ढिलो भइसक्यो, फेरि ‘रुँँदा पाउँँ न हाँस्दा पाउँ’ होला !

ढिलो भइसक्यो, फेरि ‘रुँँदा पाउँँ न हाँस्दा पाउँ’ होला !


■ विश्व सिग्देल

उग्र राष्ट्रवादको नाउ चडेर कोही पार लागेका छैनन् । फेरि अर्को बेसुरा राग… ! माडीमा अर्को राममन्दिर बनाउन ओलीजीले फर्मान जारी गर्नुभएछ ।

रामजन्मभूमि अयोध्या अब बिजेपीको मात्र मुद्दा रहेन, राष्ट्रिय मुद्दा बनेको छ । हिन्दुहरूले मात्र हैन अन्य धर्मावलम्बीहरूले समेत अयोध्या र रामजन्भूमिमा बन्ने मन्दिर भारतकै गौरव र राष्ट्रिय पहिचान बन्ने अर्थात् अर्को भेटिकन बन्ने, राष्ट्रिय अर्थतन्त्रमा समेत भरथेग हुने भन्दै आ–आफ्नो ढङ्गले समर्थन गरेका छन्– कसैले दबेको स्वरमा त कसैले मुखर स्वरमा, तर सबै समर्थनमा छन् । समाजमा एक–दुई मानिसहरू फरक भइहाल्छन्, हामीकहाँ पनि झण्डै फेर्नुपऱ्यो, नेपाल नाम नै फेर्नुपऱ्यो भन्ने मानिसहरू नभएका हैनन् ।

अयोध्या माडीमै पनि हुन सक्छ, दमकमा पनि हुन सक्छ, अझ कन्काइको पुरानो नाम सरयू पनि हुन सक्छ, भारतले मानेको अयोध्या नक्कली हुन सक्छ, हामीलाई चिठ्ठा पर्न सक्छ । होहल्ला नगरी चुपचाप देश–विदेशका ख्यातिप्राप्त इतिहासविद्, पुरातत्वविद्हरूलाई यसको अनुसन्धान र उत्खनन्को जिम्मा दिउँ ।

भारतको अयोध्याका बारेमा ऐतिहासिक तथ्यहरू र उत्खननका प्रमाणहरू पनि जम्मा गरौँ, सत्य आफैं धुरीमा चडेर बोल्छ, अन्तर्राष्ट्रिय जगतले बोल्छ । मालिकको अनुहार हेरर प्रतिवेदन बनाउने कथित कार्यकर्ता पठाएर सत्य तथ्य आउला भनेर कसैले पत्याउने अवस्था पनि छैन, त्यस्ता निर्देशित प्रतिवेदन अन्तर्राष्ट्रिय मानकभित्र पनि पर्दैनन् ।

लुम्बिनी नेपालमा छ भनेर इसापुर्व २०० वर्षअघि नै अशोकले बोलेका हुन्, सन् १९८५ मा जर्मन पुरातत्वविद् फुहररले बोलेका हुन्, उथान्टले बोलेका हुन्, युएनले बोलेको हो । नेपालको दाबी भरपर्दो भए, माडीको अयोध्यापुरी नै अयोध्या हो भनेर अन्तर्राष्ट्रिय जगतले नै बोलिहाल्छ । हामीलाई बोलिरहन जरुरत पर्दैन ।

वहाँ आगोसँग खेलिरहनुभएको छ । घरमुलीको हैसियतले तपाईंका मनोगत आग्रहको मूल्य देशले चुकाउनुपर्ने हुन सक्छ । तपाईंको हातको त्यो आगोको लप्को बलियाबाङ्गा छिमेकीले हामीतिर सोझ्याइदिन सक्छन् । यो पनि हुन सक्छ उनीहरूले यही ध्येयले ओलीजीलाई नै अगुल्टो थमाइदिएका हुन सक्छन् । उनीहरूलाइ सीमाना मिचिएका मुद्दा विषयान्तर गर्नु छ, अरु धेरै के–के गर्नु छ ।

जनकपुर, लुम्बिनी, पशुपति र मुक्तिनाथलाई अतिक्रमण हुन नदिने र सफा मात्र राख्ने हो भने नेपालीले थेग्न नसक्ने पर्यटक यहाँ आउँछन् । पशुपतिनाथ अन्तर्राष्ट्रिय बिमानस्थलबाट दश मिनटको पैदल दुरीमा छ भन्ने सन्देश भारतको कुना–काप्चामा पुऱ्याउनुहोस्, भैय्याको सट्टा ‘भाइसाहब’ भनिदिनोस्, तीर्थयात्रीको भेल काठमाडौंले थामेर सक्दैन, एक जना नियमित पशुपति दर्शन गर्न आउने भारतीय लेखकले भनेका थिए ।

भएका तीर्थस्थलहरूको संरक्षण सम्वर्द्धन प्रवर्द्धन गरौँ, यति भए हाम्रो सानो देशलाई मनग्य पुग्छ । तपाईंले त कुनै दिन जिसस यही जन्मनुभएको थियो, जेरुसलेम यही हो पनि भनिदिनु होला, हामीलाई आपत् ! भारतले सयौँ करोड खर्च गरेर विश्वनाथ मन्दिरपरिसर सुन्दर फराकिलो बनाँंदैछ, अयोध्यामा राममन्दिर बनाउँदैछ, हामीले मोहर खर्च गर्नु पर्दैन, तीर्थस्थल खुला सफा र तीर्थयात्रुलाई पैसा लिएर मिठो सभ्य बोलीदिए पुग्छ । पशुपति दर्शन गर्न जाँदा नाक थुनेर जानुपर्छ, अतिक्रमण र फोहरको डुङ्गुरमा जानकी मन्दिर र पवित्र तलाउहरू पुरिएका छन्, कोरोनाको औषधी किन्न नसक्नेले राममन्दिर बनाउने ?

मुलुकमा गरीबी छ, अशिक्षा छ, अभाव छ, कोरोनाजस्तो विनासकारी महामारी सुरसाझैँ मुख बाएर बसेको छ, यता रत्तिभर ध्यान छैन । यस्तो सङ्कटको बेला बिनातुकको ‘अयोध्या.. अयोध्या’को अरण्यरोदनको अन्तर्य के हो ओलीजी ?