कोरोना महामारीबीच चीनमाथिका आरोप र हल्लाहरू

कोरोना महामारीबीच चीनमाथिका आरोप र हल्लाहरू


■ दामोदर पौडेल

चीनबाट उत्पत्ति भएको कोरोना भाइरस विश्वब्यापी सन्त्रासको विषय बनेको छ । लाखौँको सङ्ख्यामा मानिसको मृत्यु भएको छ । कोभिड महामारीको कारणले नेपाल जस्ता गरिव मुलुकको अवस्था अझै नाजुक बनेको छ । आर्थिक अवस्था तहसनहस भएको छ । अब भोकै मर्ने कि कोरोनाबाट मृत्युवरण गर्ने भन्ने विकल्प मात्र बाँकी रहन सक्ने धारणासमेत व्यक्त गर्न थालिएका छन् । मानिसका रोजगारी गुमेका छन् र हातमुख जोड्न कठिन भएको छ । यो पीडामा केही काल्पनिक हल्लाहरू पनि चलाइएको छ । यस्ता हल्लामा केही वास्तविक छन् र केही शङ्कास्पद छन् । कोरोनाको कारण अमेरिकालाई चीनले आर्थिक रूपमा उछिनिसकेजस्तो छ भनिँदैछ । संयुक्त राज्य अमेरिका कोरोनाबाट सबैभन्दा बढि पीडित राष्ट्र हो तापनि अमेरिकाले नै कोरोना नियन्त्रणमा नेतृत्व लिनु पर्दछ भन्ने धारणा पनि आएको छ ।

अर्कोतर्फ अमेरिकाले विश्वको सबैभन्दा प्रमुख र आधिकारिक स्वास्थ्य संगठनलाई दिने सहयोग कटौती गर्ने घोषणा गरेको छ । अमेरिकाको आरोप छ कि डब्ल्युएचओले चीनको इसारामा काम गरेको छ । अर्कोतर्फ चीन विभिन्न कारणले शङ्काको घेरामा रहेको छ ।

सबैभन्दा पहिला चीनमा कोरोना भाइरस देखियो । कुनै देशमा कोरोना देखिनु आफैैमा अपराध होइन र अन्यथा पनि होइन । कोरोना देखिएपछि चीनले तुरुन्तै नियन्त्रण गरेको देखियो । चीनको एक प्रान्तभन्दा अरुमा उक्त रोग फैलनसमेत सकेन, तर अरु देश तथा चीनका ब्यापारिक प्रतिस्पर्धी देशहरूमा चाहिँ पहिले नै र कम विकसित देशहरूमा पछि पुग्यो । यसलाई लिएर ‘चीनको ब्यापारिक खेल हो, चीनले नै विश्वमा आफ्नो बर्चस्व जमाउन र मूल रूपमा ब्यापारिक हैसियत राख्नको लागि बनाएको भाइरस हो’ भनेर आरोप पनि लाग्यो । आरोप लगाउनेहरूले र अरुले पनि चीनमा भएको भाइरसको उत्पत्ति, बढाव र कारण समेतको अनुसन्धान गर्न आवश्यक देखे । त्यसबाट औषधिको विकासमा समेत ठूलो सहयोग हुने उल्लेख गरे र चीनमा कोरोनाको सम्बन्धमा जाँच गर्न चाहे । चीनले त्यस कार्यलाई अस्विकार गरिदियो भन्ने आरोप छ । धेरै पछि त्यसमा पनि चीनको सहयोगी बनेको भन्ने आरोप लागेको र चीनले आर्थिक सहयोग बढि गरेको डब्लुएचओलाई मात्र अनुसन्धानको लागि अनुमति दिने कार्य चीनबाट भयो । यो कार्य शङ्कास्पद छ भन्ने आरोप पनि चीनमाथि छ । हुन पनि रोगको प्रारम्भ हुनाको कारण पत्ता लागेमा उपचार वा निराकरण धेरै सजिलो हुन्छ ।

