परराष्ट्र नीतिमा ठूलो चुक

परराष्ट्र नीतिमा ठूलो चुक


■ केशवप्रसाद भट्टराई

१. सन्तुलित विदेश नीति र सुक्ष्म रणनीतिक अन्तदृष्टि मात्रै नेपालको सुरक्षा र स्थिरताको आधार हो ।
नेपालले आफ्नो विदेश नीतिमा शासकहरूलाई आफ्ना आग्रह, कुण्ठा र राजनीतिक सत्ता स्वार्थ मिसाउने अधिकार दिँदैन र त्यो एक किसिमको राष्ट्रद्रोह नै हो ।
परराष्ट्र मामिलामा पृथ्वीनारायण शाह र बहादुर शाहको जुन स्थिति थियो आज पनि मोटामोटी त्यही हो ।
कुनै चलखेललाई त्यहाँ कुनै स्थान छैन ।
त्यसमा शासकहरूका सत्ता स्वार्थ मिसाँइदा र चलखेल गर्ने ठाउँ खोज्दा नेपालले ठूलो क्षति बेहोरेको छ ।
राष्ट्रको अस्तित्व झन्डै समाप्त भएको इतिहास छ ।

२. ठूला र शक्तिशाली मुलुकका विदेश नीति र रणनीतिक प्राथमिकताहरूमा आवश्यकताअनुसार फेरबदल भैरहन्छ ।
ती परिवर्तनहरूलाई धान्ने र थाम्ने क्षमता राख्ने भएकाले उनीहरू त्यसो गर्न सक्छन् ।

३. आन्तरिक राजनीतिका सवालमा राजा महेन्द्रसँग विमति राख्न पर्ने पर्याप्त कारणहरू छन् १
रहन सक्छन् ।
तर परराष्ट्र नीतिमा उनी एउटा आदर्श हुन् ।
भारत, चीन, अमेरिका, रूस वा बेलायतसँगको सम्बन्धमा उनको परराष्ट्र नीतिले त्यसको राम्रो चित्रण प्रस्तुत गर्दछ ।
जस्तो चीन–भारत युद्ध, चीन र अमेरिका वीचको तनाव को चरम विन्दु, अमेरिका (सोभियत सङ्घबीच क्युबा सङ्कट, यु टु जासूसी विमान काण्ड आदि कारण झन्डै युद्धको स्थिति, बङ्गलादेश युद्ध आदि कठिन क्षणमा पनि राजा महेन्द्रले ती सवै मुलुकसँगको सम्वन्धमा उत्तम संयम, सन्तुलन, सुक्ष्म रणनीतिक अन्तर्दृष्टि, र कूटनीतिक कौशल प्रदर्शन गरे ।
त्यसैको बलमा तरवारको धारमा हिँडेर आन्तरिक राजनीतिक असन्तुष्टिलाई पनि व्यवस्थापन गरे ।
बीपी कोइराला जस्ता जाज्वल्लमान, लोकप्रिय र अन्तर्राष्ट्रिय ख्यातिका राजनेतालाई थुनामा राखेर,
सुवर्ण समशेरलगायतका काङ्ग्रेस प्रभावशाली नेतालाई निर्वाशनमा वा थुनामा रहन बाध्य बनाएर शासन हाँक्नु सजिलो थिएन ।
ख्याल ठट्टा थिएन ।
भारतीय नाकाबन्दी, सशस्त्र युद्ध वा विद्रोह पनि खेपे र आफैँमाथि जनकपुरमा भएको बम आक्रमणलाई पनि झेले ।
परराष्ट्र नीतिमा प्रदर्शन गरेको संयम र सन्तुलनले उनलाई आन्तरिक राजनीतिमा सफलता प्राप्त भयो ।

३. यौटा उदाहरण हेरौँ–
१९६२ मा चीन-भारत युद्ध हुँदा अमेरिका भारतको पक्षमा थियो ।
सैनिक सहायता उपलब्ध गरायो,
लडाकु विमान र जंगी बेडा पठाइसकेको थियो,
युद्धमा तिनको उपयोगको क्षण आउँदा नआउँदा चीनले एकतर्फी युद्ध विराम गऱ्यो ।
त्यस पछि तिनको उपयोगको औचित्य नै रहेन ।

