उन्मत्त अभ्यस्तबाट माछा बलात्कृत !

उन्मत्त अभ्यस्तबाट माछा बलात्कृत !


■ देवप्रकाश त्रिपाठी

शरीरको मदमा लठ्ठिएको अभ्यस्तलाई अब आफ्नो ज्यानको चिन्ता हुन छाडेको थियो । ज्यानको चिन्ता हुन्न भने भविष्यको बारेमा उसले चिन्ता लिने कुरै भएन । हिँड्नका लागि पर्याप्त जमिन थियो, ऊ एकोहोरो हिँडिरह्यो, घन्टौँ हिँड्यो, यो क्रम साँझ परूजेलसम्म पनि रोकिएन । उसको यात्रा त्यतिबेला रोकियो, जब उसले समुद्रतुल्य ताल भेट्यो । तालको किनारमा पुगेपछि उसले एक अञ्जुली पानी उठायो, मुख धोयो । अर्को अञ्जली पानी पियो । पहाडी झरनाको पानी पिइरहेको मानिसलाई तालको पानी पिउन बडो मुस्किल पऱ्यो । तर, प्यासको चाप यति बढेको थियो कि ऊ पानी नपिई बस्न पनि सक्दैनथ्यो । प्यास मेटिएपछि अभ्यस्त किनारमा पल्टियो ।

ताल किनारको चिसो हावा, रातको समय, दिनभरिको हिँडाइको थकानले ऊ भुसुक्कै निदायो ।

ब्युझिँदा घाम झुल्किसकेको थियो । उठेर बिहानीको नित्य कर्म सकेपछि खानेकुराको खोजीमा लाग्यो । केही पर राता दानाहरू फलिरहेको देखियो । यसअघि कहिल्यै नदेखिएका ती फलहरू खानेकुरा हो कि होइन भनी खुट्याउने कोसिस गऱ्यो उसले । जिब्रोमा राखेर हेयो, जिब्रोमा गुलियो फैलियो, तर कुनै नकारात्मक प्रतिक्रिया उत्पन्न भएन । ऊ अब उक्त फल खानका लागि हौसियो, खुब खायो उसले । त्यसपछि एउटा रूखको छहारीमा गएर पल्टियो ।

राति लामो निद्रामा परेका कारण दिउँसो यतिबेला निद्रा लाग्ने स्थिति थिएन । उसले एकैछिन आमाको गऱ्यो, ‘के गर्दै हुनुहोला यतिखेर’ भनेर । तर, उसको दुःखी मन आमामा धेरैबेर अडिएन, आफ्नो भविष्यतिर फर्कियो । अभ्यस्तको मन–मस्तिष्कमा अनेकौं तरङ्ग उठ्ने र बिलाउने क्रम जारी रह्यो ।

यस्तैमा तालको किनारामै खेलिरहेको एउटा माछामाथि उसको आँखा पऱ्यो । माछा ठूलै थियो । झन्डै–झन्डै ऊ जत्रै माछा घरिघरि ऊ उत्तानो परेझैँ गरेर पनि पल्टन्थ्यो, घरि किनारामै आइपुग्ने र घरि केही परसम्म पुग्ने । यो क्रम धेरैबेर चलिरह्यो । माछाको क्रियाकलापले उसलाई काउकुती लगाएझैँ भयो । अभ्यस्त बिस्तारै उठ्यो र आफूले लगाएका कपडाहरू खोलेर माछाजस्तै बन्यो । अनि पानीमा हेलियो ।

‘यो भाले होला कि पोथी ?’