डब्ल्युएचओले त रुससँग समन्वय गरेर त्यसको सत्यता र विश्वसनियतालाई प्रष्ट पार्दै उचित भए विश्वका जनताको रक्षामा लाग्नुपर्ने थियो । डब्ल्युएचओको काम प्रतिक्रिया दिनेभन्दा जनताको सर्वोत्तम हित गर्ने हो । यहाँ चीनबाट प्रभावित भनिएको त्यो संस्था चुकेको छ । मानिसहरू भनिरहेका छन् कि चीनले ब्यापारको फाइदा र विश्वमा आफ्नो बर्चस्व कायम गर्न धेरै कुराहरू लुकाउँंदै आइरहेको छ ।

कोरोना भाइरस शुरु भएपछि सबैभन्दा छिटो कोरोनाप्रतिरोधी मास्क, सेनिटाइजर समेत चीनले नै विश्वमा बेच्न थाल्यो र ठूलो नाफा लियो भन्ने पनि छ । त्यति मात्र होइन, चीनले रोगप्रतिरोधको लागि जे गरेर आफ्ना जनतालाई सुरक्षित गऱ्यो त्यो कार्य विश्वमा प्रचार गरेन र जानकारी दिएन भन्ने पनि गरिएको छ । यो कार्य ब्यापारको लागि मानव जीवनमाथि गरेको खेलबाड भन्ने आरोपमा परिणत हुुनु स्वभाविक हो ।

यहाँसम्म कि चीनले कोरोनाको समयमा नै भारतसँग सीमाना विवाद उठायो र नेपाललाई पनि उक्सायो पनि भनिएको छ । नेपालमा कोरोना लामो समयसम्म रहेमा भारतलाई सधैं त्रास रहन्छ भन्ने चिनियाँ रणनीति छ भन्ने तर्कसमेत गरिएको छ । चीनकै इसारामा नेपालले कोरोनाको पीडामा भारतसँग सीमा विवाद र राम जन्मभूमि विवाद उठाएको भन्ने आक्षेप पनि लागेको छ । कोरोनादेखि भारतसँग चीनको सीमा–विवाद जस्ता कुरा एकैपटक नआएको भए राम्रै हुने थियो । चीनले भारतसँगको सीमा–विवाद कोरोनाको समयमा नै उठाउनु सवालको कारण बन्नै नसक्ने पनि होइन !

त्यति मात्र होइन, रुसले कोरोनाको भ्याक्सिन पत्ता लगाएको दाबी गरेको छ । राष्ट्रपति पुटिनकी छोरीमा नै प्रयोग समेत भएको छ । रुसले आफ्नो तर्फबाट उपचारको सुरुआत गर्ने समेत बताएको छ । त्यहाँ रहेका नेपाली डाक्टरले समेत उक्त कार्य आधिकारिक भएको र रुससँग त्यो क्षमता भएको बताएका छन् । रुसबाट त्यो कार्य हुनु सकारात्मक हो । तर चीनको प्रभावमा रहेको भनिएको डब्ल्युएचओले त्यसको आधिकारिकतालाई अस्विकार गरेको छ । के डब्ल्युएचओले यथासम्भव छिटो अनुसन्धानको आधिकारिकता बुझेर निर्णय गर्न हुने थिएन ? रुसले आफ्ना जनतालाई उपचार गर्ने कार्य सुरु गर्ने र त्यसबाट सकारात्मक परिणाम आउने हो भने डब्ल्युएचओको हैसियत अझै नकारात्मक रहने छ । यो चीनको तर्फबाट रहेको र चीनको हित हेरिरहेको संस्थामा परिणत हुने छ । डब्ल्युएचओले त यथासम्भव छिटो रुससँग समन्वय गरेर त्यसको सत्यता र विश्वसनियतालाई प्रष्ट गरेर उचित देखिनासाथ विश्वका जनताको रक्षामा लाग्नुपर्ने थियो । डब्ल्युएचओको काम प्रतिक्रिया दिनेभन्दा जनताको सर्वोत्तम हित गर्ने हो । यहाँ चीनबाट प्रभावित भनिएको त्यो संस्था चुकेको छ । मानिसहरू भनिरहेका छन् कि चीनले यतिबेला उक्त औषधि पत्ता लगाएको दाबी गरेको छ जबकि यो औषधि उसले पहिला नै बनाएको हो । मात्र ब्यापारको फाइदा र विश्वमा आफ्नो बर्चस्व कायम गर्न मात्र धेरै कुराहरू लुकाउँंदै आइरहेको छ ।

