शुभ जन्मोत्सव इन्द्रलाल र नन्दलाल !

शुभ जन्मोत्सव इन्द्रलाल र नन्दलाल !


■ खगेन्द्रप्रसाद लामिछाने

मेरा बुबा इन्द्रलाल ! श्रीकृष्ण नन्दलाल । कृष्ण अद्वित्तीय शक्ति बुबा अभूतपूर्व सत्य । कृष्णको योजना क्षमता र बुबाको निर्णय क्षमताहाराहारी अब्बल रहेछ । नन्दसँग समग्र पक्षको शान्ति, स्थिरता र मेलमिलापको परिमार्जित खाका हुँदोरहेछ । इन्द्रसँग पनि समग्र पक्षकै सामाजिक आध्यात्मिकरण र सहिष्णुताको वकालतको भाका हुँदोरहेछ । वंशी आध्यात्मिक सोच र त्यसानुसारको कर्म मार्फत संसारलाइ खुशी दिँदारहेछन् । बुबा सो खुशी लिने र दिने मर्मका साथ दुवै गर्नुहुँदोरहेछ ।

भनिन्छ, जसरी कृष्णको अनुहारमा मलिनता कहिल्यै छाउँदैनथ्यो त्यसरी मेरो बुबाको अनुहारमा अधैर्य र मलिनताको धर्सा देखिँदैन बरू अठोट र शालिनताका छल्काइ देख्छु म । दुःख सुख जे आउँछ स्वभाविक आत्मसातिकरण र बाहिरी रूपभन्दा भित्री सार पछ्याउने दुवैको साझा गुण रहेछ । नन्दलाल एक कुशल भूमिका निर्वाहक भएजस्तै इन्द्रलाल पनि एक शुभचिन्तक पथप्रदर्शक हुनुहुँदोरहेछ । कृष्णको योगाधार र बुबाको भक्ताधार एउटै रहेछ । नन्द एक, कल्याण अनेक र इन्द्र एक, भलो अनेक पनि एउटै सोचधार रहेछ । जीवन लीला हो उत्सवीकरण साथ बाँचौँ भन्ने काले सोच र कामैकामले ब्यस्त जीवन सार्थक जीवन हो भन्ने बुबा सोच पनि समतुल्य समिकरण सरि रहेछन् ।

आफ्नो सुखमा चिच्याउने र अरूको दुःखमा चियाउने होइन समानुभावसहितको सहनशील सुखानुभूति निर्माण गर्न जान्नुपर्छ भन्ने मेरो बुबाको सोच कालेको विरोधाभाष, द्विविधा र संकटमा पनि हाँस्न सक्नुपर्छ भन्ने सोचसँग सोझै समवर्ति हुँदोरहेछ । मन्दिरमा हैन मनमा जति बढि कृष्ण नाचेको देख्छु म त्यति नै बढी मेरो बुबा मभित्र बाँचेको देख्छु म । सचेतता र सावधानी नै कृष्ण हो भनेझैँ बुबा पनि त्यहि हो ठान्दछु म ।

जसरी संसारमा संकट आइपर्दा कृष्णाश्त्र आवश्यक हुन्छ त्यसरी मेरो परिवार, समाजमा बुबाको इन्द्राश्त्र खोजिँदोरहेछ । जीवनका सबै पक्षमा बंशी छाएजस्तै मेरो बुबाका इन्द्राश्त्र रूचाइँदारहेछन् ।

नन्दलाल जन्मिएका होइनन् भनिएजस्तै इन्द्रलाल पनि जन्मेको बेलाको अनुभव छैन मलाई । तर पनि कृष्ण जन्माष्टमी मनाइन्छ र मेरो बुबाको पनि जन्मोत्सव मनाउँछु आज, दुवै महान् मार्गदर्शन भएकाले ।

दुवै नन्दलाल र इन्द्रलालमा शुभ जन्मोत्सव !

