अख्तियारमा पनि विशाल ग्रुप !

अख्तियारमा पनि विशाल ग्रुप !


अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्तसहित आयुक्त पदहरू रिक्त हुने भएपछि उक्त पद प्राप्तिका निम्ति विभिन्न व्यक्तिहरूको दौडधुप शुरु भएको छ ।

प्रमुख राजनीतिक दलका मूख्य नेताहरूको कृपा नभइकन अख्तियारको आयुक्त र प्रमुख आयुक्त बन्न नसकिने भएकोले सत्तारुढ नेकपाका अध्यक्ष एवम् प्रधामन्त्री केपी शर्मा ओली र उहाँका निकटवर्ती तथा विपक्षी दलका नेताको हैसियतमा रहनुभएका शेरबहादुर देउवालाई विश्वासमा लिने प्रयास विभिन्न व्यक्तिहरूबाट भइरहेको छ ।

प्रमुख आयुक्तमा पूर्वसचिव प्रेम राईको नियुक्ति हुने चर्चा धेरैै अघिदेखि नै चल्दै आएको छ । निकै इमानदार मानिने राई केपी ओलीसँग निकट मानिएकोले सत्तारुढ दलकै एकथरी नेता राईलाई प्रमुख आयुक्त बन्न नदिन सक्रिय भएका छन् । खासगरी प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल राईलाई रोक्ने पक्षमा रहेको बताइन्छ । तर जो–जसको जस्तोसुकै सक्रिय प्रयासले पनि राईको नियुक्ति नरोकिने स्थिति छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राईबाहेक अरु कसैलाई प्रमुख आयुक्तका निम्ति योग्य नठानेको सम्बद्ध पक्षको भनाइ छ ।

रिक्त पदहरूमध्ये प्रमुख प्रतिपक्षी दलले पनि एउटा भाग पाउने हुनाले आरजु राणा र शेरबहादुर देउवा आयुक्त बन्ने सम्भावित व्यक्तिहरूको नापतौलमा लाग्नुभएको छ । देउवा परिवारले पहिले पूर्वएआइजीपी जयबहादुर चन्दको नाम प्रधानमन्त्री समक्ष प्रस्तुत गरेका भए पनि अहिले आरजु रणाको मन बदलिएका कारण चन्दको नियुक्ति हुने सम्भावना क्षीण हुँदै गएको छ । गणेश कार्की नामक व्यक्तिको नाम बुढानिलकण्ठ पुगेर पनि स्विकृत नभएको बताइन्छ ।

यसैबीच राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख दिलिप रेग्मीको नाम पनि बुढानिलकण्ठ पुगेको र यो नामलाई त्यहाँ सकारात्मक रूपमा लिइएको छ । त्यसलगत्तै कानूनका समेत विज्ञ पूर्वसचिव श्रीधर सापकोटाको नाम बुढानिलकण्ठ पुगेपछि सापकोटालाई पनि सम्भावित व्यक्तिका रूपमा सुचिबद्ध गरिएको थियो । तर ब्यापारिक जगतमा निकै आक्रामक ढङ्गले अघि बढेको मारवाडी ब्यापारीहरूको टोली ‘विशाल ग्रुप’समेत आफ्नो मानिसलाई अख्तियारमा प्रवेश गराउन सक्रिय भएपछि देउवा परिवारले चन्द र कार्कीझैँ रेग्मी र सापकोटाको पनि विकल्प खोज्ने सम्भावना बढेको छ ।

सापकोटा, रेग्मी र चन्दलाई प्रतिष्पर्धाबाट बाहिर पार्न देउवा परिवारले नयाँ अक्कल निकालेको छ । अहिले नियुक्त हुने व्यक्तिको ६ वर्षे कार्यकाल पूरा गर्न पाउने उमेर हुनुपर्ने ‘क्राइटेरिया’ देउवाले बनाएका छन् । यसअनुसार अहिले नाम आएकामध्ये रेग्मी र पाण्डे मात्र काङ्ग्रेसको सिफारिसमा पर्नेछन् । पाण्डेलाई मात्र सिफारिस गर्न यस प्रकारको अक्कल निकालेको बुझिएको छ । ज्ञातव्य छ, अख्तियारको प्रमुख आयुक्त र आयुक्तहरू ६५ वर्ष उमेर पूरा भएपछि सेवा निवृत्त हुनेछन् ।

