लिदी पहिरोमा परेका पाँच जनाको शव फेला, ३३ बेपत्ता

लिदी पहिरोमा परेका पाँच जनाको शव फेला, ३३ बेपत्ता


सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीस्थित लामाटोलमा शुक्रबार (३० साउन) बिहान खसेको पहिरामा परी मृत्यु भएका पाँच जनाको शव फेला परेको छ ।

पहिरामा परेकामध्ये अझै ३३ जना बेपत्ता छन् । पहिराले ३५ घर ध्वस्त भएका छन् । पहिरामा परी घाइते भएका १४ जनाको उद्धार गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

पहिरामा पुरिएका पाँच शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रज्वल महर्जनले जानकारी दिएका छन् । घाइतेको उद्धार जारी रहेको जनाइएको छ । पहिराबाट निकालिएका घाइतेलाई हेलिकप्टरमार्फत चौतारा र काठमाडौं पठाइएको महर्जनले बताए ।

ज्ञातव्य छ, २०७२ सालको भूकम्पले थिलथिलो पारेको ठाडो भिरालो जमिनमा शिवश्री हाइड्रो पावरले विद्युतगृहको सुरुङ निर्माण गर्ने क्रममा विस्फोटक पदार्थले जमिन थर्किएकाले पहिरो स्थानीयवासीले आरोप लगाएका छन् ।