सडकमा जीवन बिसाउन निस्केकी बेसुरा महिलाको गीत

सडकमा जीवन बिसाउन निस्केकी बेसुरा महिलाको गीत


■ रेखाकौशल रेग्मी

चिसा बाछिटाले हिर्काएजस्तो
चर्को धुपले सेकिएजस्तो

यी नाङ्गा पैतालाहरूमा
तीखा ढुंगाहरूले बिझाएजस्तो

अनि हुरीबतासले सोहोरेर सडकको छातीबाट
धुलोको होली, नालीको दुर्गन्ध
दुःख उत्सव मनाउन मेरालागि
प्रकृतिले उपहार पठाएजस्तो

हुन्छु चेतनजस्तो कि जडजस्तो
न दुःख दुःखेजस्तो
न लाग्छ बेसुरा मुस्कुराउँदा
वर्षौं नधोइएको अनुहारमा
कुनै खुसी फुलेजस्तो

वर्षौं बिते होला है
कहिले दिन बिते होला कहिले बित्यो होला रात
समयका पत्रहरू
मेरो जीवनबाट खस्दै कतिकति
भए होलान् खातखात
थाहा केही भएजस्तो लाग्छ
केही नभएजस्तो लाग्छ

दुर्गन्धित नालीछेउ सडकमा अचेत पछारिँदा पनि
कहिले त म छुनुमुने प्यारोवाला जीवन फर्केर
आमाको काखमै भएँजस्तो लाग्छ
कता होस हराएजस्तो
कतिबेला फर्केर चेतना
मेरो जड अस्तित्वमाथि
वासना खन्याइरहेका कुन्ठित पिपासुहरूदेखि डराएजस्तो

कहिले हुन्छु केही सम्झेर कराएजस्तो
हिँडे म हिँडेको हिँड्यै
बसे बसेको बस्यै
कहिले सुर केही भएजस्तो
कहिले सुद्धी नरहेजस्तो

ए शहरबजार
ए यहाँका सभ्य मान्छेहरू
त्यहीँ-त्यहीँ भेटिन्छु
तिमीहरू रमाइलोमा हुँदा म आतङ्क र भयमा हुन्छु
तिमीहरू पागल बहुलाहा भन्छौ स्वीकार छ
सुन्दर उपमा
जीवनका जन्जालले जेलिएर
दुःखेको सुकेको सडकछाप
हेर न देखिहाल्छौ
मैलो, धुस्रेफुस्रे
न नाता न गोता
न घर न ठेगाना
न रात न विरात
ठम्ठमती नाप्दै म सडक हिँडिरहन्छु
म तिमीसित बोल्दै नबोलेर
हेर न कति धेरै बोली बोलिरहन्छु

बहुलाहा हुन्छु कि यति लक्षणमा पक्का
मिलाएर अनेक लयहरू
हिँडेको बेला
देख्छौ होला पक्का
म ‘बहुलय’मा हुन्छु।

– म्याग्दी, बेनी