कृष्णले गीतामार्फत शिक्षा दिए बुवाले चरित्र र व्यवहार मार्फत । श्रीमद्भागवत गीतामा अर्जुनलाइ सम्झाउने क्रममा कृष्ण भन्नुहुन्छ, अन्यायीलाई जरैबाट समाप्त पार्नुपर्छ, फेरि नपलाओस् । सहनु नर्क रोज्नु बराबर हो । यो सिद्धान्त मेरो बुवाको नि हो, बरू अरू प्राणीमाथि कृपा राख भन्नुहुँदोरहेछ । कृष्ण कुशल प्रक्षेपक बुवा गन्य भविष्य द्रष्टा । कृष्णप्रतिको मोह र आकर्षणले उनी भगवान भनिएजस्तै बुबाको सरल र अटल ब्यक्तित्वले त्यस्तै भनिएकोरहेछ ।

कतिले कृष्ण भगवान् होइन पनि भन्दारहेछन् तर मेरो बुबा त्यहिबराबर सही ब्यक्ति हो भन्दारहेछन् । नन्दलाल कहिले र कहाँ थिए भन्ने कुनै तथ्य छैन तर इन्द्रलाल मेरै अगाडि हाम्रै अगाडि हुनुहुन्छ भन्ने कुरामा कुनै मतान्तर छैन । कृष्ण नक्कले तर मेरो बुबा सक्कले । कृष्ण छद्मभेषी बुबा प्रष्ट ज्योतिषी । अझ भनौँ कृष्ण भयानक, तुच्छ, अभिमानी, दानव, चोर, जाली, ब्यभिचारी, फटाहा, लुटाहा आदि । सँगै फेरि उनी मानिसको लगाम, मार्गदर्शन, प्रेरणा, रणनीति, कानुन, चेत र राजनीति पनि हुँदैहुन् के के के के राम्रो नराम्रो धेरै । तर मेरो बुबाचाहिँ राम्रो मात्रै । प्रसिद्ध गुरू, प्रख्यात ज्योतिषी, दीर्घसेवी शिक्षक, विवेकशील, ज्ञानतृष्णी, अध्ययनशील, अनुशासित, सत्य, निडर, निष्पक्ष, दक्ष ब्यवस्थापक र असल मानव ।

कृष्ण जन्मेका होइनन् भएका हुन् तर बुबा जन्मेको र भएको दुवै हो । नन्दलाल न त मानव न त भगवान तर इन्द्रलाल दुवै मानव पनि भगवान पनि । कृष्णको दर्शन र भक्ति सबैलाई प्रिय नहुन सक्छ तर बुबाको दर्शन र भेट जो कोहीलाई पनि श्रेयष्कर हुन्छ । नक्कले काले समय र परिस्थितिअनुसार साधु र चोर दुवै हुन सक्थे तर सक्कले बुबा सँधै साधु सँधै स्वाभिमान् ।

अन्त्यमा, इन्द्रलाल के गर्नुहुन्छ ? के खानुहुन्छ ? कहाँ जानुहुन्छ ? कस्तो लाउनुहुन्छ ? कस्तो हुनुहुन्छ ? होइन कि वहाँले जीवनमा मलाइ के शिक्षा दिनुभो र समाजले के पाठ सिक्यो भन्ने सवाल महत्वपूर्ण भएजस्तै नन्दलाल को थिए ? के गर्थे ? कसरी सँधै ठिटै रहे ? यावत प्रश्नहरू भन्दा पनि उनले के कस्ता विधि, ब्यावहार र चेत सुम्पिए अनन्तकाल सम्मका लागि भन्ने नै ठूलो सवाल हो मेरा लागि ।

यतिका तथ्य प्रमाणले के पुष्टि गऱ्यो भने ‘नन्दलाल भन्दा इन्द्रलाल नै असल हुन् ।’

शुभ श्रीकृष्ण जन्माष्टमी !