‘जे भए पनि यसलाई म मार्ने छैन’– उसले अठोट गयो । अनि उसले के पनि निष्कर्ष निकाल्यो भने– ‘यो भाले या पोथी जे भए पनि पोथी नै हो ।’

पोथी नै हो भनी ठान्नुमा नै उसले उचित सम्झ्यो । उसले माछाको नजिकै पुग्ने चेष्टा गऱ्यो, माछा पछिपछि हट्न थाल्यो । माछा नबिच्कियोस् भनेर ऊ धेरै सचेततापूर्वक पौडन थाल्यो । पानीमा हलचल नगरीकन घाँटीसम्मको शरीर पानीमा डुबाएर उभियो । घरि न घरि उर्लेर आउने पानीको छालले उसलाई सर्लक्कै निल्थ्यो, तैपनि ऊ हलचल नगरी बसी नै रह्यो । केही बेरपछि माछाले के ठानेछ कुन्नि, ऊ अलिक नजिकिन थाल्यो । नजिकै जाने, अडिएर हेर्ने र फरक्कै फर्कने धेरैपटक गऱ्यो माछाले ।

लामो प्रतीक्षापछि माछा धेरै नजिक आयो, उसलाई फनफनी घुम्यो र पुच्छरले स्पर्श दिन थाल्यो । अभ्यस्तले पनि बिस्तारै हात अघि बढायो र माछाको ढाडमा स्पर्श दिने कोसिस गयो । सुरु–सुरूमा त ऊ केही तर्किएझैँ गऱ्यो, तर पछि सायद उसले विश्वास गर्न थाल्यो, मानव स्पर्शलाई चुपचाप स्वीकार गऱ्यो । केही क्षणको अवलोकन र आशङ्कापछि माछा अभ्यस्तप्रति सायद पूर्ण रूपले विश्वस्त भयो ।

अब दुवै प्राणी आपसमा खेल्न थालिसकेका थिए ।

विशाल तालमा ‘तिनी’ सायद नितान्त एक्ली महसुस गरिरहेकी थिइन् होली, आज तिनको शारीरिक भाषाले खुसीको पराकाष्टा पोखिरहेको थियो । यो मिलनको स्वार्थ माछामा के छ अभ्यस्तले ठम्याउन सकिरहेको थिएन, तर ऊचाहिँ आफू माछामाथि पोखिन पाउने निहित उद्देश्यबाट प्रेरित थियो । त्यसैले यसो मौका मिल्दा माछाको अङ्ग–अङ्गमा हात पुरऱ्याउन ऊ चुक्दैनथ्यो । तर माछाको निम्ति भने उसको स्पर्श सायद जतापट्टि पनि उस्तै थियो, यसरी घन्टौँसम्म खेलिरह्यो अभ्यस्त । उसले थकान महसुस गऱ्यो र पानीबाट बाहिर निस्कियो । ऊ सरासर फलको बोटमा पुग्यो, केही फलहरू टिपेर खायो र केही आफ्नो नयाँ साथीका लागि पानीमा फालिदियो । माछाले उसले दिएका फलहरू सबै खायो ।

अभ्यस्त माछाको यस किसिमको ‘रेस्पोन्स’बाट साह्रै खुसी भयो । किनारमा बसेर माछाका क्रियाकलाप हेर्दाहेर्दै ऊ निदायो ।

ब्युँझँदा झमक्क रात परिसकेको थियो । हावाको झोक्काबाहेक शान्त तलाउको त्यो किनारामा आवाजको नाममा अरू केही थिएन । चारैतिर टाउको घुमाएर हेर्ने कोसिस गऱ्यो उसले, कतै केही देखिएन । आकाशमा चमचम चम्किरहेको ताराहरूले निष्पट्ट अन्धकारलाई चिर्ने कोसिस गर्न खोजेझैँ प्रतीत हुन्थ्यो । अभ्यस्तले एक–एक गर्दै ताराहरूलाई नियाल्यो । उसले सोच्यो– ‘यी ताराहरू कहिलेदेखि चम्कन थाले होलान्, किन र कसरी चम्केका होलान् र कहिलेसम्म यी चम्किरहलान् । जहिलेदेखि यी अस्तित्वमा आए त्यही बेलादेखि किन आए होलान्, किन त्यो समयभन्दा अघि वा पछि यिनीहरूको उत्पत्ति भएन होला…’ ताराका विषयमा सोच्दासोच्दै ऊ फेरि निदायो । उसले आफू र आफ्नो ‘मित्र’ माछाका बारेमा पनि सोच्न भ्याएन ।

