जोखिम न्युन गर्न पृथ्वी राजमार्गमा कडाई

जोखिम न्युन गर्न पृथ्वी राजमार्गमा कडाई


■ विकास रौनियार, धादिङ

विभिन्न जिल्लाबाट पृथ्वी राजमार्ग हुँदै काठमाडौं उपत्यका प्रवेश गर्न रोक लगाइएको छ । धादिङ जिल्लामा कोभिड–१९ को जोखिम बढ्दै गएपछि उपत्यका प्रवेश गर्ने पृथ्वी राजमार्गमा कडाइ गरिएको हो ।

इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले विभिन्न जिल्लाबाट पृथ्वी राजमार्ग हुँदै उपत्यका प्रवेश गर्न रोक लगाइएको जानकारी दिए ।

धादिङ जिल्लामा कोभिड–१९ को जोखिम बढ्दै गएपछि उपत्यका प्रवेश गर्ने पृथ्वी राजमार्गमा कडाइ गरिएको प्रनाउ खड्काले बताए ।

बिहीबार (२९ साउन) देखि अत्यावश्यक बाहेकका सबै यातायात पूर्ण रुपमा बन्द भएको छ । त्रिभुवन राजपथ र पृथ्वीराजमार्गको धादिङ जिल्लाभित्र पर्ने क्षेत्रमा होटल, बैंक तथा वित्तीय संस्था र जिल्लाभित्रका सम्पुर्ण शैक्षिक संस्थाहरु बन्द रहेका छन् । निषेधाज्ञाको अवज्ञा वा अपहेलना गर्ने वा काममा बाधा पुऱ्याउने व्यक्तिलाई कानुनबमोजिम कारवाही हुने प्रशासनले जनाएको छ ।

कोरोना भाइरसको कारण धादिङको नीलकण्ठ नगरपालिकामा एक जनाको मृत्यु भएको र संक्रमण स्थानियमा फैलिएको आंशकामा धादिङमा निषेधाज्ञा जारी गरिएको छ । बुधबार बसेको बैठकले बुधबार १२ बजेदेखि लागु हुने गरी ३ गतेसम्मको लागि निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञाको पहिलो दिन धादिङको सदरमुकाम धादिङबेसी र पृथ्वी राजमार्गअन्तर्गत पर्ने मझिमटार, बेनिघाट, मलेखु, गजुरी, गल्छी, नौबिसे, खानीखोला लगायतका बजार बिहानैदेखि सुनसान बनेको छ । औषधी पसल, फलफुल पसल र खाद्यान्न पसलबाहेक अन्य सम्पुर्ण पसलहरु पुर्ण रुपमा बन्द भएको छ ।

एक जिल्लाबाट अर्को जिल्लामा प्रवेशका लागि दिइने सम्पूर्ण सवारी पास बन्द गरिएको छ।

यसैबीच गृह मन्त्रालयले सम्पूर्ण जिल्ला प्रशासन कार्यालयलाई सवारी पास बन्द गर्न निर्देशन दिएको छ । बिहीबारदेखि लागू हुनेगरी सवारी पास वितरण नगर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको हो ।

गृहमन्त्रालयद्वारा सबै जिल्ला प्रशासनलाई दिइएको निर्देशनमा भनिएको छ, ‘कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै अर्को व्यवस्था नहुन्जेलसम्मका लागि सवारी पास वितरण नगर्न, नगराउनुहुन आदेशअनुसार अनुरोध छ।’

अब एक जिल्लाबाट अर्को जिल्लामा सवारी लिएर जान नपाइने भएको छ। पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा सरकारले सवारी सञ्चालन तथा आवतजावतमा कडाई गरेको हो।

त्यस्तै लकडाउन खुलेपछि विभिन्न जिल्लाबाट उपत्यका प्रवेश गर्नेको भीडसँंगै कोरोना सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको पाइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये उपत्यका बाहिरबाट आउने ६३ प्रतिशत रहेको छ ।