प्रतिबन्धित नेकपाका १३ कार्यकर्ता पक्राउ

प्रतिबन्धित नेकपाका १३ कार्यकर्ता पक्राउ


विप्लवको नेतृत्वमा रहेको प्रतिबन्धित दल नेपाल कम्युनिष्ट पार्टीका नेता–कार्यकर्तालाई पछिल्ला दिनमा प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । यस क्रममा रुकुम पश्चिमबाट चार, जुम्लाबाट तीन, सुर्खेत, सल्यानबाट दुईदुई, दैलेख र डोल्पाबाट एकएक गरी सो पार्टीका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयले दिएको जानकारीअनुसार सुर्खेतको भेरीगङ्गा नगरपालिका–९ जहरेबाट कर्णबहादुर बिसी र सहवीर महरलाई पक्राउ गरिएको छ । दुवै जना सो पार्टीको सुर्खेत जिल्ला कमिटी सदस्य रहेको बताइएको छ । प्रदेश प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले उनीहरुका साथबाट साथबाट विभिन्न दस्तावेज, निर्माण व्यवसायीलाई आर्थिक सहयोगको लागि लेखिएका पत्र तथा रकम असुल गरेका अर्धकट्टीसमेत बरामद गरिएको जानकारी दिएका छन् ।

यस्तै, रुकुम पश्चिमका जिल्ला सेक्रेटरी हीरामणि रावलसहित समूहका चार जना कार्यकर्तालाई आठबीसकोट नगरपालिकाको राडीबजारबाट पक्राउ गरिएको छ । रावलसहित विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष प्रेमप्रशान्त बोहरा, समूहका जिल्ला सदस्य घमण्ड महर र कार्यकर्ता तुलबहादुर घर्ती पक्राउ परेका हुन् ।

यसैगरी, दैलेखको आठबीस नगरपालिका–६ का उदय विक, मुगुको सोरु गाउँपालिका–६ निवासी जिल्ला सेक्रेटरी रामबहादुर भाम ‘उदय’, जुम्लाको हिमा गाउँपालिका–७ निवासी जिल्ला सदस्य नन्द तिवारी र सोही गाउँपालिकाकी सपना बुढा पक्राउ परेका छन् । जुम्लाको गोठीचौर गाउँपालिका–१ का सूर्य महतारा, सल्यान बागचौर नगरपालिका–४ का मोहन केसी र सोही नगरपालिका–२ का सेजन चन्द पक्राउ गरिएको प्रदेश प्रहरीले जनाएको छ ।

पक्राउ परेकामध्ये सल्यानबाट एक जनालाई छाडिएको छ भने दैलेखका एक, सल्यानका एक, रुकुम पश्चिमका चार र डोल्पाका एक जनालाई मुद्दा दर्ता गरिएको छ । प्रदेश प्रहरी प्रवक्ता बाँस्तोलाले उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य सुविधा र अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरिएको जानकारी दिएका छन् ।