लिदीको बस्ती स्थानान्तरण गरिने

लिदीको बस्ती स्थानान्तरण गरिने


सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदीको बस्ती स्थानान्तरण गरी उचित स्थानमा बासस्थानको व्यवस्था मिलाइने भएको छ । शुक्रबार पहिरोग्रस्त क्षेत्रमा पुगेर स्थलगत अनुगमनपछि गृहमन्त्री रामबहादुर थापाले यसबारे बताएका हुन् ।

शुक्रबार बिहान खसेको पहिरामा परेर त्यहाँ ११ जनाको मृत्यु भएको छ भने २७ बेपत्ता छन् । मन्त्री थापाले अझै ठूलो क्षति हुन सक्ने अवस्था देखिए पनि पूर्वसावधानी अपनाउँदा कम क्षति भएको जिकिर गरे । सरकारका तर्फबाट उद्धारलाई छिटोभन्दा छिटो अघि बढाउने र पुनःनिर्माणको काम तीव्र बनाइने गृहमन्त्रीको भनाइ थियो ।

शुक्रबार गृहमन्त्री थापा राहत सामग्रीसहित घटनास्थल पुगेका थिए । लिदी गाउँ जोखिमयुक्त ठाउँमा रहेको निष्कर्षका आधारमा स्थानीय प्रशासनले सचेतना अपनाउन आग्रह गरे पनि क्षति भएको भन्दै उनले दुःख व्यक्त गरे ।

पहिलो काम बेपत्ताहरुको खोज तथा उद्धार भएको भन्दै उनले यस कार्यमा सक्रिय रुपमा सुरक्षाकर्मी खटिरहेको बताए । उद्धार सकिएपछि बस्ती स्थानान्तरण गरी पीडितका लागि उपयुक्त स्थानमा बासस्थानको व्यवस्था मिलाउन प्रक्रिया शुरु गरिने आश्वासन गृहमन्त्रीले दिए ।

पहिरामा मृत्यु भएका ११ को सनाखत

लिदीको पहिरोमा परी मृत्यु भएका ११ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार मृत्यु हुनेमा पुरुष दुई, महिला चार र बालबालिका पाँच जना छन् । पहिरामा परेका २७ अझै बेपत्ता छन् । मृत्यु हुनेमा पिर्ती दोङ, धनमाया दोङ, टीकामाया दोङ, छिरिङ दोङ, जिताइ झाँक्री, मिलन दोङ, सानू दोङ, जयबहादुर दोङ, दावाल्हामु दोङ, तारल्हमो दोङ र रिमेक्स दोङ रहेका छन् ।

pict:rss