हात धुन राखिएका रित्ता ड्रम !

हात धुन राखिएका रित्ता ड्रम !


■ विकास रौनियार, धादिङ

कोरोनाको कहर बढ्दै जाँदा शुरु शुरुमा सडकका विभिन्न स्थानमा पैदलयात्रीका लागि हात धुन पानीसहितको ड्रम र साबुन राख्ने क्रम पर्याप्त नै देखियो । कैयन सामाजिक संघ–संस्थाले त्यसका लागि धमाधम हात पनि बढाए, जुन सराहनीय कार्य थियो ।

तर, अहिले कोरोनको संक्रमण ह्वात्तै बढ्दै गएका बेला त्यतिबेला राखिएका ड्रमहरूमा न पानी छ न त साबुन नै भेटिन्छन्। पृथ्वी राजमार्गका विभिन्न ठाउँँमा राखिएका हात धुने स्थानहरूमा यतिबेला साबुनपानीविहीन रित्ता ड्रम मात्र खडा छन् ।

सहयोगका हात अघि बढाएका संघ–संस्थाहरूले शुरुमा ड्रम स्थापना गरेको फोटो खिचाए, तर त्यसको निरन्तरताका लागि आवश्यक सहयोग भने गरेनन् । जसका कारण निकै हल्लाखल्ला गरेर स्थापना गरिएका त्यस्ता हात धुने स्थानहरू अहिले सडकमा अर्थहीन बनेका छन् ।

कोरोना भाइरसको संक्रमण देखापर्दै गर्दा पृथ्वी राजमार्गमा विभिन्न स्थानमा साबुनपानीले हात धुने व्यवस्था गरिएको थियो । शुरुवाती दिनमा कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि साबुनपानीले नियमित हात धुनुपर्ने सचेतना पनि हुने, हात धुँदा संक्रमणको जोखिम पनि कम हुने उद्देश्यले सडकका छेउमा साबुनपानीसहित व्यवस्था गरिएको थियो ।

सरकारले पूर्ण लकडाउन गरेको समयमा पनि यो व्यवस्था निकै प्रभावकारी मानिएको थियो, जसमा सर्वसाधारणदेखि प्रहरीकर्मीले पनि हात धुन्थे । लकडाउनको समयमा मानिसको आवतजावतको पनि निकै कम हुन्थ्यो । सार्वजनिक सवारीसाधन चलेका थिएनन् र अहिलको जस्तो संक्रमणको दर पनि बढेको थिएन । तैपनि आवतजावत गर्नुपर्ने मानिस हात धुने गर्थे जसले गर्दा संक्रमणको दरमा न्यूनता ल्याउन मद्दत पुगेको थियो ।

सम्बन्धित निकायले दिएनन् चासो

हात धुने कार्यको निम्ति व्यवस्थापन गर्ने सम्बन्धित निकायले नै ड्रममा पानी पानी भर्ने र त्यसको उचित व्यवस्थापन गर्न चासो देखाएका छैनन् ।

शुरुमा यस्तो व्यवस्था गरेर उद्घाटन गरी हल्लाखल्ला गर्न तँछाडमछाड गरेका ती संस्थाहरू एकपटक पानी हालेर छोडेपछि फर्केर पनि हेर्न गएका छैनन् ।

जुनसुकै निकायले राखेको भए पनि त्यसप्रति चासो नदेखाउँदा सर्वसाधारण हात धुनबाट वञ्चित भएका छन् भने कोरोना महामारीको जोखिम पनि यसबाट बढ्न पुगेको छ ।