सेनालाई ‘जोगी’ भन्दै हेपेपछि रक्षामन्त्री र सेनाबीच गम्भीर तनाव

सेनालाई ‘जोगी’ भन्दै हेपेपछि रक्षामन्त्री र सेनाबीच गम्भीर तनाव


■ बबिता बस्नेत

सरकारी स्तरमा आयोजित एक सार्वजनिक समारोहमा रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका उपप्रधानमन्त्री ईश्वर पोख्रेलले नेपाली सेनालाई ‘लकीरका फकिर’ भन्दै ‘जोगी’को संज्ञा दिएपछि नेपाली सेना र रक्षामन्त्रीबीच गम्भीर तहको मनमुटाव पैदा भएको छ । सेनाका काम–कार्वाहीमा अनपेक्षित हस्तक्षेप बढ्न थालेकोले त्यसै पनि सेना असन्तुष्ट रहेको बेला प्रधानसेनापतिलाई अघिल्तिर राखेर सेनालाई गाली गरेपछि परिस्थिति असामान्य बन्न पुगेको हो । प्रधानसेनापतिले आफ्नै रक्षामन्त्री विरुद्ध प्रधानमन्त्रीकहाँ पहिलोपटक मौखिक उजुरी दिनुभएको छ ।

यही २०७७ साल श्रावण १६ गते सिंहदरबारस्थित रक्षा मन्त्रालयको सभाकक्षमा आयोजित सार्वजनिक समारोहमा रक्षामन्त्री ईश्वर पोख्रेलले नेपाली सेनालाई ‘लकीरका फकिर’को संज्ञा दिँदै सेना र रक्षामन्त्रीबीचको असन्तुष्टि सतहमा ल्याउनुभएको थियो । उहाँको भनाइ थियो– ‘मैले लकीरका फकिर किन भनेको हो भने कुनै जोगीले भिक्षा माग्न बिहान पनि त्यही बाटो बेलुका पनि त्यही बाटो हिँड्यो भने उसले भिक्षा पाउँदैन रे ! भिक्षा माग्ने जोगीले पनि ट्रयाक चेन्ज गरिरहनु पर्छ । हाम्रो कार्य सम्पादन गर्ने शैली लकीरका फकिर जस्तो छ । लकीरका फकिर जस्तो भयो भने क्रिएटिभ ढङ्गले अघि जाने कुरा भएन, त्यसले परिणामहरू दिन सक्दैन । हाम्रो काम गर्ने शैली त्यस्तो छ ।’ मन्त्रीले बोल्दै गर्दा सँगै बसेर मन्त्रीका भनाइहरू टिपिरहनु भएका प्रधानसेनापति पूर्णचन्द्र थापाले फास्ट ट्रयाकमा कन्सल्ट्यान्ट हायर गर्ने प्रक्रिया पीडादायी रहेको तर उक्त कुराको गहिराइमा आफू जान नचाहने बताउनुभएको थियो । यसको सिधा अर्थ ‘कन्सल्ट्यान्ट छनौटदेखि हरेक कुरामा मन्त्रीको ठाडो हस्तक्षेप छ, कसरी काम गर्नु’ भन्ने हुन्थ्यो ।

उक्त कार्यक्रममा सहभागी सेनाका उच्च अधिकारीहरूले सार्वजनिक कार्यक्रममा मिडियाका अगाडि नेपाली सेनालाई जोगीको संज्ञा दिँदा डटेर प्रतिवाद गर्न नसकेको भनी प्रधानसेनापतिसमक्ष असन्तुष्टि प्रकट गरेको बुझिएको छ । विभागीय मन्त्रीले सार्वजनिक रूपमा सेनाको अपमान गर्दा नेतृत्वले प्रतिवाद गर्नु पर्थ्यो भन्ने एकथरी छन भने सार्वजनिक कार्यक्रम भएकोले मन्त्रीले अपमान गरे पनि सेनाले आफ्नो अनुशासन र सम्मान आफैले कायम राख्नुपर्ने हुँदा प्रतिवाद नगरेको ठीक भयो भन्नेहरू पनि छन् ।

