उसुकी उत्कृष्ट कीर्तिमानी फाइटर

उसुकी उत्कृष्ट कीर्तिमानी फाइटर


■ श्रीविक्रम भण्डारी

सानो छँदा खुबै दौडिन्थिन् उनी, खेलाडी बन्ने छनक त्यसैबेला देखाइसकेकी थिइन् । भविष्यको सपना खासै केही थिएन, थियो त एउटै सपना– ‘विद्यालय जाने, लेखपढ गर्ने ।’ समयसँगै उनको जीवन पनि सरल र सहज ढङ्गमा चलिरहेको थियो । साथमा जे थियो त्यसैमा खुशी थिइन् र त्यसैमा रमाइरहेकी थिइन् । बुबा–आमाको साथ, भाइ–बहिनीको माया ! उनी साँच्चिकै भाग्यमानी थिइन् । जेठी छोरी हुनाले परिवारमा उनको बेग्लै शान र बर्चश्व थियो, सबैले औधी माया पनि गर्थे । समयको चक्र चल्दै थियो, अचानक उनीमाथि ठूलो बज्रपात पऱ्यो । उनी केवल १३ वर्षको हुँदा आमा निरमाया राईको निधन भयो । घटना क्रम सबै कल्पनाभन्दा बाहिरको थियो, र पनि उनले आत्मसात गर्नुको विकल्प थिएन । त्यसपछि उनी अर्थात् चर्चित अन्तर्राष्ट्रिय उसु खेलाडी ‘जुनी राई’को सङ्घर्षका दिन आरम्भ भए, जो कुनै सिनेमाको पटकथा भन्दा कम छैन ।

१४ वर्षको उमेर कुनै परिपक्व वा दुरदर्शी निर्णय गर्न सक्ने उमेर थिएन जुनीको, तैपनि उनले आँट देखाइन् । आफ्नो प्यारो गाउँ फत्तेजुङ (इलाम) छोड्ने निर्णय गरिन् । आफूसँगै भाइ–बहिनीको भविष्य पनि गाँसिएकोले विर्तामोड (झापा)मा रहँदै आएका काका चन्द्रबहादुर राईको घर उनको रोजाइमा प¥यो । त्यतिबेला जुनी सात कक्षामा अध्ययनरत थिइन् । एउटा ढोका बन्द भए अर्को खुल्छ भनेझैँ काकाबाट प्राप्त अभिभावकत्व जुनीका लागि कुनै बरदान भन्दा कम भएन । विद्यालयदेखि ‘प्लस टु’सम्मको अध्ययन काकाकै घरमा बसेर गरेकी जुनी त्यसपछि मात्रै खेलकुदमा होमिएकी थिइन् । यो उनको जीवनको दोश्रो टर्निङ प्वाइन्ट थियो ।

२० वर्षको उमेरमा खेलकुदमा प्रवेश गरेकी जुनीले खेलाडी बन्छु भनेर खेलकुदमा प्रवेश गरेकी होइनन् । सेल्फ डिफेन्स (आत्मसुरक्षा) को लागि प्रशिक्षण गर्दैगर्दा मनमा खेलाडी बन्ने चाहना पलाएपछि उनले खेलकुदको बाटो रोजेकी थिइन् । खेलाडी बन्नुअघि करातेको नाम मात्र सुनेकी जुनीले उसु खेललाई रोज्नुको कुनै विशेष कारण थिएन । प्रशिक्षणको क्रममा उसुसँगको जम्काभेट नै जुनीको खेलकुदमा प्रवेशको पाटो बन्यो । प्रशिक्षणका क्रममा उसुका विभिन्न विधाबाट प्रभावित जुनीले यही खेलबाट आफ्नो भविष्य देखिन् । परिणामतः उनको लागि मार्गदर्शकको भूमिकामा देखापरे विर्तामोडका उसु–प्रशिक्षक धनश्याम गुरुङ । गुरुङले २०६९ सालदेखि जुनीलाई उसुको प्रशिक्षण गराउँदै उनको प्रतिभालाई तिखार्ने कार्य गरे ।

