राष्ट्रपति ट्रम्पको स्वीकारोक्ति : भ्याक्सिन तयार पार्ने रुस विश्वकै पहिलो मुलुक

राष्ट्रपति ट्रम्पको स्वीकारोक्ति : भ्याक्सिन तयार पार्ने रुस विश्वकै पहिलो मुलुक


कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्ने विश्वास अमेरिकाले व्यक्त गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी खोप प्रभावकारी र उपयोगी हुने विश्वास व्यक्त गरेका हुन् ।

‘मलाई रुसले बनाएको भनिएको खोपका बारेमा धेरै थाहा छैन, तर त्यो प्रभावकारी, उपयोगी हुन्छ र त्यसले काम गर्छ भन्ने मलाई विश्वास छ,’ राष्ट्रपति ट्रम्पले भनेका छन् । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसमा शुक्रबार भएको पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले रुसी खोपका बारेमा सकारात्मक धारणा राखेका हुन् । कोरोनाभाइरस विरुद्धको खोप तयार पार्न रुस विश्वको पहिलो राष्ट्र हुने पनि राष्ट्रपति ट्रम्पको भनाई थियो ।

‘मलाई जानकारी भएसम्म कोरोना भाइरसविरुद्धको खोप तयार पार्न रुस विश्वकै पहिलो मुलुक भएको छ, यो दर्ता भइसकेको पनि मैले थाहा पाएको छु,’ उनले भने । उनले चाँडै नै ठूलो मात्रामा सो खोपको उत्पादन र प्रयोग हुन थाल्ने विश्वास पनि व्यक्त गरे । राष्ट्रपति ट्रम्पले यो साह्रै नै महत्वपूर्ण रहेको पनि बताए ।

आधारभूत प्रक्रियाहरु पूरा गर्ने र परीक्षण सबै सफल भएपछि आधिकारिक निकायले त्यसको प्रयोगका लागि स्विकृति दिने उनको भनाई छ । नयाँ खोप प्रक्रियामा गएको छ र अहिलेसम्म सकारात्मक नतिजा आएको थाहा पाउँदा आफूहरुलाई अन्त्यन्त धेरै खुशी लागेको उनले बताए । अमेरिकमा पनि केही वैज्ञानिकहरुले तीन ओटा खोपलाई परीक्षण गरिरहेको र त्यो अहिले तेस्रो चरणमा पुगेको जानकारी राष्ट्रपति ट्रम्पले दिए ।

ज्ञातव्य छ, अहिलेसम्म औषधिको औपचारिक प्रयोग गर्न नपाएर विश्वभरी महामारीको रुपमा फैलिएको कोराना भाइरसविरुद्ध विश्वभरी धेरै वैज्ञानिकहरुले औषधी बनाइरहेको दाबी गरेका छन्त । र ती सबै परीक्षणका क्रममा रहेका छन् भने अहिलेसम्म विश्वस्वास्थ्य संगठनले कसैलाई पनि कोरोनाको औषधीको मान्यता दिएको छैन ।