तपाईं कस्तो ब्यवहार चाहनुहुन्छ ?

तपाईं कस्तो ब्यवहार चाहनुहुन्छ ?


■ बबिता बस्नेत

चितवनमा डा. विश्वबन्धु बगाले र उहाँको परिवारका सदस्यलाई कोरोना सङ्क्रमण भएपछि टोलसुधारवाला छिमेकीहरूले ‘कोरोना सङ्क्रमितको घर’ लेखेको ब्यानर टाँस्न ल्याएछन् । अरुलाई बचाउने कोसिस गर्दागर्दै आफैं सङ्क्रमित हुन पुगेका एक स्वास्थकर्मीलाई टोलवासीको उक्त ब्यवहारले कति चोट पुग्यो होला अनुमान गर्न सकिन्छ । छिमेकीलाई ‘बाँच्दाका जन्ती मर्दाका मलामी’ भन्ने गरिएको छ । यसको अर्थ हो– खुशी र दुःखमा छिमेकी नै सबैभन्दा नजिक हुन्छन् । तर अहिले त्यस्तो देखिएको छैन ।

चितवनजस्तो मुलुकको चल्तापुर्जा र सचेत नागरिकको बसोवास भएको ठाउँमा डाक्टरमाथि त्यसप्रकारको ब्यवहार हुनु लज्जास्पद कार्य हो । यसअघि पनि मुलुकका विभिन्न स्थानमा सङ्क्रमित व्यक्तिका परिवारमाथि मौखिक दुर्व्यवहार भएका प्रसङ्गहरू जानकारीमा आएका थिए । पृथ्वीमा मानवको अस्तित्व नै लोप हुने हो कि भनेर बहस सुरु भएका बेला हामीकहाँ कोरोना सङ्क्रमितलाई गरिएको ब्यवहार हेर्दा हामी मानिस बन्न बाँकी नै रहेछौँ कि जस्तो लाग्छ । अन्य प्राणीमा ‘विवेक’ नहुने कारणले मानिस फरक भएको हो ।

विश्वका विभिन्न मुलुकमा कोरोनाका कारण ठूलो सङ्ख्यामा मानिसहरूको मृत्यु भएको टेलिभिजन पर्दामा हेर्दै अखबारहरूमा पढ्दै आएका हामीले कोभिड–१९ आफ्नै घर–दैलोमा यसरी आइपुग्ला भनेर सोचेका थिएनौँ । अन्य मुलुकमा गन्नै नसकिने लाशका खातहरू देख्दा मनमा डर लागे पनि हाम्रो ‘इम्युनिटी पावर’ उनीहरूको भन्दा बढि छ भन्दै बसेका थियौँ । आक्रामक रूपमा नभएर विस्तारै मुलुक प्रवेश गरेको कोरोना शहरभन्दा पहिला नै गाउँ–गाउँमा पुग्यो । एकर्कामा सर्ने भएकाले कोरोना अन्य बिरामी भन्दा असामान्य रोग हो । असामान्य भएकै कारण सचेतता अपनाउनु पर्ने कुरामा हाम्रो दृष्टिकोण पनि असामान्य हुनु आवश्यक छ । अन्य बिरामीलाई जस्तो कोरोना सङ्क्रमणलाई हामी नजिकै बसेर, छोएर, सुम्सुमाएर या धाप मारेर अपनत्व प्रकट गर्न सक्दैनौँ । तर, परै बसेर राम्रो ब्यवहार गर्न सक्छौँ, ढाडस दिन सक्छौंँ, जिन्दगी बाचौँ–बाचौँ लाग्ने बनाउन सक्छौँ । तर कोरोना लाग्यो भनेको सुन्नासाथ उसको परिवारका सदस्यलाई समेत जुन प्रकारको ब्यवहार गर्ने गरिएको छ त्यो विवेकी मानिसले गर्न मिल्ने ब्यवहार होइन । कोरोनालाई लिएर हामीले शारीरिक दूरी कायम गर्ने हो मन र ब्यवहारको दूरी होइन ।