‘हुने विरुवाको चिल्लो पात’ भनेझंँ जुनीले पनि उसुमा निकै पसिना बगाइन्, रगत सुकाइन् । जस्तोसुकै विषम परिस्थितिमा पनि हिम्मतचाहिँ हारिनन् । ‘राष्ट्रिय खेलाडी’ बन्ने उद्देश्यका साथ दिनरात मेहनत गरिन् । ६ महिनाको अथक मेहनतपछि पहिलोपटक राष्ट्रिय खेलकुदको लागि पूर्वाञ्चलबाट जिल्ला छनोट खेलिन् । ‘मेहनतको फल मीठो’ भन्ने उक्तिलाई यथार्थमा बदल्दै जुनी पहिलो सहभागितामै पहिलो स्थान प्राप्त गरिन् । यसपछि हौसिएकी जुनीले क्षेत्रिय छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै २०६८ सालमा सुदुर पश्चिमाञ्चलमा आयोजना भएको छैठौँ राष्ट्रिय खेलकुदको लागि आफ्नो दाबेदारी प्रस्तुत गरेकी थिइन् । जुन खेलकुदमा उत्रिएपछि जुनीले चढेको सबैभन्दा ठूलो खुड्किलो थियो । ५६ केजी तौल समुहमा प्रतिस्पर्धा गरेकी जुनीले राष्ट्रिय खेलकुदमा आफ्नो पहिलो सहभागितामै फाइनलसम्मको यात्रा तय गरेर आफूलाई उसुको उदीयमान खेलाडीको रुपमा प्रस्तुत गरिन् । यसरी राष्ट्रिय खेलकुदमा पहिलो सहभागितामै दोश्रो स्थान प्राप्त गरेकी जुनीले त्यसपछि पहिलो हुने दृढ सङ्कल्पका साथ आफ्नो खेललाई निरन्तरता दिइन् । जसलाई उनले अहिले सत्यताको साँचोमा ढाल्न सफल भएकी छिन् ।

समय बलवान हुन्छ, कतिबेला कोमाथि दयावान हुन्छ कसैलाई अत्तोेपत्तो हुँदैन । जुनीको जीवनमा पनि समय दयावान भयो, उनको जीवनलाई ‘यु’ टर्न गरिदियो । धेरथोर आशा थियो तर विश्वास भने थिएन जुनीलाई । तर नसोचेको खबर आयो, जुनीको राजधानी काठमाडौं जाने निश्चित भयो । यो उनको तेस्रो टर्निङ प्वाइन्ट थियो ।

राष्ट्रिय प्रतियोगितामा पहिलो र दोश्रो स्थान हासिल गर्ने खेलाडीलाई प्रशिक्षण शिविरमा राख्न नेपाल उसु सङ्घले बोलाएको थियो । जुनी दङ्ग थिइन्, यसर्थमा कि उनलाई आफ्नो लक्ष्यमा पुग्ने अवसर प्राप्त भएको थियो । तीन महिना राजधानीमा चाइनिज गुरुसँग प्रशिक्षण लिँदा जुनीको खेलस्तरमा निकै सुधार भयो । मानौँ जे कुराको जुनीले सपना देखेकी थिइन् त्यो पूरा भएको थियो । त्यसपछि राजधानीमै प्रशिक्षण गर्ने र खेलमा सहभागिता दिँदै आइन् । तर अनजान ठाउँमा एउटा खेलाडीलाई बाँच्न त्यति सजिलो थिएन । त्यसैले होस्टेलमा बस्ने जुनी होस्टेलमै वार्डेनको रूपमा काम गर्न थालिन् । जसले उनलाई राजधानीमा बाँच्न र टिक्न सहज बनायो । यसको लागि उसु प्रशिक्षक श्याम तामाङले उनलाई विशेष सहयोग गरेका थिए । राजधानीको बसाइको क्रममा जुनीले आर्मीको अमलदार कर्मचारी (कम्प्युटर शाखा)मा आवेदन दिँदा उनी खेलाडीको रूपमा नभइ खुला रूपमा आफ्नो नाम निकाल्न सफल भएकी थिइन् । आर्मीमा नाम निकालेपछि जुनीको व्यक्तिगत तथा खेल जीवन सुनिश्चित भयो । आर्मीबाटै उनी उसुका प्रतियोगितामा प्रतिस्पर्धा गर्न थालिन् ।

