गोंगबुमा भएको विभत्स हत्याकाण्डको नालीबेली

गोंगबुमा भएको विभत्स हत्याकाण्डको नालीबेली


■ सनत आचार्य

राजधानीको गोंगबुमा भएको कृष्णबहादुर बोहराको विभत्स हत्यामा प्रत्यक्ष संलग्न भएको आरोपमा पक्राउ परेकी कालिका–७, चितवन घर भई हाल का.जि. टोखा नगरपालिका वडा नं. १० नवज्योति मार्ग बस्ने ३७ वर्षीया कल्पना मुडभरी पौडेललाई काठमाडौं प्रहरी परिसर र महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी मंगलबार (२७ साउन) सार्वजनिक गरेको छ ।

कल्पनाले पनि आफु बाध्य भएर बोहराको हत्या गरेको स्विकार गरिसकेकी छिन् । तथापि, आफूले हत्या गर्ने नियत नराखेको अभिव्यक्ति दिएर मामलालाई ‘रहश्यपूर्ण’ बनाइदिएकी छन् ।

प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार मृतक बोहरा र पौडेलबीच करिव ४ वर्षदेखि फेसबुकमार्फत चिनाजानी भई निरन्तर सम्पर्कमा रहेको थिए । फेसबुकको चिनजानले उनीहरुलाई नजिकसमेत बनाएको र उनीहरू नियमित उठबस गर्ने गरेका अनुसन्धानमा देखिएको ज्ञवाली बताउँछन् ।

ज्ञवालीका अनुसार मृतक बोहराले कल्पनाको फोटो राखी फेक फेसबुक आईडी खोली चलाउने गरेका थिए । यति मात्र नभई बोहराले कल्पनालाई आफुअनुकुल चल्नको लागि बेला बेलामा दबाब दिने र मानसिक यातना दिने समेत गरेको पौडेल बताएको जानकारी दिए ।

बोहराको स्थाई घर रोल्पा भएता पनि उनी विगत ८ महिनादेखि गोंगबुस्थित एक होटलमा बस्दै आएको बुझिएको छ । मृतक बोहोरा कल्पनाको कोठामा बेला–बेलामा आई भेट्ने गरेको समेत अनुसन्धानबाट खुलेको छ ।

घटना घटेको दिन अर्थात् श्रावण २४ गते शनिबार मृतक बोहरा आफु बसेको होटलबाट बा. ७२ प ५६४४ नं. को स्कुटी प्रयोग गरी कल्पनाको कोठामा गएका थिए ।

अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिपक थापाका अनुसार घटना घटेको दिन राति कल्पनाले बोहरालाई दही, चिउरा, मासु र भोड्का खान दिएकी थिइन् । केही बेरको खानपिनपछि कल्पनाले दहीमा पाँच ट्याबलेट नशालु पदार्थ हालेर बोहरालाई खान दिइन् । बोहरा बेहोस भए ।

बोहरा बेहोस भइसकेपछि कल्पनाले हथौडा प्रयोग गरी अण्डकोषमा प्रहार गरेर चरम यातना दिइन् । बोहरा बेहोस भएकै अवस्थामा कल्पनाले कालो सलले उनको घाटी कसिन् । उनी मरेको यकिन गरिसकेपछि कल्पनाले भान्छामा भएको धारिलो हतियार प्रयोग गरी रातिको ११ बजेतिर ट्वाइलेटमा लगेर टाउको र खुट्टा छिनालिन् ।

कल्पानाले बोहराको मृत शरीरलाई दुई भागमा विभाजन गरिन् । शरीरका विभिन्न भागलाई टुक्रा–टुक्रा बनाइ प्लाष्टिकले बेरेर प्याक गरी कालो रङ्गको सुटकेशमा हालिन् भने टाउको र खुट्टालाई रातो जिपर झोलामा हालेर रातको करिव १ बजे १५ वर्षीया छोरीको सहयोगमा प्याक गरेको मृत शरिरलाई उनीहरूले घरबाहिर निकालेर फाले ।

