सासुसँग तिज मान्ने रहर गर्दा…

सासुसँग तिज मान्ने रहर गर्दा…


■ सुन्दर शर्मा

गत साल भाद्र महिना तिजपछि एकदिन पशुपतिनाथको दर्शन गरेर फर्कंदै थिएँ, ढोकैनेर कसैले च्याप्प पछिल्तिरबाट समायो । झसङ्ग हुँदै फर्केर हेर्दा मेरी मिल्ने साथी निर्मला रहिछन् । म अप्रत्यासित रूपमा जिल्ल परेर साथीलार्ई हेरेको हेऱ्यै भएँ । जिल्ल पर्नुको कारण थियो– एघार वर्षपछिको भेट !

निकै समयपछि भेट हुँदा हामी दुवै खुशीले गदगद थियौँ । ‘तिमीलार्ई मिल्छ भने कतै बसेर भलाकुसारी गरौँ न केहीबेर’ भन्दै उसले गफ गर्ने मनसाय ब्यक्त गरिन् । मलार्ई पनि त्यो दिन केही फुर्सद नै थियो । त्यसैले हामी पशुपतिको माथिल्लो तर्फको हरियो दुबोमा बसेर मिहीन तरिकाले गफिन थाल्यौँ । आ–आफ्नो बारेमा सविस्तार खुलेर गफ गर्न थाल्यौँ ।

म यो लेखनीमा निर्मलालार्ई बिझेका केही घटनाको वर्णन गर्ने जमर्को गर्दैछु । साथी निर्मलाले भोगेका कुराहरू उनकै वाक्यमा यहाँ प्रस्तुत गर्दैछु ।

निर्मलाले सविस्तार सुनाइन्–

‘हेर साथी, मास्टर्स सकेपछि मेरो विवाह ०५४ सालमा गुल्मीनिवासी शाखा अधिकृतसँँग भयो । विवाहपश्चात् काठमाडौंमा हामी बुढाबुढीका साथै दुई नन्द र दुई देवर पनि एकसाथ बस्थ्यौँ । मेरा श्रीमान् घरको माइलो छोरा हुनुहुँदोरहेछ । ठुलो दाजु नभएको अवस्था रहेछ । मैले ती देवर र नन्दलार्ई छोराछोरीसरह शिक्षा–दीक्षामा कुनै कसर बाँकी नराखी सम्पन्न गराउने काम गरेँ । चारै जनाको विवाह पनि कोठाबाट हामी दाजु–भाउजुले नै सम्पन्न गरायौँ । केही समयमा बडो कष्टले वानेश्वरमा दुई तलाको घर बनाएका छौँ । श्रीमान् पनि अहिले राम्रै ठाउँमा पुग्नुभा’को छ भने म पनि उपसचिवसम्म भा’की छु । दुई छोरा छन् । श्रीमान् अलिक रोगी हुनुहुन्छ । उपचारमै हाम्रो आम्दानीको ठूलो हिस्सा खर्छ हुन्छ । बच्चाको पढाई अझै सकिएको छैन, त्यसका लागि पनि खर्छ नै छ ।’

‘आफुले छोराछोरीसरह हुर्काएका देवर–नन्दहरू अहिले हामीभन्दा धेरै माथिल्लो पदमा पुगेका छन् र आर्थिक अवस्था पनि बलियो छ । तर उनीहरू दाजु–भाउजुले गर्दा आज हामी यो स्थानमा छौँ भन्ने सोच्नसम्म पनि चाहँदैनन् । हामी यस्तै अवस्थामा आकाशबाट फुत्त झरेका हौँ भन्ने जस्तो सोच छ उनीहरूको ।’

बोल्दै गर्दा निर्मलाको आँखा रसाइरहेको प्रष्ट देखिन्थ्यो । उनको चित्तदुःखाइ केमा रहेछ भने त्यस्तो दुःखको बेलामा पनि झर्को नमानी भाइ–बहिनीको लागि खर्च गरेको दाजुलार्ई यो बिमारीको अवस्थामा पनि ती भाइ–बहिनीले वास्तै गर्दा रहेनछन् । एक कल फोनसम्म पनि गर्न आवश्यक ठान्दैन रहेछन् उनीहरू । यति भन्दै रुन्चेहाँसो हाँसिरही मेरी साथी ।

फेरि मैले कुरा झिकेँ– ‘तिज यतै मान्यौ कि माइती गयौ ?’