बिहान आँखा खुल्दा ताल आफ्नो हातखुट्टा फालेर चुपचाप सुतिरहेको थियो । आकाश पूरै रातिएको, तर सूर्य झुल्किसकेको थिएन । ऊ बिस्तारै उठ्यो र निर्वाध आङ तान्यो । त्यसपछि नित्यकर्मका लागि झाडीभित्र कतै छिऱ्यो । त्यताबाट फर्केर ऊ सोझै तालको किनारमा गयो, जहाँ माछा प्रतीक्षारतझैँ थियो ।

अभ्यस्तलाई देख्नेबित्तिकै पुच्छर हल्लाउँदै ऊ धेरै नजिकियो । अभ्यस्तले पानीमा हात दिँदै हात हल्लायो र केही सम्झझैँ गरी त्यहाँबाट केही पर गयो । ऊ गएतिर माछाले आँखा लगाइरह्यो । अभ्यस्त एकैछिनमा फलहरू लिएर फर्कियो र माछालाई दियो । हातमुख धोएर अभ्यस्तले पनि फल खायो । अनि कपडा खोलेर पानीभित्र प्रवेश गऱ्यो । आज माछा पनि निकै खुलेझैँ लाग्थ्यो । मानौं उसमा मान्छेको उपस्थितिप्रति भयको सट्टा खुसी थियो । उसको सलबलाहटले ऊ खुसी भएको छ भन्ने स्पष्ट सङ्केतहरू दिइरहेको थियो । अभ्यस्त उसको निकै नजिक पुग्यो, माछा अम्यस्तको शरीरलाई स्पर्श दिँदै लुटपुटिन थाल्यो । यो क्रम निकैबेरसम्म चलिरह्यो ।

यसैबीच अभ्यस्तले धैर्य गुमाउँदै गयो । ऊ यौनपुञ्जमा रूपान्तरित हुन पुग्यो । उसले आफूलाई रोक्नै सकेन, माछालाई बेसरी पक्रियो र जबर्जस्ती ऊ माछामाथि बज्रिन थाल्यो । माछा निकै छटपटियो, निकै आत्तियो, तर उन्मादी पिण्डमा रूपान्तरित अभ्यस्त रोकिएन । एकैक्षणपछि ज्वालामुखी फुट्यो र ऊ माछालाई छोडेर पानीबाहिर आयो । माछा आलस–तालस अवस्थामा पुग्यो । उसको मध्यशरीरको तल्लो भागबाट रगत चुहिइरहेको थियो । मरेतुल्य शरीर लिएर ऊ पानीमा ‘घस्रँदै’ तालको मध्यभागतिर लाग्यो ।

त्यसपछिका दिनमा ऊ त्यहाँ देखापरेन ।

अभ्यस्त उसको बाटो हेरेर अरू केही दिन किनारमा बसिरह्यो, तर ऊ कहिल्यै त्यहाँ देखापरेन । मरिसक्यो वा बाँचिरहेको होला भन्ने कुराको कुनै सङ्केतसम्म पनि त्यहाँ देखिएन । अभ्यस्तको प्रतीक्षाको धैर्य टुट्यो, लामो सास तान्दै उठ्यो । ऊ ग्लानिले लाससरह भइरहेको थियो । गल्तीको पश्चात्ताप गर्न ऊ चाहन्थ्यो, तर त्यही अवसरबाट पनि ऊ वञ्चित भइसकेको थियो । (क्रमशः)

यसअघिको खण्ड हेर्नुहोस्–
छोराबाटै पछ्याइन थालिन् निराकार !