आज मास्कका कुरा गरौँ

आज मास्कका कुरा गरौँ


■ लक्ष्मणप्रसाद खतिवडा

आजभोलि यत्रतत्र सर्वत्र मास्कको चर्चा सुन्न पाइन्छ । मोबाइलको रिङटोनदेखि टेलिभिजनका स्क्रिनसम्ममा माक्सले डेरा जमाउन सफल भएको छ । यति मात्र कहाँ हो र ? परिवारका सदस्यसँग भेटघाट गर्नुपर्दा होस् वा घरबाहिर निस्कनुपर्दा अचेल मास्क नै हितैषी बन्न पुगेको छ । हुन त आफूबाट निस्कने थुकको छिटा अरुलाई नजाओस् र अरुबाट आएको थुकको छिटा आफूमा नआओस् भन्ने उद्देश्यले मास्क लगाउने गरिन्छ । त्यसैले कोरोना संक्रमणको दर वृद्धि भैरहँदा घरबाहिर निस्कने सबैले मास्क लगाउनु अनिवार्य बनेको छ ।

यदि मास्क नलगाउने हो भने संक्रमण सर्ने सम्भावना बढी हुन्छ । त्यसैले भीडभाडमा जाँदा, सार्वजनिक सवारी साधनको प्रयोग गर्दा, व्यापार व्यवसायमा आवद्ध हुँदा सबैले अनिवार्य मास्क लगाउनुपर्दछ । हुन पनि मास्क लगाएर घरबाहिर निस्कँदा पचास प्रतिशतसम्म संक्रमणबाट जोगिन सकिने विज्ञहरुले बताइरहेका छन् ।

कोरोना भाइरस संक्रमणबाट बच्न आज मास्क अनिवार्य बनिसकेको छ । यो नाक र मुख छोप्नको लागि प्रयोग गरिने बस्तु हो । यसको सही प्रयोगबाट कोरोना जस्ता भाइरस नाक र मुखबाट हाम्रो शरीरभित्र प्रवेश गर्न पाउँदैन । विज्ञहरु हामीले मास्क लगाउने हो भने संक्रमणको सम्भावना निकै कम हुने बताउँछन् । मास्क व्यक्ति एक्लो हुँदा भन्दा दुई वा दुईभन्दा बढि व्यक्तिबीच कुराकारी गर्दा वा नजिक हुँदा चाहिने वस्तु हो । अझै भोजभतेर, टिकट काउन्टर, सार्वजनिक यातायात, कार्यालय, व्यापारिक स्थानमा त कोरोना संक्रमणको जोखिम उच्च हुने हुनाले मास्क लगाउन जरुरी हुन्छ ।

विगतमा मास्कको प्रयोगलाई हेर्ने हो भने १८औं शताव्दीको अन्त्यतिर अस्पताल क्षेत्रमा प्रयोग गर्नको लागि सर्जिकल मास्कको आविष्कार भएको पाइन्छ । त्यसपछि सन् १९१९ तिर स्पेनिस फ्लुको संक्रमण बढेसँगै सर्वसाधारणले समेत मास्क प्रयोग गर्ने गरेको देखिन्छ । हुन पनि संक्रमित व्यक्तिले खोक्दा वा हाछ्यु गर्दा जीवाणुहरु एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने हुनाले सोबाट बच्न मास्कको प्रयोग हुने गरेको हो । हामी पनि विगतमा धुँवा र धुलोबाट बच्न मास्क प्रयोग गर्ने गर्थ्यौँ, तर कोरोना भाइरस फैलिएसँगै यही भाइरसबाट बच्नका लागि समेत मास्क हाम्रो लागि बरदान नै सावित बनेको छ ।

रुस जस्ता देशहरुमा उत्पादित खोप वा औषधि हाम्रो जस्तो मुलुकमा आउन केही समय लाग्ने हुनाले कोरोनाबाट जोगिन मास्क अनिवार्य भएको छ । हुन पनि रुसले ठूलो मात्रामा खोपको उत्पादन सेप्टेम्बर महिनामा सुरु हुने र अक्टोबरदेखि सर्वसाधारणका लागि खोप खुल्ला हुने जनाएको छ । यसरी हेर्दा हामी अझै केही समय संक्रमण फैलिन नदिन जागरुक हुनै पर्दछ ।

मास्क कहाँ र कसरी लगाउने भन्ने पूर्ण रुपमा चेतना नआएर वा नजानेर अधिकांशले मास्क सही ढंगले लगाएको पाइँदैन । मास्कले नाक र मुख छोप्नुपर्ने भए पनि धेरैले चिउँडो मात्र छोपेको देखिन्छ । हाल बजारमा एन ९५ मास्क, सर्जिकल मास्क, कपडाको मास्क आदि मास्क प्रयोग भए पनि यसको प्रयोग ठीक ढंगले भएको छैन । हामी अधिकांश मास्क नै नलगाउने र लगाउनेले पनि हेलचेक्रयाई गरी ठीक स्थानमा नलगाउनाले भाइरस सर्ने सम्भावना बढिरहेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले हालै गरेको एक अध्ययनअनुसार काठमाडौं उपत्यकामा जनस्वास्थ्यको मापदण्ड प्रभावकारी रुपमा पालना नभएको देखिएको छ । सो अध्ययनअनुसार माक्स लगाउनेले समेत नाकमुनि, चिउँडो, घाटी, हातमा लगाएको देखिन्छ । यसरी राजधानी काठमाडौंको यो अवस्था छ भने अन्य ठाउँको अवस्था कस्तो होला सहजै अनुमान लगाउन सकिन्छ ।