भारतसँगको सम्बन्धलाई पनि यस जटिल घडीमा सरल बनाएमा मित्रको पहिचान कायम रहने छ र पछि पनि अझै विश्वासका आधारमा समस्याहरू समाधान हुने छन् । अन्यथा चीनले नैतिक धरातल तथा जिम्मेवारी गुमाएको ठहर्ने छ र यसले गर्दा चीनप्रतिका आशंकाहरूले अझै बलियो स्थान बनाउने छन् ।

सुखद पक्ष भनेको यो कोरोना आतङ्कबाट चीनको अर्थब्यवस्था चर्मराउन पाएन । चिनियाँहरूले राम्रोसँग आफ्नो दैनिकी चलाएका छन् । चीनमा आर्थिक हानी भएन भन्दा हुन्छ । विश्वको ठूलो र संशाधन भएको र धनी देशको त्यो अवस्था अरुको लागि सहयोगमा परिणत हुनपर्ने हो । यस्तै, दुःखद पक्ष भनेको चीनले सुरक्षित र ठुलो तथा विश्वकै धनी बन्दै गरेको देशको हैसियतले कोरोनाको उपचार, मास्क तथा सोनिटाइजर प्रयोग समेतमा विश्वमा ब्यवस्थित रुपमा नेतृत्व लिनुपर्ने थियो । चीन त्यसमा नराम्रोसँग चुकेको छ । अप्ठेरोमा परेका गरिव विपन्न देशहरूमा कोरोनाको प्रभाव कम गर्न, आर्थिक सहयोग तथा उपचार र औषधिको सहयोगलाई चीनले ब्यवस्थित रूपमा विश्वब्यापी बनाएन । यसको कारण के हो भन्ने सवाल उठेको छ ।

के चीन सवैलाई पीडा भएको हेरेर आफू सुरक्षित रहन चाहने जनता र सरकारको देश हो ? यो सन्देश दुनियाँमा जानु चीनको लागि नै पनि उपयुक्त हो ? के चीनले शेष विश्वको लागि कुनै दायित्व ब्यहोर्नु पर्दैन ? यी सवालहरू आएका छन् । चीनले आफ्ना जनताको सुरक्षा गर्न त सक्ला तर यी सवालका जवाफचाहिँ ब्यवहारले दिनु र समयमा नै विश्वलाई विश्वासमा लिएर विश्वमैत्री हुनु अझै महत्वपुर्ण हो । चीनले विश्वमा सहयोगको पोका खोल्ने समय हो यो । सुखी र निर्धक्क चीनसँग दुनियाँले आशा गर्न नसक्नु र पीडामा रहेको अमेरिकाबाट नै शेष विश्वले आशा र भरोसा गर्नुपर्ने अवस्था देखिएको छ । यसको अन्त्यको लागि चीन आगाडी आउन आवश्यक देखिन्छ ।

अन्यथा, चीनका यावत ब्यवहारका श्रृङ्खलाका कारण उसप्रति विश्व–जनमत खुसी रहन सक्ने छैन । जति पीडा भए पनि बाँच्नको लागि अर्को उपाय नभएको अवस्था आएमा चीनको हैसियत फरक होला । अन्यथा चीनले कोरोनाको रोकथाम तथा विश्वमा कोरोनाविरुद्ध र आर्थिक दुर्गतिको अवस्थामा उचित सयहोग गर्न आवश्यक छ । यसले चीन र चिनियाँ जनताप्रतिको विश्व सम्मान बढ्ने छ । भारतसँगको सम्बन्धलाई पनि यस जटिल घडीमा सरल बनाएमा मित्रको पहिचान कायम रहने छ र पछि पनि अझै विश्वासका आधारमा समस्याहरू समाधान हुने छन् । अन्यथा चीनले नैतिक धरातल तथा जिम्मेवारी गुमाएको ठहर्ने छ र यसले गर्दा चीनप्रतिका आशंकाहरूले अझै बलियो स्थान बनाउने छन् ।