नरेन्द्र मोदी कांग्रेसइतरका सबैभन्दा लामो समय देशको सेवा गर्ने प्रधानमन्त्री

नरेन्द्र मोदी कांग्रेसइतरका सबैभन्दा लामो समय देशको सेवा गर्ने प्रधानमन्त्री


भारतको हालसम्मका प्रधानमन्त्रीहरुमध्ये वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी भारतीय इतिहासमा चौथो सबैभन्दा लामो अवधि सेवा गर्ने प्रधानमन्त्री बनेका छन् । बिहीबार (१३ अगस्ट) देखि जवाहरलाल नेहरू, इन्दिरा गान्धी र मनमोहन सिंहपछिका सबैभन्दा लामो समय देशको सेवा गर्ने प्रधानमन्त्रीको हैसियत मोदीलाई हासिल भएको हो ।

नेहरु, गान्धी र सिंह तीनै जना भारतीय कंग्रेस पार्टीसम्बद्ध भएकाले काङ्ग्रेसइतर दलबाट सबैभन्दा बढी समय भारतको सरकार प्रमुखका हैसियतमा सेवा गर्ने पहिलो राजनेताचाहिँ प्रधानमन्त्री मोदी नै भएका छन् । उनले आफ्नो दल भारतीय जनता पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री अटलबिहारी वाजपेयीलाई पछाडि पार्दै गैर–काङ्ग्रेस दलबाट सबैभन्दा बढी समयावधि प्रधानमन्त्री बन्ने इतिहास बनाउन सफल भएका हुन् ।

नरेन्द्र मोदीले सन् २०१४ को मे २६ मा भारतीय १४औँ प्रधानमन्त्रीका रूपमा आफ्नो पहिलो कार्यकाल सुरू गरेका थिए । उनको दोस्रो कार्यकाल ३० मे २०१९ मा सुरू भएको हो ।

भारतको इतिहासमा जवाहरलाल नेहरू अहिलेसम्म सबैभन्दा लामो अवधि प्रधानमन्त्री बनेका नेता हुन् । उनको कार्यकाल झण्डै १७ वर्ष रहेको थियो । उनकी छोरी तथा भारतीय पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीले क्रमशः ११ वर्ष र करिव पाँच वर्ष गरी दुई कार्यकालमा १६ वर्ष पूरा गरेकी थिइन् ।

त्यस्तै काङ्ग्रेस नेता डा।मनमोहन सिंह लगातार दुई पटक पाँच वर्षको सेवा गरी भारतीय इतिहासमा तेस्रो लामो समय प्रधानमन्त्रीका रूपमा सेवा गर्न सफल व्यक्तित्व भएका छन् ।

मोरारजी देसाई (मार्च २४ १९७७ – जुलाई २८, १९७९), चरण सिंह (जुलाई २८,१९७९ – जनवरी १४, १९८०), विश्वनाथ प्रताप सिंह (डिसेम्बर २, १९८९ – नोभेम्बर १, १९९०), चन्द्रशेखर (नोभेम्बर १०, १९९० – जुन २१, १९९१), एचडी देवेगौडा (जुन १, १९९६ – अप्रिल २१, १९९७) र इन्दर कुमार गुजराल (अप्रिल २१, १९९७ – मार्च १९, १९९८) आफ्नो कार्यकाल पूरा नगरेका काङ्ग्रेसइतरका अन्य प्रधानमन्त्रीहरू हुन् ।

नरेन्द्र मोदी भारतको ७४औँ स्वतन्त्रता दिवसको दुई दिन अगाडि सबैभन्दा लामो सेवा गर्ने चौथो प्रधानमन्त्री बन्न पुगेका छन् । यही अगस्ट १५ मा उनले भारतीय प्रधानमन्त्रीका रूपमा स्वतन्त्रता दिवसका अवसरमा लालकिल्ला (रेड फोर्ट) परिसरबाट सातौँ सम्बोधन गर्ने छन् ।