उनी फेरि बोल्न सुरु गरिन् ।

‘हेर साथी, आमा मेरो बिहे हुँदा नै हुनुहुन्थेन । बुबा पनि ६ वर्ष भयो बितेको । माइतीमा दाजु–भाउजू हुनुहुन्छ । मेरा आमा–बुबा जस्तै हो उहाँहरू । तिज भाउजुसँग नै मनाउँथे सधैं । यो साल मलार्ई कसो–कसो सासुसँग तिज मान्ने हुटहुटी भयो । नन्दहरू पनि बिहे भएदेखि आमासँग तिज मान्न पाएका थिएनन् । उनीहरूलार्ई पनि आमासँग तिज मान्न गाउँ जाउँ भनी कर गरेँ । तर नन्दहरू जानै नमान्ने । ह्या.. यो वर्षामा हिलोबाटो के गाउँ जानु है भाउजू ? नजाने हामी त.. भन्न थाले । मैले उनीहरूलार्ई हर तरहले सम्झाउने कोसिस गरेँ । आमा बुढि हुनुभा’को छ, यो साल आमासँग तिज मनाउँदा कति खुशी हुनुहोला सोच्नु त ! अहिले हामी तीनै जना जसरी पनि गाउँमा आमासँग तिज मनाउने भन्दै कन्भिन्स गरेँ । अन्ततः दर खाने अघिल्लो दिन हामी तीन जना गुल्मीतिर प्रस्थान गऱ्यौँ । अझै पनि नन्दहरूलार्ई गाउँ जान मन लागेको थिएन । उनीहरू भन्दै थिए– अरु तिजमा माइती जान्छन् हाम्री भाउजुलार्ई के उल्टो गर्नु परेको होला ?.. यसरी खिसी गर्दै थिए । म पनि ऊनीहरूलाई यथार्थ कुरा बताउँदै गएँ । तिम्रो ठूलो भाउजू जहिल्यै दरको अघिल्लोदिन नै माइती गैहाल्ने । चाडमा बाबु–आमा सधैं एक्लै । गाउँका चेली सबै माइती आउँदा तिम्रा बाबुआमाले पनि त छोरी सम्झँदा हुन् । ती आमाको मन पनि त रुँदोहोला नि । त्यतातिर तिमी छोरीहरूले कहिल्यै सोचेका छौ ? तिमीहरूलाई आफू जन्मेको गाउँ–ठाउँ अहिले दुर्गम लाग्यो होइन ? भन्दै गाली गर्दै र सम्झाउँदै बाटो काटियो । दिनभरिको यात्रामा रमाइला गफसफ, अर्ती–उपदेश.. यस्तै गर्दागर्दै बेलुका घर पुगियो । घर पुग्दा सासु–ससुरा टुक्रुक्क पेटीमा बसेका । हामीलार्ई देखेर उहाँहरू कति खुशी हुनुभयो त्यो वर्णन गर्न म सक्दिनँ साथी । मलार्ई पनि माइती गएको भन्दा बढी खुशी महसुस भयो । तर, साथी त्यो खुशी २ घन्टा पनि टिकेन । किन टिकेन म भन्छु … ।’

‘म दिनभरिको यात्रामा आफैं गाडी चलाएर घर पुगेकी थिएँ । घर पुगेको केही बेरमा नै छोरी र बुहारीलार्ई गर्ने व्यवहार छुट्टीहाल्यो । म छिटो–छिटो कपडा फेरेर भान्सातिर लागेँ । मैले नै माइती जान कर गरेर लगेका नन्दहरू खुट्टा पसारेर आराम गरे । पँधेराबाट पानी ओसारेर खाना तयार गर्न थालेँ हतार–हतार । नन्दहरूको ज्यानलाई थकाइ लाग्दा मेरो ज्यानले भ्याइनभ्याई काम सकाउनु पऱ्यो । खाना बन्दै थियो, सासुआमाले ‘पाक्दै गरेको तर्कारी ल्याइदेउ नानीहरू खाँदै गर्छन्’ भन्छिन् । पल्लो छिमेकीको घरबाट तीन माना दुध ल्याउन भनेकी थिएँ । सासुआमा आदेश दिन्छिन्– छिटो दुध तताएर नानीहरूलाई गिलासमा ल्याइदेउ, भोकाए क्या ! खाना पाकिसक्ने बेला चिचिन्डो ल्यायर पकाउन भन्छिन् सासु, उनका छोरीलाई औधी मनपर्छ रे ! हे भगवान !! सँगै काठमाडौंबाट हिँडेका हामी तीन जना, सासुका छोरीचाहिँ थाक्ने–भोकाउने अनि मलार्ईचाहिँ केही नहुने ? कस्तो सोच ?! कस्तो भिन्नता छोरी र बुहारीमा ? यस्तै–यस्तै ब्यवहारले गर्दा रहेछ जेठानी चाडबाडमा कहिले घर नबस्ने भन्ने बल्ल थाहा पाएँ । आमा त आमा भइन्। तर छोरीको बुद्धि पनि कस्तो ? सँगै आएकी भाउजुलाई पनि गाह्रो भा’को होला, सघाउनु पर्छ भन्ने सरल जानकारी पनि न’भाको ।