एक्काइसौं शताव्दीलाई पनि चुनौती दिँदै विश्वभर फैलिएको कोभिड-१९ को हालसम्म कुनै पनि खोप वा औषधि पत्ता लागि उपचारमा आधिकारिक रुपमा प्रयोग भैनसकेको हुनाले यसको भरपर्दो उपाय मास्क र सामाजिक दूरीको पालना नै देखिन्छ । अझै रुस जस्ता देशहरुमा उत्पादित खोप वा औषधि हाम्रो जस्तो मुलुकमा आउन केही समय लाग्ने हुनाले कोरोनाबाट जोगिन मास्क अनिवार्य भएको छ । हुन पनि रुसले ठूलो मात्रामा खोपको उत्पादन सेप्टेम्बर महिनामा सुरु हुने र अक्टोबरदेखि सर्वसाधारणका लागि खोप खुल्ला हुने जनाएको छ । यसरी हेर्दा हामी अझै केही समय संक्रमण फैलिन नदिन जागरुक हुनै पर्दछ । यसको लागि संक्रमण रोकथामका लागि कडा मापदण्ड लागु गरेका विश्वका विभिन्न मुलुकहरुमा समेत घरबाहिर निस्कदा मास्क नलगाएमा कारवाही हुने गरेको छ । नेपालमा समेत मास्क नलगाई हिड्नेलाई संक्रमण रोग ऐन २०२० अनुसार कारवाही हुने जनाइएको छ ।

सही तरिकाले मास्क लगाउने, साबुन पानीले बारम्बार हात धुने, भेन्टिलेसन भएको कोठाको मात्र प्रयोग गर्ने हो भने धेरै हदसम्म यो भाइरसबाट बच्न सकिन्छ । सुरक्षाका उपायहरु गम्भीरतापूर्वक पालना नगरिएमा यसले हामीलाई छोड्दैन । अत यसको संक्रमणबाट बच्न मास्क सहि तरिकाले लगाउनुपर्दछ ।

मास्क राम्रोसँग नाक र मुख छोपिने गरी दैनिक रुपमा प्रयोग गर्नुपर्दछ । अझै कोरोना संक्रमण समुदाय स्तरमा फैलिएका क्षेत्रमा त मास्कको प्रयोग गर्नु अनिवार्य नै छ । उचित तरिकाले मास्क लगाई सामाजिक दूरी कायम गर्ने हो भने कोरोनाको संक्रमणबाट धेरै हदसम्म सुरक्षित हुन सकिने चिकित्सकहरुले बताइरहेका छन् । हाल मास्क लगाउनु पर्ने भए पनि कतिपय मानिसहरुले मास्क लगाउने नगरेकोले संक्रमितको संख्यामा वृद्धि भैरहेको छ । कोरोनाबाट विश्वमा हालसम्म २ करोडभन्दा बढि व्यक्ति संक्रमित भैसकेको तथा करिब ८ लाख व्यक्तिको मृत्युसमेत भैसकेको वर्तमान अवस्थामा सामान्य सुरक्षाका नियमहरु पालना नगर्ने हो भने हामीले भोलि ठूलो क्षति व्यहोर्नुपर्ने निश्चित छ ।

अहिले कोरोना महामारीमा विश्वमा अत्यधिक माग बढेको बस्तु हो- मास्क । कुनै पनि देशमा कोरोना परीक्षण सबैको गर्न सम्भव छैन । त्यसैले हामीसँग बाटोमा भेट भएका जो–कोही पनि संक्रमित भएका हुन सक्छन् । अतः संक्रमणबाट बच्न मास्कको प्रयोग गर्नुपर्दछ । कोरोना संक्रमणबाट बच्न व्यक्तिगत दूरी कायम गर्ने, सही तरिकाले मास्क लगाउने, साबुन पानीले बारम्बार हात धुने, भेन्टिलेसन भएको कोठाको मात्र प्रयोग गर्ने हो भने धेरै हदसम्म यो भाइरसबाट बच्न सकिन्छ । यो हुँदाहुँदै पनि सबैकुरा गर्न सम्भव नभए पनि मास्क लगाउन सम्भव छ । सुरक्षाका उपायहरु गम्भीरतापूर्वक पालना नगरिएमा यसले हामीलाई छोड्दैन । अत यसको संक्रमणबाट बच्न मास्क सहि तरिकाले लगाउनुपर्दछ । यसको प्रयोग पश्चात् सुरक्षित तरिकाले व्यवस्थापन समेत गर्नुपर्दछ । अन्यथा यसैको कारण पनि अन्य व्यक्ति संक्रमित बन्न पुग्छन् ।

मास्क प्रयोग गर्नु भनेको आफूबाट अरुलाई र अरुबाट आफूलाई संक्रमण हुनबाट रोक्नु नै हो । मास्क एक व्यक्तिगत सुरक्षा साधन हो । यो फेसन गर्ने पहिरन पक्कै होइन । त्यसैले विज्ञहरूद्वारा जारी निर्देशनबमोजिम मास्कको प्रयोग गर्नुपर्दछ । जापान, चीन, दक्षिण कोरिया जस्ता देशहरुमा मास्क लगाउनु सामाजिक संस्कार नै बनेको अवस्थामा हामीले चाहि हेलचेक्र्याँ गरिरहनु पक्कै शोभनीय विषय होइन । त्यसैले मास्क लगाऔं कोरोनालाई भगाऔं ।