महामारी र लापर्वाही सँगसँगै बढ्दै !

महामारी र लापर्वाही सँगसँगै बढ्दै !


बितेको साढे चार–पाँच महिनादेखि विश्व कोभिड–१९ महामारीको चपेटामा छ । यतिबेलासम्म विश्वभरका २ करोड २६ लाखभन्दा धेरै मानिस कोरोना भाइरसबाट सङ्क्रमित बनेका छन् भने ७ लाख ३५ हजारले ज्यान गुमाइसकेको आँकडा छ । कोरोनाविरुद्ध संसार नै युद्धरत छ तर अदृश्य भाइरस हाबी भइदिँदा विश्वका मै हुँ भन्ने मुलुकहरू पनि त्राहीमाम बनेका छन् । संसारका प्रत्येक समुदायमा पुगेको यस भाइरसको सङ्क्रमणले सबै ठाउँका मानिसहरूलाई गम्भीर असर गरेको छ । मानव–स्वास्थ्यको हिसाबले मात्र नभई यसले आर्थिक, सामाजिक, सांस्कृतिक हरेक कोणबाट प्रहार गरेको छ, जसले विश्वलाई नै शिथिल तुल्याएको महसूस गरिएको छ । यसरी दुनियाँलाई नै स्तब्ध तुल्याउने सामथ्र्य बोकेको भाइरसको चपेटबाट नेपालजस्तो ‘निरिह’ मुलुक अछुतो रहने सवाल नै रहेन ।

कोरोनाले विश्वका कैयन मुलुकमा आफ्नो दबदबा कायम गरिसक्दा पनि निकै पछिसम्म नेपालचाहिँ ‘अछुतो’ जस्तै देखियो । त्यसको खास कारण थियो– सीमा नाकाहरू बन्द थिए, विदेशमा रोजगारी गरिरहेका नेपाली स्वदेश फिर्ता हुन बाध्य भइसकेका थिएनन्, खासगरी सबैभन्दा नजिकको छिमेकी मुलुक भारतबाट खहरे बाढीझैँ नेपालीहरू देश भित्रिने परिस्थिति बन्ला र यसरी स्वदेश भित्रिएका नागरिकको सीमाक्षेत्रमै स्वास्थ्य परीक्षण, क्वारेन्टिनको व्यवस्थापन जस्ता अपरिहार्य जिम्मेवारीमा राज्य चुक्ला भन्ने कतैबाट सोचिएको थिएन । त्यतिबेलाको ‘सहजता’लाई ‘दैवी देन’ ठानेर प्रधानमन्त्रीले कोरोना भाइरस र यसबाट बच्ने सवालमा निकै हल्काफुल्का अभिव्यक्ति दिन पुगे । बेसार–पानी तताएर सेवन गर्ने, ब्यायाम गर्ने, मनोबल उच्च राख्ने सुझावसँगै प्रधानमन्त्रीले यतिसम्म भन्न भ्याए कि ‘कोरोना नाथेले नेपालीलाई छुन सक्दैन’ ।

प्रधानमन्त्रीको अभिव्यक्ति आफैमा सकारात्मक हुँदाहुँदै पनि कोरोना भाइरसको नौलो तथा खतर्नाक प्रकृति–प्रवृत्तिका कारण यसको महामारीलाई त्यति हचुवा किसिमबाट आँकलन गर्नु उचित थिएन । देशकै कार्यकारी प्रमुखले ढुक्कको अभिव्यक्ति दिएपछि आम तप्काका नागरिकलाई त ढाडस पुग्यो नै होला कि कोरोनाले नेपालमा खासै दुष्प्रभाव पार्ने हैसियत राख्दैन ! अथवा, कुनै तयारी नगरी अवान्छित क्रियाकलापमा मग्न देखिएको सरकारले कतै सङ्कट नै आइलागेमा त्यसबाट पार लाग्न भित्रभित्रै कुनै राम्रै तयारी पो गरेको छ कि भन्ने प्रकारको भ्रम पनि पैदा गरायो सिधासाधा जनतामा । तर, यथार्थ त्यस्तो पटक्कै थिएन, र त परिस्थिति सोचेभन्दा फरक दिशातर्फ मोडिँदै गरेको अनुभूति गरिँदै छ ।

