पाकिस्तानी खेलाडीको रिपोर्ट ‘पोजेटिभ’, जितेको पदक खोसियो

पाकिस्तानी खेलाडीको रिपोर्ट ‘पोजेटिभ’, जितेको पदक खोसियो


हालै नेपालमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा सहभागी तीन जना पाकिस्तानी खेलाडीको रिपोर्ट ‘पोजेटिभ’ आएको छ । ‘पोजेटिभ’ रिपोर्ट आउने खेलाडीहरूमा सामी उल्लाह, मोहम्मद नीम र मेहबुब अली रहेका छन् । यी तीनै जना पाकिस्तानी टोलीका एथलेटिक्सका खेलाडी हुन् ।

वाडाको रिपोर्टअनुसार तीन जना पाकिस्तानी एथलेटिक्स खेलाडीको रिपोर्ट पोजेटिभ आएको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बुधबार (२८ साउन) जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

डिसेम्बर १ देखि १० तारिखसम्म नेपालको काठमाडौं, पोखरा र जनकपुरमा आयोजना सम्पन्न १३औँ सागमा वर्ल्ड एन्टीडोपिङ एजेन्सीको नियमअनुसार सहभागी भएका खेलाडीहरूको इन कम्पिटीसन डोपिङ कन्ट्रोल टेष्ट गरिएको थियो । उक्त संकलन गरिएको युरिन सेम्पल वाडाबाट मान्यताप्राप्त कतारको राजधानी दोहास्थित एन्टीडोपिङ ल्याबमा प्रशिक्षणको लागि पठाइएको थियो ।

पोजिटिभ रिपोर्ट आएका सामी उल्लाहले १०० मीटर स्प्रीन्टमा काँश्य, मोहम्मद नीमले १०० मीटर हर्डल्समा स्वर्ण र मेहबुब अलीले ४०० मीटर हर्डल्समा स्वर्ण पदक जितेका थिए ।

यी तीन जना खेलाडीको रिपोर्ट पोजेटिभ आएपछि वर्ल्ड डोपिङको नियमअनुसार तीनै जना खेलाडीलाई सोको जानकारी गराइएको थियो । साथै बी सेम्पल टेष्ट गर्न चाहेमा उक्त ल्याबमा सम्पर्क गर्न व्यवस्था समेत मिलाइएको थियो ।

तर पोजेटिभ रिपोर्ट आएका तीन जनामध्ये मोहम्मद र मेहबुबले मात्रै बी सेम्पल टेष्ट गराएका थिए । दुवै खेलाडीको बी सेम्पल टेष्टको रिपोर्ट पुनः पोजेटिभ आएपछि उक्त रिपोर्टलाई खेलाडीहरूले स्वीकारेका थिए ।

यी तीनै जना खेलाडीको रिपोर्ट पोजेटिभ आएपछि वर्ल्ड एन्टीडोपिङ कोड २०१५ को धारा १०.८, १०.२.१ र साउथ एसिया ओलम्पिक काउन्सिल एन्टीडोपिङको नियमको धारा ७.११ अनुसार सन् २०१९ डिसेम्बर ३ तारिखदेखि सन् २०२३ डिसेम्बर २ तारिखसम्मको लागि निलम्बन गरिएको छ । साथै तीनै जनाले प्राप्त गरेको पदक खोसिएको छ ।