२०७० सालमा काठमाडौंमा आयोजना भएको नवौँ राष्ट्रिय उसु प्रतियोगिता जुनीको लागि सुन्दर बिहानीको रूपमा देखाप¥यो । उक्त प्रतियोगितामा ५२ केजी तौल समुहमा प्रतिस्पर्धा गरेकी जुनीले प्रथम स्थान हासिल गरिन् । आफ्नो मेहनतले रङ्ग देखाउँदा जुनी निकै प्रशन्न थिइन् । यसर्थमा कि उनले पहिलोपटक राष्ट्रिय प्रतियोगितामा स्वर्णपदक जितेकी थिइन् । यसपछि निरन्तर रूपमा राष्ट्रिय टिममा पर्न सफल जुनीको आत्मविश्वासमा गजबको परिवर्तन आयो । राष्ट्रिय मात्र नभै अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्ने विश्वास पलायो । जसको लागि उनले दिनरात गरेको मेहनतले पनि यो कुरालाई पुष्टि गर्छ । जुनी राष्ट्रिय टिममा परेपछि उनको प्रतिभामा निखार्ने कार्य प्रशिक्षक रामगोपाल महर्जन र गणेश अर्यालले गरेका थिए ।

समय चल्दै गयो, जुनीलाई सफलताले पनि चुम्दै गयो । राखेपको आयोजनामा धरानमा भएको लुम्बिनी च्याम्पियनसीपमा आर्मीबाट सहभागिता जनाएकी जुनीले ५६ केजीमा स्वर्ण जितिन् । त्यसको केही महिनापछि आयोजना भएको राखेप च्याम्पियनसीपमा ५६ केजीमा जुनीलाई सफलता मिल्यो । उसुमा एकपछि अर्को सफलता हासिल गर्दै गएकी जुनीलाई वास्तविक सफलता भने विराटनगरमा आयोजना भएको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्राप्त भयो । उनले पहिलोपटक राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्न सफल भइन् । यो जुनीको लागि निकै गौरव र खुशीको कुरा थियो, किनकि उनले छैठौँमा गरेको प्रतिबद्धता सातौँमा पूरा गरेकी थिइन् ।

क्रमिक रूपमा जुनीको जीवनले कोल्टे फेर्दै सफलतामाथि सफलता प्राप्त गरिरहेको थियो । उनले मन चिताएको सबै एकपछि अर्को गरी पूरा भैरहेका थिए । यस्तोमा जुनीले प्रहरी सहायक निरीक्षकमा खुला फाइट गरिन्, त्यहाँ पनि उनले आफ्नो नाम निकाल्न सफल भइन् । त्यसपछि आर्मीको जागिर छोडेर २०७२ सालदेखि पुलिसमा ज्वाइन गरिन् । त्यसपछि उनले आफ्नो खेलकुदको भविष्यको बारेमा फर्केर हेर्नु परेको छैन । दिन–प्रतिदिन पुलिससँगको सम्बन्धमा गाढापन आएको छ । उनी पुलिसमा उसुको प्रशिक्षण गराउने हर्ताकर्ता नै बनेकी छिन् । राष्ट्रिय टिममा नहुँदा बाहेक प्रायः अरु बेला जुनीले पुलिस टिमलाई प्रशिक्षण गराइरहेकी छिन् । जुनी भन्छिन्– ‘पुलिस टिम उसुमा सबैभन्दा कान्छो विभागीय टिम हो, कान्छो टिम भएर पनि छोटो समयमा पनि पुलिसले ठूलो प्रगति गरेको छ यतिबेला । साग र एसियन गेम खेल्ने स्तरका खेलाडीको उत्पादन गर्न सफल भएको छ । साथै राष्ट्रिय स्तरमा ग्रुपमा तेस्रो स्थान बनाइसकेको छ ।’