अशोक अग्रवालसहित विशाल ग्रुपका सदस्यहरूले कम्तीमा दशदेखि पन्ध्र करोड रूपैयाँ बजेट छुट्याएर अख्तियारमा आफ्नो मान्छे घुसाउन योजनावद्ध प्रयास गरिरहेको बुझिएको छ । विशाल ग्रुपले उम्मेदवारका रूपमा आफ्नै कम्पनीका सिइओ शिव पाण्डेलाई अगाडि सारेको छ । नेपाल राष्ट्र बैंकको निर्देशक पदबाट अवकासप्राप्त पाण्डेको नाम विशाल ग्रुपले आरजु राणासमक्ष प्रस्तुत गरेपछि यसअघि पेस भएका सबै नामहरू काटिने सङ्केत आरजु राणाले दिइसकेकी छिन् । त्यसैले प्रमुख विपक्षी नेतालाई प्राप्त कोटामा विशाल ग्रुपका प्रतिनिधिलाई अख्तियारमा नियुक्त गरिन सक्ने सम्भावना बढेको छ । कदाचित पाण्डेलाई नियुक्त गर्न नसकिने अवस्था आएमा सापकोटा या रेग्मी, दुईमध्ये एउटा नाम प्रस्ताव गर्न देउवा परिवार बाध्य हुन सक्ने देखिन्छ ।

केही वर्ष अघिसम्म सुशासन र भ्रष्टाचार नियन्त्रणमा मूख्य भूमिका निर्वाह गर्ने संयन्त्रका रूपमा चिनिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पछिल्लो समयमा ‘राम्रो कमाइ हुने’ स्थानको रूपमा आफ्नो बनाएको छ । दीप बस्नेत नामका एक पूर्वकर्मचारीले अख्तियार प्रमुखको जिम्मेवारी सम्हालेयता अख्तियारको छवि बदलिएको हो ।

२०७३ सालमा तत्कालिक अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई गैह्रकानूनी किसिमबाट बलजफ्ती पदमुक्त गरिएपछि अख्तियारमा प्रमुख दलका शीर्ष नेताका हितैषीहरूको मात्र नियुक्ति हुँदै आएको छ । प्रमुख दलका प्रमुख नेताहरूको पूर्ण विश्वासप्राप्त व्यक्ति बाहेक अरु कसैले पनि अख्तियारमा नियुक्तिको अवसर पाउने सम्भावना अहिले छैन । हालका अख्तियार प्रमुख नवीन घिमिरे पनि तत्कालिक एमाले र प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासका आधारमा प्रमुख बनेका थिए । उनको कार्यकाल आगामी भदौको अन्तिम सातामा सकिँदै छ ।

यसअघि एउटा अनियमितता प्रकरणमा संलग्न रहेको आरोप लागेपछि तत्कालिक आयुक्त राजनारायण पाठकले राजीनामा दिएका थिए । उक्त रिक्त पदमा अहिलेसम्म कसैको नियुक्ति भएको छैन । प्रमुखसहित पाँच जनाको दरबन्दी रहने अख्तियारमा हाल आयुक्तका रूपमा तत्कालिक माओवादी कोटाका गणेशराज जोशी र काङ्ग्रेस कोटाकी सावित्री थापा गुरुङ कार्यरत छन् । जोशी र गुरुङ आगामी चैत्रमा सेवा निवृत्त हुँदैछन् । अख्तियारमा अब प्रचण्डनिकट कुनै व्यक्तिको नियुक्ति हुन सक्ने सम्भावना तत्काल देखिएको छैन ।