समाजिक सञ्जाल र युट्युबमै सीमित भयो तीजको रमझम

समाजिक सञ्जाल र युट्युबमै सीमित भयो तीजको रमझम


■ विकास रौनियार, धादिङ

हरितालिका तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्वपूर्ण चाड हो । कोरोना कहर नहुँदो हो त धादिङ जिल्लाका विभिन्न ठाउँमा यतिबेला तीजको रौनक धुमधामले छाइसक्थ्यो । किनकि, तीज मनाउने सवालमा धादिङ एक कदम अगाडि नै छ, अर्थात् आमा–दिदीबहिनीहरुले यो सांस्कृतक पर्वलाई श्रद्धाका साथ मनोरञ्जनात्मक ढंगले दिल खोलेर मनाउँछन् ।

तर, तीज लागेसँगै तीजगीत गाउन कलाकारहरु एक महिनादेखि नै व्यस्त रहने गरेकामा यसपाली भने फुर्सदिला बनेका छन् । यस वर्ष नयाँ तीज गीत सार्वजनिक गरिए पनि युट्युब र फेसबुकमै सीमित बनेका छन् ।

अघिल्ला वर्षमा तीज आउनु एक–डेढ महिनाअघिदेखि नै महिलाहरू दरका लागि दौडधुप गरेका देखिन्थे । कलाकारहरू पनि विभिन्न साँस्कृतिक कार्यक्रममा व्यस्त रहने गर्थे । तर तीज संघारमै आइपुग्दा समेत न महिला उत्साहित देखिएका छन् न त कलाकार नै । कोरोना संक्रमणको कहरले लपेटेपछि यो वर्ष तीजको रौनक हराएको हो ।

तीजका गीत युट्युबमा मात्र सीमित भएपछि कलाकारसमेत फुर्सदिला भएका छन् । विविध विषय पस्किने कलाकारले यो वर्षको तीज गीतमा कोरोना, क्वारेन्टिन र आइसोलेसनजस्ता विषयवस्तु परेका छन् ।

नेपाली हिन्दु महिलाका लागि तीज जति महत्त्वपूर्ण पर्व हो, कलाकारका लागि पनि त्यत्तिकै । तर अघिल्ला वर्ष देश–विदेश पुगेर दर्शक नचाउने कलाकार यसपालि घरभित्रै खुम्चिएका छन् । गत वर्ष एक सयभन्दा बढी गीत गाउने गायकगायिका औँलामा गन्न सकिने संख्यामा गीतमा सीमित भएका छन् ।

विश्वव्यापी कोरोना संक्रमणको असर नेपालका सबै क्षेत्रमा उत्तिकै रूपमा परेको छ । गीत–संगीत तथा कलाक्षेत्र यसबाट अछुतो छैन । त्यसैले त अघिल्ला वर्षमा अत्यन्तै व्यस्त रहने कलाकारहरू युट्युब र टेलिभिजन अन्तरवार्तामा सीमित भएका छन् ।