आफू सङ्क्रमित भएका बेला हामी अरुबाट कस्तो ब्यवहार चाहन्छौँ ? छिमेकीहरूले हामीसँग कसरी बोलुन्, के भनुन् भन्ने चाहन्छौँ ? त्यही ब्यवहार हामीले सङ्क्रमितलाई गरे पुग्छ अरु खासै केही गर्नु पर्दैन । अहिले हामीले जस्तो ब्यवहार ग¥यो भोलि उनीहरूले त्यस्तै ब्यवहार गर्ने हुन् । हाम्रो समाज माफी दिने होइन बदला लिने सोच राख्ने समाज हो ।

अहिले कोभिड–१९ जसरी फैलिरहेको छ यसबाट हरेक मानिस कुनै पनि बेला सङ्क्रमित हुन सक्ने देखिन्छ । गाउँ हुँदै शहरमा यो तीव्र गतिमा फैलिरहेको छ । युवा अवस्थामै मानिसहरू भकाभक मरिरहेका छन् । नागरिकमा सचेतताको अवस्था हुनुपर्ने जति छैन । अस्पतालहरू भरिँदै गएका छन् । सरकारको ब्यवस्थापन हेर्दा धान्न सक्ला जस्तो देखिँदैन । हामी आफैंले नागरिक दायित्व निर्वाह गर्नुपर्ने परिस्थिति छ । यस्तो बेलामा हामीले अस्पतालवाला ब्यवस्थापन गर्न नसके पनि एकार्कालाई ढाडस दिन र आत्मबल बढाउने काम सजिलै गर्न सक्छौँ । हाम्रो बोली–ब्यवहारले सङ्क्रमणको आत्मबल उच्च हुने र गिर्ने दुवै काम हुन सक्छ । दुःखका बेला कसैको आत्मबल माथि उठाउने कि गिराउने हाम्रै हातमा छ । अहिले भइसकेको छैन भने यस्तै अवस्था रहेमा हामी सबै नै हुनेवाला सङ्क्रमित हौँ । आफू सङ्क्रमित भएका बेला हामी अरुबाट कस्तो ब्यवहार चाहन्छौँ ? छिमेकीहरूले हामीसँग कसरी बोलुन्, के भनुन् भन्ने चाहन्छौँ ? त्यही ब्यवहार हामीले सङ्क्रमितलाई गरे पुग्छ अरु खासै केही गर्नु पर्दैन । अहिले हामीले जस्तो ब्यवहार ग¥यो भोलि उनीहरूले त्यस्तै ब्यवहार गर्ने हुन् । हाम्रो समाज माफी दिने होइन बदला लिने सोच राख्ने समाज हो ।

सङ्क्रमितलाई मात्र होइन कोभिड–१९ बाट मृत्यु भएकाहरूलाई पनि राम्रो ब्यवहार गरिएको छैन । बुटबलमा मृत्यु भएका गुल्मीका शिक्षकलाई घाटमा जलाउन दिइएन । घाटमा जल्नबाट रोक्ने काम स्थानीय नागरिकले गरे । मरेपछि पनि जल्न नपाउने कुन दुनियाँमा छौँ हामी ? पोखरामा पनि स्याङ्जाका सङ्क्रमितलाई मृत्युपछि त्यस्तै गरियो, मृत्युपछि दफनाउने ठाउँ नपाउनु कम पीडादायी कुरा होइन । नेपालको कोरोना कहरको निकै दुःखद इतिहासको रूपमा यी र यस्ता घटनाहरू रहनेछन् । यस्ता इतिहास निर्माण नगर्नका लागि हामी आफैं सचेत हुनु आवश्यक छ । हामी एउटा कोठामा मान्छे मर्दा अर्को कोठामा बस्नेले थाहा नपाउने पृष्ठभूमिका मानिस होइनौँ । एउटा गाउँमा मान्छे मर्दा वरपर गाउँका मानिस मलामी जाने संस्कार भएका मानिस हौँ । कोभिडविरुद्ध लड्न हामीकहाँ सामाजिक एकता आवश्यक छ । अहिले जुन प्रकारले छुवाछुतको ब्यवहार गर्ने गरी एकार्कामा दूरी बढाउने काम भइरहेको छ यसले भविष्यमा हामीलाई दुःख पर्दा कोही पनि साथमा नहुने अवस्थामा पु¥याउँछ । कसैलाई कोरोनाले आक्रमण गरिहाल्यो भनें कसरी सहयोग गर्ने भन्ने बारेमा टोल–टोलमा छलफल र तयारी हुन जरुरी छ । यो कसैको घरमा आउने कसैकोमा नआउने कुरा होइन ।

