नौ दिनपछि केपी-प्रचण्ड सम्वाद

नौ दिनपछि केपी-प्रचण्ड सम्वाद


सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र सह–अध्यक्ष ‘प्रचण्ड’बीच पार्टीभित्रको आन्तरिक विवाद मिलाउन नौ दिनपछि बिहीबार (२९ साउन) पुनः छलफल भएको छ ।

यही साउन २० गतेयता संवादहीनता देखिएकामा बिहीबार दुई अध्यक्षबीच छलफल हुनु र प्रधानमन्त्री ओलीले पाँच दिनभित्र विवाद समाधानोन्मुख हुन्छ भन्ने अभिव्यक्ति दिनाले सत्तारुढ नेकपाका कार्यकर्ता तहमा पार्टी विभाजन हुने चिन्ता मत्थर भएको दाबी गरिएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार दुई अध्यक्षबीच बिहीबार अपराह्न करीब चार घण्टा प्रधानमन्त्री निवास बालुुवाटारमा भेटवार्ता भएको हो । अन्य कुनै सहयोगी नेता नराखी दुई जनाबीच मात्रै छलफल भएको थापाले जानकारी दिए ।

यसअघि साउन १९ र २० का छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ पनि सहभागी भएका थिए ।

गत असार १० गते शुरु भएको स्थायी कमिटीमा नियमित कार्यसूचीका अतिरिक्त शक्ति बाँडफाँट र सरकार–पार्टीबीचको समन्वयबारे विवाद छ ।