भारतको गुवाहटी र सिलोङमा आयोजना भएको १२औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को छनोटको लागि जुनीले पुलिस टिमबाटै प्रतिस्पर्धा गरेकी थिइन् । ६० केजीमा प्रतिस्पर्धा गरेकी जुनीले छनोट चरणमा पहिलो स्थान हात पार्दै सागको लागि छनोट भइन् । १२औँ साग जुनीको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो पहिलो सहभागितामै जुनीले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरिन् । दुर्भाग्य, फाइनल उनले सोचेअनुरुप भएन, उनले दोश्रो स्थानमै चित्त बुझाउनु पऱ्यो । सागमा रजत पदक जितेपछिको सन्दर्भमा जुनीले भनिन्– ‘ज्यादै नरमाइलो लाग्यो, लक्ष्य त स्वर्ण पदक जित्ने थियो तर भाग्यले साथ दिएन, भारतको खेलाडी मभन्दा निकै उत्कृष्ट र अनुभवी थियो । स्वर्ण पदक जित्न नसक्दा खुशी त थिएन, पछि पहिलो सहभागितामा रजतपदक पनि राम्रो हो भनेर चित्त बुझाए । अनि प्रतिज्ञा गरेँ १३औँ सागमा स्वर्ण पदक जित्छु भनेर । अहिले मेरो त्यो बाचा पुरा भएको छ ।’

प्रायजसो ५६ केजी तौल समुहमा खेल्न रुचाउने जुनी बेला–बेलामा फरक–फरक तौल समुहमा प्रतिस्पर्धा गर्दै आएकी छिन् । यसको कारण हो अन्तर्राष्ट्रिय स्तरले पठाउने ‘तौल समुह’ । उनीहरूले पठाएको तौल समुहमा खेल्नुपर्ने बाध्यताले गर्दा कहिले तौल बढाएर त कहिले तौल घटाएर खेल्नुपर्छ । सन् २०१८ मा इन्डोनेसियामा सम्पन्न १८औँ एसियाली खेलकुदमा जुनीले ५२ केजीतर्फ प्रतिस्पर्धा गरेकी थिइन् । जुन प्रतियोगिता उनको अनुभव बटुल्ने पाटो मात्रै बन्यो । राम्रो प्रदर्शन गरे पनि ‘इन्जुरी’ जुनीको लागि दुर्भाग्य बन्यो, उनी पदकविमुख बनिन् । परिणाम उनी भियतनामकी खेलाडीसँग पराजित हुन पुगिन् । यस भन्दाअघि आफू कहिल्यै इन्जुरी नभएको जुनीको कथन छ । एसियन गेमको बारेमा जुनीको राय यस्तो छ– ‘हामीले एसियन गेममा पदक जित्न अझ धेरै मेहनत गर्नुपर्छ, यो मेहनतले पुग्दैन । अर्को कुरा यस्तो महत्वपूर्ण प्रतियोगिताको लागि अन्तर्राष्ट्रिय प्रशिक्षक र लामो वैदेशिक प्रशिक्षणको व्यवस्था हुनुपर्ने महसुस भयो । यो प्रशिक्षणले पुग्दैन, अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि कम्तिमा पनि दुई वर्ष खेलाडीलाई बन्द प्रशिक्षणमा राख्नुपर्छ ।’ यसपछि जुनीले चीनमा आयोजना भएको १८औँ वर्ल्ड उसु च्याम्पियनमा प्रतिस्पर्धा गरे पनि त्यसमा पनि अनुभव मात्र बटुलिन् ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा कुनै पनि पदक जित्नु चानचुने कुरा होइन । त्यसको लागि फलामको चिउरा नै चपाउनु पर्छ । अझ नेपाली खेलाडीहरूको लागि अन्तर्राष्ट्रिय पदक आकाशकै फल हो भन्दा अतिसयोक्ति नहोला । यस्तोमा नेपाली खेलाडीले पदकको आशा गर्ने भनेको साग खेलकुद नै हो । यही सत्यतालाई आत्मसात गर्दै जुनीले पनि सागमा स्वर्ण पदक जित्ने लक्ष्य राखिन् । १२औँ सागमा रजत पदक जितेकोले पनि उनलाई १३औँ सागमा स्वर्ण पदक जित्ने विश्वास थियो । यही विश्वासका साथ प्रशिक्षणमा होमिएकी जुनीले १३औँ सागमा स्वर्णपदक जितेर मुलुकको मान–सम्मानलाई अन्तर्राष्ट्रमा पुऱ्याउन सफल भइन् । उसुको सान्सौतर्फ ५६ केजीमा स्वर्ण जितेकी जुनीले सेमीफाइनलमा भारत र फाइनलमा श्रीलंकालाई पराजित गरेकी थिइन् । यसरी सान्सौमा महिलातर्फ स्वर्ण जित्ने उनी नेपालको पहिलो खेलाडी बन्दै कीर्तिमान बनाइन् ।

