रम प्रस्तोता, निर्माता र लेखकको रूपमा काम गरेँ । सोही समयदेखि नै साहित्य लेखन, विशेषगरी गीत लेखनतर्फ समेत सकृयता बढ्दै गयो । हालसम्म सहारा (२००६). रिवाज (२०११) र हे आमा (२०१५) गरी तीन वटा गीति संग्रह बजारमा आइसकेको छ । पछि सपरिवार अमेरिका बसाई सरियो, तर पनि निरन्तरता दिँदै आइरहेको छु ।’

यसबाहेक पनि साबुले सामाजिक कार्यमा पनि आफ्नो उपस्थिति जनाउँदै आइरहेकी छिन् ।

साबुले लेखेका गीतहरूमा आलोक श्री, टीका भण्डारी, राजु सिंह, चन्दन लोम्जेल, बलान्दा राई र अर्जुन पोखरेल जस्ता अहिलेका चलेका संगीतकारहरूले संगीत दिएका छन् भने रामकृष्ण ढकाल, राजेश पायल राई, यम बराल, शिव परियार, स्वरुपराज आचार्य, सपना श्री, अन्जु पन्त, साधना सरगम, मेलिना राई, कर्णदास, यस कुमार, दीपक लिम्बु, बलराम समाल, कृष्णभक्त राई र कल्पना दाहालले आफ्नो सुमधुर आवाज प्रदान गरिसकेका छन् । साहित्य र गीत–संगीतप्रति साबुको यो लगाव प्रवासिएका अरू नेपालीहरूका लागि पनि प्रेरणादायी बन्न सक्छ ।

जनवरी १९९८ देखि नोभेम्बर २००४ सम्म कार्यक्रम निर्माता तथा उदघोषकको रूपमा रेडियो नेपालमा आफ्नो क्षमता प्रस्तुत गरिसकेकी साबुले अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कोलोराडो राज्य समिति (इनास) को अध्यक्ष (२०१४–२०१८) हुँदै महादेशीय (क्षेत्रीय) संयोजक, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिका क्षेत्रीय समिति (२०१५–२०१७), अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समिति सह–कोषाध्यक्ष र अन्तर्राष्ट्रीय नेपाली कलाकार समाज (इनास) ग्लोबल समिति (२०१९–२०२१) उपाध्यक्षलगायत विभिन्न रूपले पुऱ्याएको योगदान उल्लेख गर्नलायक छ ।

हाल उनी सन् २०१७ देखि नेपाल पर्यटन बोर्डको कोलोराडो (अमेरिका)का लागि सदभावना दूत रहँदै आएकी छिन् भने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आजीवन सदस्य पनि हुन् । एउटा ब्यक्तिले यति धेरै जिम्मेवारी सम्हाल्न कम्ती जागरुकता र उर्जाले सम्भव हुँदैन, तर यति उर्जाशील छिन् साबु । यसबारे उनलाई धेरैले सोध्ने गर्दा रहेछन् । यस जिज्ञासामा उनको जवाफ थियो– ‘जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तै रहेछ जीवन । कसैमा पनि केही गर्ने अठोट र जाँगर छ भने समय–परिस्थिति बाधक बन्दैन । मेरो जीवनमा पनि यो कुराले महत्वपूर्ण भूमिका खेल्यो ।’