भारतीय सांस्कृतिक सम्बन्ध परिषद् मुख्यालयमा वाजपेयीको तस्बिर अनावरण गरिने

भारतीय सांस्कृतिक सम्बन्ध परिषद् मुख्यालयमा वाजपेयीको तस्बिर अनावरण गरिने


भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको सम्झनामा भारतीय सांस्कृतिक सम्बन्ध परिषद्ले आगामी आइतबार (१६ अगस्त) एक विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त समारोहमा पूर्वप्रधानमन्त्री वाजपेयीको तस्बिर भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को परिसरमा अनावरण गर्ने कार्यक्रम रहेको बताइएको छ ।

वाजपेयीका साथै राष्ट्र निर्माणका लागि उहाँले दिनुभएको योगदानलाई सम्झिँदै उहाँको दोस्रो पुण्यतिथिमा सो कार्यक्रमको आयोजना गर्न लागिएको परिषदले जनाएको छ ।

बताइएअनुसार मित्रराष्ट्र भारतका विदेश राज्यमन्त्री वी. मुरलीधरन र भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष एवम् संसद सदस्य डा. विनय सहस्रबुद्धेको समुपस्थितिमा भारतका राष्ट्रपति रामनाथ कोविन्दद्वारा भर्चुअल मोडमा अटल बिहारी वाजपेयीको तस्बिरको अनावरण गर्दै सो कार्यक्रम सुरु गरिनेछ । राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा थुप्रै पुरस्कारद्वारा सम्मानित, स्वर्णपदक विजेता, मुम्बइका सुप्रसिद्ध चित्रकार वासुदेव कामतले वाजपेयीको सो क्यानभास तेल चित्र बनाएका हुन् ।

भारतमा आपत्कालीन अवस्थापछि बनेको जनता पार्टीको सरकारको विदेशमन्त्री रहँदा अटल बिहारी वाजपेयीले सन् १९७७ मार्चदेखि सन् १९७९ अगष्टसम्म भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को पदेन अध्यक्षका रुपमा काम गर्नुभएको थियो । आफ्नो विदेशमन्त्री कार्यकालको क्रममा सन् १९७७ मा संयुक्त राष्ट्र संघको महासभामा वाजपेयीले हिन्दी भाषामा भाषण दिनुभएको थियो । यसरी हिन्दी भाषामा महासभामा बोल्ने उहाँ पहिलो व्यक्ति बन्न पुग्नुभयो ।

उहाँको सोच र मार्गदर्शनले गर्दा नै भारतीय सांस्कृतिक सम्बन्ध परिषद्लाई विश्वव्यापी रूपमा अघि बढ्न र फैलिन मद्दत गरेको विश्वास गरिन्छ । संसद सदस्यको रुपमा, विदेशमन्त्रीको रूपमा र अन्त्यमा प्रधानमन्त्रीको रुपमा अटल बिहारी वाजपेयीले भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को क्रियाकलापमा विशिष्ट एवम् दीगो प्रभाव छोड्नुभएको छ ।

भारतको बाह्य सांस्कृतिक सम्बन्धसँग सम्बन्धित नीति तथा कार्यक्रमहरूको तर्जुमा एवम् कार्यान्वयनमा सक्रिय रुपमा सहभागी हुन, भारत र अन्य राष्ट्रबीच सांस्कृतिक सम्बन्ध र पारस्परिक समझदारी प्रवर्द्धन एवम् सुदृढ गर्न र अन्य विदेशी राष्ट्र र जनतासँगको सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्न सन् १९५० अप्रिल ९ मा भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को स्थापना भएको हो ।

परिषद्का कार्यक्रमलाई विश्वव्यापी रुपमा कार्यान्वयन गर्नका लागि भारतको विभिन्न राज्यमा १९ वटा क्षेत्रीय कार्यालय तथा विदेशमा ३८ वटा सांस्कृतिक केन्द्रहरू रहेका छन् । विगत केही वर्षमा परिषदको आकार र गतिविधिहरूमा वृद्धि भएको छ र भारतको नरम नीति विस्तार गर्न भारतीय विदेश मन्त्रालयको प्रमुख अङ्गको रुपमा रहेको बताइन्छ ।