‘धेरै खुशी भयो भने निन्द्रा पनि आउँदो रहेनछ, म सागमा स्वर्णपदक जितेपछि सात दिन सुतिनँ । यति खुशी लाग्यो कि म त्यसको वर्णन गर्न सक्तिनँ, त्यो दिन मैले सपना र विपनामा देखेका धेरै सपना पूरा भएका थिए, साँचो अर्थमा भन्नुपर्दा म हावामा उडिरहेकी थिए, त्यो दिन मेरो जीवनको अविष्मणीय दिन थियो । मेरो यो खुशीले पहिलो पटकको खुशीलाई ओझेलमा पारेको थियो । म पहिलो पटक प्रहरी सहायक निरीक्षक पदमा नाम निस्कँदा पनि निकै खुशी भएकी थिएँ ।’

अब एउटा एसियन र साग खेल्ने चाहना बोकेकी जुनीले ती प्रतियोगितामा आफ्नो वेष्ट दिँदै पदक जित्ने विश्वास प्रकट गरेकी छिन् । साथै ती प्रतियोगितापछि सक्रिय खेल जीवनबाट सन्यास लिँदै भविष्यमा पुलिस र राष्ट्रिय उसु टिमको प्रशिक्षक भएर काम गर्ने बताइन् ।

उमेरले २८ पुगिसकेकी छिन् जुनी, तर अहिलेसम्म अविवाहित छिन् । मनपराउने थुप्रै भए पनि कसैको प्रेममा नपरेको उनको दाबी छ । प्रेम गर्नु नराम्रो होइन तर आफूले खोजेको र मनले रोजेको व्यक्ति भेट्टाउन नसकेको जुनीको कथन छ । त्यसोभए विवाह खेलाडी वा प्रहरी कुनसँग गर्ने त भन्ने जिज्ञासा राख्दा जुनीले हाँस्दै भनिन्– ‘जोसँग पनि हुन सक्छ, त्यो खेलाडी, प्रहरी वा आमनागरिक, तर मेरो लायक हुनुपर्छ । यसको अर्थ सर्वगुण सम्पन्न भन्न खोजेको कदापि होइन, एकले अर्कालाई सम्मान गर्ने, सुख–दुःखमा साथ दिने हुनुपर्छ, त्यति नै हो । यतिका वर्ष संघर्ष गरेकी छु, कुनै त मेरो लागि जन्मिएको होला नि, हैन र ?’