कोरोनामा हामीले भौतिक दूरी कायम गर्ने हो भावनात्मक दूरी होइन । भौतिक रूपले टाढा रहे पनि भावनात्मक रूपमा नजिक बनौँ, यो दुःखद घडीमा एकार्काको सहयोगी बनौँ ।

सङ्क्रमितसँगको ब्यवहारको कुरा मात्र होइन अब हामीले यो पनि सोच्न जरुरी छ कि हामी कस्तो मृत्यु चाहन्छौँ ? बाँच्दा जे–जस्ता दुःखसुख झेल्नु परे पनि एउटा सम्मानित मृत्यु मर्न पाइयोस् भन्ने चाहना सबैको हुन्छ । सम्मानित मृत्युको चाहना हरेक मानिसको अन्तिम लक्ष्य हो भने पनि हुन्छ, जसका लागि मानिसले बाँचुन्जेल राम्रो गर्ने कोसिस गर्छ । तर अहिले कोरोनाका कारण मृत्यु भएकाहरूको लाशलाई यहाँ जलाउन पाइँदैन, यहाँ दफनाउन मिल्दैन भनेर अपमान गर्ने गरिएको छ । सङ्क्रमित अवस्थाको केयर, औषधोपचार मात्र होइन मरेपछि मृत्यु संस्कारसम्मको तयारी अब हामीले गर्नुपर्ने हुन्छ । मानिसले आफ्नो संस्कारअनुरूप आफ्नो परिवारको सदस्यको अन्त्येष्टि गर्न पाउनुपर्छ । कुनै पनि मानिसको मृत्युसँगै अन्त्येष्टि निकै संवेदनशील कुरा हो । आफ्नो धर्म, संस्कारअनुसारको अन्त्येष्टि कसरी गर्न सकिन्छ ? यो कुराको ब्यवस्थापन सरकारले नै गर्नुपर्ने हो तर अहिलेका घटनाक्रमलाई हेर्दा सरकारी तवरबाट संवेदनशीलता अपनाइएला जस्तो देखिँदैन ।

आफ्नो टोलमा केरोनाबाट कसैको मृत्यु भएमा आफ्नै परम्पराअनुरूपको अन्तिम संस्कार कहाँ, कसरी गर्ने ? यो विषयमा नागरिक प्रयास आवश्यक छ । राज्यको निरीहता हेर्दा मर्दा, बाँच्दा दुवै अवस्थामा नागरिक आफैले आफ्नो ब्यवस्था गर्नुपर्ने देखिन्छ । नागरिक आफैले गर्छन् भनेर राज्यले आफ्नो उत्तरदायित्वबाट पन्छिनचाहिँ मिल्दैन । कोरोनाबाट मृत्यु भएकाको परिवारलाई समाजले हेयको दृष्टिले हेर्ने गरेका कुराहरू आएका छन् । यो कुराको संवेदनशीलतालाई बुझ्न पनि लामो कुरा गरिरहनु पर्दैन । तपाईंको परिवारमा त्यस्तो घटना भयो भनें अरुले कस्तो ब्यवहार गरून् भन्ने चाहनुहुन्छ ? त्यही ब्यवहार हामीले ती परिवारलाई गरे हुन्छ । कोरोनामा हामीले भौतिक दूरी कायम गर्ने हो भावनात्मक दूरी होइन । भौतिक रूपले टाढा रहे पनि भावनात्मक रूपमा नजिक बनौँ, यो दुःखद घडीमा एकार्काको सहयोगी बनौँ ।