भोलिपल्ट दर खाने दिन । यो दिनभरी म ब्यस्त भएँ । सासु र नन्दहरू गाउँतिर (ठुलो बुबा सानो बुबा) भेटघाट गर्न भनी निस्किए । भेटघाट गर्न त मलार्ई पनि मन थियो । गाउँमा मलार्ई पनि निकै माया गर्छन् । तर म घरको कामले निस्कन पाइनँ । भोलिपल्ट तिज । तिजको दिन म त शुद्ध ब्रत बस्ने सधैं । मेरा नन्द भनाउँदाहरू भन्दै थिए– भाउजू हामी त खाना नखाइ बस्नै सक्दैनौँ, मीठो खाना बनाइदिनु न । सासुले कतैबाट तामाको मुना ल्याइन् र भुटेर पकाउन आदेश दिइन् । हेर त साथी म ब्रत बस्ने मानिसले ब्रत नबस्नेलाई भात–भान्सो गरिदिनु पर्ने । बुहारी भनेर हेपेका त होलान् नि है ! मलार्ई बहुत रुन मन लाग्यो साथी हाम्रो सामाजिक संस्कार देखेर । मेरा नन्दहरू मास्टर्स पास गरेका छन् । म पनि मास्टर्स गरी उपसचिव भैसकेकी नारीलाई त यस्तो भेदभाव ब्यहोर्नुपर्छ भने अनपढ २ पैसा कमाउन नसक्ने बुहारीलार्ई झन् यो समाजले, कसरी र कस्तो व्यबहार गर्छ होला भन्ने सोच्न बाध्य बनायो मैले भोगेको ब्यथाले । तिज मानेर फर्कने बेलामा पनि छोरी र बुहारीलार्ई भिन्नता गरियो सासुबाट । काठमाडौंबाट जुन उमङ्ग बोकेर सासुसँग तिज माान्न हिँडेकी थिएँ, फर्कदा मन गह्रौँ बनाइ दुःखी हुनुपऱ्यो । घरमा आइ बुढालार्ई सविस्तार वर्णन गरेँ । बुढो भन्दै हुनुहुन्थ्यो– ‘नजाउ, तिमीलाई नै दुःख हुन्छ भनेकै हो । फेरि तिजमा कुनचाहिँ बुहारी सासुसँग तिज मान्न भनेर घर जान्छन् होला र ? तिमी नै उस्तै । समाजमा अझै बोल्ने र गर्ने बेग्लाबेग्लै परम्परा छ । तिमी चित्त नदुखाउ भन्दै सम्झाउनुभयो । साथी अझै पनि सासुले छोरी र मलार्ई गरेको भिन्नता सम्झी–सम्झी मन दुख्छ । समाजमा जे चलेको छ त्यही गर्नुपर्दोरहेछ । म अलि भिन्न बनी आमालाई जस्तै सासुलाई माया दिन खोज्दा अनाहकमा टाउको दुखाउनु पऱ्यो । चाडबाडमा बच्चा र बुढोलाई एक्लै छोडेर के–के न सासुको मायाले तिज मान्न गा’की ! म अब तिजमा कहिल्यै घर जाने छैन भनी कसम खाएर फर्कनु पऱ्यो । त्योे तिज मेरो लागि जीवनभर अविष्मरणीय बन्यो गुनासोसहित ।’

यसरी आफ्नो अनुभव सेयर गर्दै साथीले लामो सास फेरिन् ।

यो लेख्नुको तात्पर्य–

निर्मला र मेरो भेटमा विविध विषयमा कुराकानी भएको थियो । पढाइ, बिहे, श्रीमान्, बच्चा, आ–आफ्नो करिअर, भावी योजना आदि सन्दर्भमा हामीले कुराकानी गरेका थियौँ । उसका भोगाइका कथाहरूमा मलार्ई यी कुराहरूले अलिक दुःखी बनायो त्यसैले जनचेतनाको लागि मेरो अनुभूति प्रस्तुत गरेको मात्र हुँ । निर्मलाका नन्दहरू त तिजमा गाउँको माइती जान चाहेकै थिएनन्, भाउजुको करबलले मात्र गएका हुन । निर्मला आफ्नी सासु सधैं तिजको बेला एक्लै भइन् भनेर मायाले घर गएकी थिइन् । बदलामा उसले कति अवहेलना सहनुपऱ्यो ! ती सासुआमाले छोरीलाई जस्तै माया र व्यवहार बुहारीलार्ई पनि गरिदिएको भए उनी कति खुशी भएर फर्कने थिइन् । र, अर्को सालमा पनि कसैगरी सासुलाई साथ दिन तिजमा घर पुग्ने थिइन् । यस्तै व्यवहारले रहेछ जेठानी दिदी तिजमा कहिल्यै घरमा नबस्ने भन्ने कुरा पनि निर्मलाले छर्लङ्ग बुझिन् ।

हुन त मानिस कति सजिलै बुहारीलार्ई हरेक कुरामा दोषी देख्छन्, तर ‘सासु’हरू आफ्ना बुहारीलार्ई कहिल्यै पनि छोरीलार्ई झैँ माया र व्यवहार गर्न कन्जुस्याइँ गर्छन् । अनि कसरी पग्लन्छ बुहारीको मन ?!

तिज नजिकिँदै छ । सबै चेली र सासुहरूलाई विनम्र अनुरोध छ कि निर्मलालाई जस्तो भेदभावपूर्ण व्यवहार नगरिदिनुहोला है ! हिन्दु धर्मप्रति आस्था राख्ने सबै दिदी–बहिनीलार्ई तिजको मौलिक शुभकामना.. !!