धादिङका एक पुरुषमा मृत्युपश्चात कोरोना पुष्टि

धादिङका एक पुरुषमा मृत्युपश्चात कोरोना पुष्टि


विकास रौनियार, धादिङ

श्वासप्रश्वासमा समस्या आएपछि काठमाडौंको धुम्वाराहीस्थित ह्याम्स अस्पतालमा उपचार गराउँदा गराउँदै मृत्यु भएका धादिङका एक पुरुषमा मृत्युपश्चात कोरोना पुष्टि भएको छ ।

निलकण्ठ नगरपालिका–१४ का एक पुरुषको मंगलबार ४ बजे ह्याम्स अस्पतालमा मृत्यु भएको थियो । धादिङवेशी काठमाडौं रुटमा गाडी चलाउने ती व्यक्ति लकडाउन भएर सवारीसाधन नचलेपछि गाउँमा नै रहेका थिए।

उनको मंगलवार ४ बजे मृत्यु भएको र मृत्युपश्चात गरिएको कोरानाको परिक्षण रिपोर्ट पोजिटिभ आएको हो । रिपोर्ट पोजिटिभ देखिएका कारण उनको शव अस्पतालले सेनाको जिम्मा लगाउने तयारी गरेको परिवारले जानकारी दिए ।

गाउँमै रहँदा निमोनियाको शंका लागेपछि सोमबार बिहान उपचार गराउन उनी जिल्ला अस्पताल धादिङवेशी आएका थिए । जिल्ला अस्पताल धादिङवेशीमा प्रारम्भिक उपचार र एक्सरे गर्दा फोक्सोमा गम्भीर समस्या देखिएपछि जिल्ला अस्पताल धादिङवेशीले थप उपचारको लागि काठमाडौं रिफर गरेको थियो।