लिदी-पहिरोमा मृत्यु हुनेको संख्या सोह्र पुग्यो, अझै २३ जना बेपत्ता

लिदी-पहिरोमा मृत्यु हुनेको संख्या सोह्र पुग्यो, अझै २३ जना बेपत्ता


सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । शुक्रबार बिहान गएको पहिरोमा परेका अझै २३ जना बेपत्ता छन् ।

लिदी पहिरोमा ३८ जना हराइरहेका भनिए पनि थप एक जना पनि हराएको खुल्न आएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जनाएका छन् । नेपाली सेना, प्रहरी र स्थानीयवासीले पहिरो हटाएर शव निकालेका हुन् । पहिरोले एउटा बस्ती नै पुरेको थियो । बेपत्ताको स्थानीय, प्रहरी, नेपाली सेनाबाट खोज तथा उद्धार जारी राखिएको प्रजिअ ढकालको भनाई छ ।

पहिरोमा परी मृत्यु हुनेमा लिदीका टीकामाया दोङ, छिरिङ दोङ, जिताइ झाँक्री, मिलन दोङ, सानु दोङ, जयबहादुर दोङ, दावाल्हामु दोङ, तारल्हमो दोङ, पिर्ती दोङ, धनमाया दोङ र रिमेक्स दोङ छन् । त्यस्तै माइला पाराङ दोङ, मेकमाया दोङ, च्यामा दोङ, विमला दोङ र कविर दोङको पनि पहिरोमा परी मृत्यु भएको छ ।

पहिरोमा परी घाइतेहरु रुपबहादुर दोङ, जुनुमाया दोङ, केवरिङ दोङ र पासाङ दोङको चौतारा अस्पतालमा उपचार भइरहेको छ भने यामु लामा दोङको काठमाडौँस्थित सिभिल अस्पतालमा उपचार भइरहेको जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।

यस क्रममा पहिरोमा परेर हराएकाको खोजी र घाइते भएकाको उद्धार एवम् उपचार प्रक्रियामा नेपाली सेना सक्रिय रहेको छ । नेपाली सेनाको गोरखबक्स गणबाट सहसेनानीको कमाण्डमा खटिएका २५ जनाको खोज तथा उद्धार टोलीले हराइरहेकाहरुको खोजी कार्य जारी राखेको र घटनास्थलमा पीडितहरुको लागि हेलिकप्टरद्वारा राहत सामग्री पुर्‍याएको सेनाले जनाएको छ ।