अर्थात्, कोरोनाको प्रकोप नदेखिँदा ठप्प तुल्याइएका सीमा नाका र बन्दाबन्दीको अत्यासलाग्दो प्रयोग आज कोरोना फैलँदा ह्वाङ्ग खुला गरिएको छ । बन्दाबन्दीलाई ‘लुज’ र ‘टाइट’ गर्ने सरकारको रणनीति पनि महामारी नियन्त्रणका निम्ति नभई केवल सत्ताको बचाओटका लागि त होइन भन्ने सघन सवाल यतिबेला हरेक सचेतजनको मनमा पैदा हुन पुगेको छ । सरकारले नजानेर नभई सुनियोजित रूपमै ‘लकडाउन’, ‘लुजडाउन’ र ‘सर्टडाउन’ रणनीति अख्तियार गरिरहेको लख काटिँदै छ । यसबाट कोरोनाको कहर भने झन्–झन् चर्किने निश्चितजस्तै देखिएको छ ।

डब्लुएचओका शीर्ष अधिकारीहरू नै भनिरहेका छन् कि कोरोनाको महामारी झन् बढ्दो क्रममा रहेको छ, अवस्था गहन र गम्भीर नै छ र वास्तवमा हामी महामारीको मध्यमा नै छौँ । अनुसन्धानकर्ताहरूको अनेक समूह कोरोना भाइरसविरुद्धको भ्याक्सिन पत्ता लगाउन अनवरत काम गरिरहेका छन्, तर वैज्ञानिकहरू कुनै चलचित्रका नायक नभएकाले रातारात भ्याक्सिन पैदा हुन सक्ने कुरा मिठो भ्रम मात्र ठान्नुपर्ने प्रष्टोक्ति डब्लुएचओका हर्ताकर्ताहरूको रहेबाट भ्याक्सिन तयार भएका या हुनै लागेका भन्ने चर्चाहरू फगत दृष्टिविहीनहरूले हात्ती छामेर अनेक अनुमान लगाएजस्तो हो नभनी धरै छैन ।

यस परिवेशमा एकाएक नेपालमा बढेर भएको महामारीले जनजीवन चार महिनाअघि भन्दा पनि अत्तालिने अवस्थामा पुगेको छ । त्यतिबेला नबुझेर आत्तिएको नेपाली समाज अब कोरोनाको प्रकृति र सरकारको चालढाल सबै बुझेर आत्तिन पुगेको बुझ्न धेरै माथापच्ची गरिरहनु पर्दैन । तर, दुःखदाश्चर्य चाहिँ यो छ कि विश्वका शक्तिसाली र सम्पन्न मुलुकहरूमा समेत लापर्वाहीका कारण कोरोनाले पु¥याएको क्षति देखेका, सुनेका या जानेका नेपालीहरू आफ्नो घर–आँगनमै कोरोना भाइरसले अट्टहास गर्न थालिसक्दा पनि सावधानी अपनाउने मामलामा चुकिरहेका छन् । सरकारले आफ्नो ठाउँबाट पूरा गर्नुपर्ने दायित्व नगरिरहेको अवस्थामा नागरिक स्वयम्को जिम्मेवारी झन् बढ्न पुगेको छ । आफ्नो जीवन जोगाउन आफैं सजग हुनुपर्ने बाध्यता खडा भएको बेला नागरिकमा लापर्वाही बढेको महसुस गरिनु दुर्भाग्यपूर्ण छ । कोरोनाको महामारीबाट बच्न अवलम्बन गर्नुपर्ने मूलभुत उपायहरू प्रयोगमा ल्याउने चेत सबैमा जागृत होस्, यो नै आजको आवश्यकता हो ।