सीमावर्ती क्षेत्रका कृषकलाई आधुनिक उपकरण प्रदान

सीमावर्ती क्षेत्रका कृषकलाई आधुनिक उपकरण प्रदान


आरपी उपाध्याय, नवलपुर

नवलपुर जिल्लाअन्तर्गत विनयी त्रिवेणी गाउँपालिलाले सीमावर्ति वडाका किसानलाई कृषि उपकरणलगायतका सामाग्री वितरण गरेकोे छ ।

विनयी त्रिवेणी गाउँपालिका वडा न ७ का आधा दर्जन उपसमितिका संयोजकहरुलाई एक कार्यक्रमकाबीच हाते ट्रयाक्टर १५, पम्पिङ सेट ३० र कृषि मोटरलगायत कृषि सामग्री वितरण गरिएको कृषि प्राविधिक मनोज चापागाईंले जानकारी दिए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषि उपकरण र सामग्री वितरण गरिएको त्रिवेणी केराखेती ब्लकका अध्यक्ष मदन कुसवाहाले बताए । वर्षौंदेखि उखु खेती गर्दै आएका किसानहरुले मूल्य र भुक्तानी प्रक्रिया असहज भएको कारण वैकल्पिक नगदेबालीको रुपमा केराखेतीलाई प्राथमिकता दिन थालेको किसानाहरू को भनाइ छ । केराखेतीलाई आधुनिकीकरण र व्यवसायिक रुपमा अगाडि बढाइएमा सन्तोषजनक आम्दानी हुने विश्वास पनि कृषकहरुले लिएका छन् ।

नेपाल सरकारबाट ५० प्रतिशत र कृषक समुहबाट ५० प्रतिशत गरी कुल एक करोडको कृषि सामग्री र उपकरण किसानहरुलाई प्रदान गरिएको बताइएको छ । २०७२ सालदेखि लागु भएको परियोजना २०८२ सालसम्म अर्थात् दश वर्ष अवधिका लागि कार्यक्रम लक्षित रहने आयोजकले जानकारी गराए ।

विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष डम्बरबहादुर जिसी र उपाध्यक्ष मीना रानाले संयुक्त रुपमा सामग्री वितरण गरेको सो कार्यक्रममा वडाअध्यक्षद्वय प्रीतमबहादुर गुरुङ र गोपालबहादुर क्षेत्री, शिक्षा शाखाप्रमुख अमर न्यौपाने लगायतको पनि उपस्थिति रहेको थियो ।

परम्परागत रुपमा केरा खेती गर्दै आएका किसानहरुले उपकरण र सामाग्री प्राप्त गरेपछि आधुनिक पद्धतबाट व्यवसयिक रुपमा केरा खेती गर्ने समितिका सचिव नरेशप्रसाद शर्माले जानकारी दिए ।