१९७१को बङ्गलादेश युद्धमा त्यही अमेरिकाले हिमालय क्षेत्रबाट भारतमाथि आक्रमण गर्न चीनलाई अनुनय–विनय गऱ्यो ।
स्मरणीय छ बङ्गलादेशको स्वतन्त्रतापछि भारतले पश्चिम पाकिस्तानमाथि पनि आक्रमण गर्ने,
त्यसबाट स्वतन्त्र बलुचिस्तानका पक्षधरहरू उत्साहित भएर विद्रोह गर्ने स्थिति निर्माण हुने र भारतले पाकिस्तान अधिकृत काश्मिरलाई नियन्त्रणमा लिने सम्भावना निक्सन र किसिन्जरले देखेका थिए ।
त्यसैले बङ्गलादेशको स्वतन्त्रतालाई रोक्न सकियो भने मात्रै पश्चिम पाकिस्तानलाई समेत विखन्डनबाट रोक्न सकिन्छ भन्ने अमेरिकाको विश्वास थियो ।
त्यसको लागि चीनले हिमालतर्फबाट आक्रमण गरे आफूले बंगालको खाडीबाट भारतमाथि आक्रमण गर्ने उसको तयारी थियो ।
१९६५ को भारत–पाकिस्तान युद्धपछि अमेरिकाले भारत र पाकिस्तान दुवैलाई हातहतियार उपलब्ध नगराउने कानुन पास गरेकोले पाकिस्तानलाई सोझै हतियार र लडाकु विमान पठाउन सक्दैनथ्यो ।

त्यसैले अमेरिकामैत्री इरान र जोर्डानका तत्कालीन शासकहरूलाई आफूकहाँ भएको लडाकु विमान र हातहतियार हरू पाकिस्तानलाई दिन र त्यसको भर्ताल उनीहरूलाई गरिदिने आश्वासन निक्सन र किसिन्जरले इरानका शाह र जोर्डनका राजालाई दिएका थिए ।
तर चीनको सीमानामा सोभियत सङ्घले लाखौँको सङ्ख्यामा आफ्नो शक्तिशाली सेनालाई तैनाथ गरेकोले पाकिस्तानको मद्दतको लागि अमेरिकाले भनेजसरी भारतविरूद्ध चीन उत्रिन सकेन ।
इन्दिरा गान्धीले पनि विविध कारणले पश्चिम पाकिस्तानमाथि आक्रमण गर्न चाहिनन् ।

४. आज भारत र अमेरिकाको सम्बन्ध इतिहासकै सबैभन्दा घनिष्ट छ ।
भारत र अमेरिका घनिष्ट रणनीतिक साझेदार बनिसकेका छन् ।
आजको भारतले असंलग्नतालाई आफ्नो परराष्ट्र नीतिको आधार मानेको छैन ।
१९५० को दशकमा भारत र चीनको सम्बन्ध निकट र हार्दिक थियो ।
हिन्द–चिनी भाइ–भाइ, पंचशीलका नारा नेहरू र चाउएनलाईको मुखैमा झुन्डिने गर्दथ्यो ।
तर १९६२ मा युद्ध लडे ।
१९८० पछि सम्बन्ध निकै हार्दिक र निकट हुँदै गयो ।
मोदी र सीबीचको सम्बन्ध नेहरू र चाउकै स्तरमा देखिन्थ्यो ।
तर आज भारत र चीन झन्डै युद्धको स्थितिमा छन् ।
झन्डै १९६२को अवस्थामा छन् ।

५. यो बखत परराष्ट्र नीतिमा नेपालले राजा महेन्द्रको जस्तै कूटनीतिक संयम, सन्तुलन र कौशल खोजेको छ ।
तर ओली सरकार परराष्ट्र नीतिमा ठूलो चुक गरिरहेको छ ।