उक्त कार्यक्रमपछि मन्त्री र सेनापतिबीच सम्बन्धमा आएको चिसोपनको खोजी गर्न थालिएको छ । यद्यपि सो दिन सतहमा आए पनि कोरोना ब्यवस्थापनका लागि चीनबाट मेडिकल समाग्री ल्याउने जिम्मा सेनालाई दिएर ‘ओम्नी’को सामान नसकिउन्जेल उताबाट सामाग्री ल्याउनमा अवरोध गरेदेखि नै सम्बन्धमा असर परिसकेको थियो । सेनामा भर्नादेखि हतियार खरिद हुँदै ठेक्कापट्टामा मन्त्रीको आवश्यकताभन्दा बढि चासो नै सम्बन्ध बिग्रनुको प्रमुख कारण रहेको बुझिएको छ । सेनामा ‘अहिलेसम्मकै सबैभन्दा बढि राजनीतिक हस्तक्षेप’ भनी निष्कर्ष निकालिएबाट सेनामार्फत सुरक्षित रूपले आयआर्जन गर्न खोजेको भनेर बुझ्नुपर्ने हुन्छ । सेनाले ठेक्कापट्टा र ब्यापार–ब्यवसाय गर्न मिल्छ कि मिल्दैन भन्ने विषयमा बहस र छलफल गर्नका लागि पनि अहिले विभागीय मन्त्री–प्रधानसेनापतिबीच बिग्रँदो सम्बन्धले ढोका खोलिदिएको छ । सेनाको प्रकृति र कमिशनको खेलमा सेनाको शानमा आउने आँचका बारेमा उच्च नेतृत्वले सोच्नु आवश्यक छ ।

प्राप्त जानकारीअनुसार प्रधानसेनापति थापाले प्रधानमन्त्रीसँग भेट गरी रक्षामन्त्रीले सार्वजनिक रूपमा नेपाली सेनाको सम्मानमा धक्का पुग्ने गरी अभिब्यक्ति दिएको जानकारी गराउनुभएको छ । साथै आफूलाई मन्त्रीको दबाब झेल्न गाह्रो परेका विषयहरूमा पनि प्रधानमन्त्रीसँग कुरा भएको थाहा भएको छ । कोरोना भाइरसका कारण मुलुकले ठुलो विपत्ति झेलिरहेको र यो आपतकालीन परिस्थिति सम्हाल्नका लागि सेनाले ज्यानको बाजी राखेर फिल्डमा खटिनका लागि विभागीय मन्त्रीको उत्साह, हौसला प्राप्त गर्नुपर्ने बेलामा ‘ह्युमिलेसन’ खप्नु परेको उच्चअधिकारीहरूको भनाई छ ।

सेना र राजनीतिक नेतृत्वबीच सम्बन्धमा चिसोपन नयाँ कुरा होइन । रामबहादुर थापा रक्षामन्त्री भएका बेला पनि तात्कालिन प्रधानसेनापतिसँग मनमुटाव भएको थियो । तर त्यतिबेलाको मनमुटाव ठेक्कापट्टा या कमिशनसँग नभएर तात्कालिन राजनीतिक परिस्थितिमा सेनाको संरचनासँग सम्बन्धित थियो । प्रधानसेनापति रुक्माङ्गद कटवालका पालामा भएको सेनाको नेतृत्व परिवर्तन सम्मको द्वन्द्वले तात्कालिन प्रधानमन्त्री प्रचण्डले पदबाट राजीनामा दिनु परेको थियो । नेपाली सेनाले यसबीचमा धेरै रक्षामन्त्रीहरूको नेतृत्व प्रायो । ती सबैमध्ये कुशल नेतृत्वका रूपमा तात्कालिन रक्षामन्त्री विद्यादेवी भण्डारीलाई प्राप्त गरेको र उहाँको पालामा सेनाको मनोबल उच्च रहेको सेनाको निष्कर्ष छ । राष्ट्रपतिका रूपमा विद्या भण्डारी अहिले नेपाली सेनाको परमाधिपति हुनुहुन्छ ।

अहिले रक्षामन्त्रीले नेपाली सेनाको आत्मबल गिराउने गरी सार्वजनिक अभिब्यक्ति दिँदा प्रतिवाद नगरेको भनी सेनामा छाएको असन्तुष्टि र मन्त्री–सेनापति सम्बन्धमा चिसोपन बाहिर आएभन्दा गहिरो देखिन्छ । प्रधानमन्त्री केपी ओलीसँग निकट मानिनु हुने उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलले नेपाली सेनालाई ‘लकीरका फकिर’ भन्दै खिल्ली उडाउनुलाई राजनीतिक दृष्टिकोणले पनि अर्थपूर्ण मानिएको छ ।