कांग्रेसलाई युवाको पार्टी बनाउन महामन्त्री कोइरालाको आह्वान

कांग्रेसलाई युवाको पार्टी बनाउन महामन्त्री कोइरालाको आह्वान


नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाली कांग्रेसलाई युवाको पार्टी बनाउनुपर्ने बताउनुभएको छ ।

मंगलबार (२७ साउन) आफ्नै निवास महाराजगञ्जमा आयोजित ‘पार्टी प्रवेश’ कार्यक्रममा उनले कांग्रेसलाई युवाको पार्टी बनाउनुपर्ने बताएका हुन् । महामन्त्री कोइरालाले भने, ‘कांग्रेसमा युवा प्रवेश गरेर पार्टीमा नयाँ ऊर्जा थपिएको छ, यो ऊर्जालाई खेर जान दिनु हुँदैन ।’

मुलुकलाई राजनीतिक, आर्थिक र विकासको दृष्टिकोणले सक्षम बनाउन कांग्रेसको विजयी आवश्यक रहेको उल्लेख गर्दै उहाँले वर्तमान सरकारको कार्यशैलीप्रति जनतामा अविश्वास जागेको बताए । उनले अन्याय र अत्याचारको विरुद्धमा युवाले आवाज उठाउनुपर्ने बेला आएको पनि बताए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य बद्री पाण्डे, जीवन परियार, कांग्रेस रामेछापका जिल्ला सभापति लवश्री न्यौपाने, कांग्रेस रामेछापका पूर्वसभापति रामचन्द्र खड्कालगायतको सहभागिता रहेको थियो ।

सोही अवसरमा रामेछाप दोरम्बा गाउँका करिब तीन दर्जन युवा विभिन्न पार्टी छोडेर नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । नवप्रवेशीलाई महामन्त्री कोइरालाले माला, खादाद्वारा सम्मान गरेका थिए ।