आइतबार (२५ साउन) बिहानै केही स्थानीयले सुटकेसबाट रगतजस्तै पदार्थ बगेको देखेपछि प्रहरीलाई खबर गरे । प्रहरी बिहान ७ बजे शव फालिएको टोखा–१०, नवज्योति मार्गमा पुग्यो र रातो प्लाष्टिकले बेरेको, बोराको नाम्लोसहित कालो रङ्गको सुटकेशभित्र टाउको र खुट्टाबिनाको पुरुषको शव फेला पाऱ्यो ।

तत्काल एसएसपी ज्ञवाली र थापा घटना स्थल पुगी सफल अनुसन्धानका लागि योजना बनाए । बाँकी शरीरको भाग खोज्न तालिम प्राप्त कुकुरलाई प्रयोग गर्ने निर्णय गरे । त्यसपछि ‘जोजो’ नामको तालिमप्राप्त कुकुरको परिचालन गरियो । जोजोले सुटकेस भेटिएको स्थानभन्दा करिव ३ सय मिटर पर स्वर्गद्वारी मार्गको खाली जमिनको कुनामा पोको पारी फालेको अवस्थामा टाउको र खुट्टा फेला पाऱ्यो ।

त्यसपछि प्रहरीले मृतक पहिचानका लागि २६ गते सोमबार सामाजिक सञ्जाल तथा मिडियामार्फत फोटा सार्वजनिक गऱ्यो । सामाजिक सञ्जालमा आफ्नो भान्जाको तस्बिर देखेपछि सोही दिन मृतकका मामा नाता पर्ने ब्यक्ति प्रहरीको सम्पर्कमा आई मृतकको सनाखत गरे । सनाखतपश्चात प्रहरीले उनको मोवाइललाई आधार बनाई सुक्ष्म रूपले अनुसन्धान गऱ्यो र आरोपी कल्पनासमक्ष पुग्न सफल भयो ।

मृतक जिल्ला रोल्पा रून्तीगढी गाउँपालिका वडा नं. ७ घर भई हाल गोंगबुस्थित एक होटलमा बस्दै आएका वर्ष ४५ का कृष्णबहादुर बोहोरा भन्ने यकीन भयो ।

उता कल्पना र उनकी छोरीको भने टोलमा छ्यापछ्याप्ती देखिएका प्रहरी र अनुसन्धानका लागि खटिएको कुकुरलाई देख्दा होसहवास उडिसकेको थियो । उनी आत्तिसकेकी थिइन् । काठमाडौं कसरी छिटो छोड्ने भन्ने योजना बुन्दै कल्पनाले आइतबार बेलुकी बिरामी लिएर काठमाडौं आई फर्कन लागेको चिनेजानेको एम्बुलेन्स ड्राइभरलाई फोन गरेर भाडा तिरी सोही एम्बुलेन्सबाट चितवन गइन् ।

घटनास्थलबाट प्रहरीले घटनामा प्रयोग भएको धारिलो हतियार, हिर्काउन प्रयोग भएको ह्याम्मर (हथौडा), रगत लतपतिएको पञ्जा, म्याट्रेसको टुक्रा, घाँटी कस्न प्रयोग गरेको कालो रङ्गको सल, सुटकेशको ह्याण्डल, नाम्लोमा प्रयोग भएको डोरीको टुक्रा, मृतकले लगाएका तथा झोलामा रहेका मृतकका कपडाहरू, स्लिपिङ ट्याबलेटको खोल, मोबाइल सेटहरू बरामद गरेको छ ।

शुरुमा प्रहरीले यो घटनामा अपराधिक पृष्ठभूमिका पेशेवर समुहको संलग्नता हुन सक्ने आशंको गरेको एसएसपी ज्ञवाली बताउँछन् ।

तर कल्पना भने यो घटनामा आफू मात्र संलग्न रहेको बताइरहेकी छिन् । तथापि, प्रहरीले अरु पनि संलग्न छन् कि भन्ने सम्बन्धमा गहिरिएर अनुसन्धान गरिरहेको ज्ञवाली बताउँछन् ।

प्रहरीले अपराधको अवस्था, पीडित र अनुसन्धानको आधारमा उनीहरूबीच प्राविधिक र शारीरिक सम्बन्ध स्थापना भएको बारेमा पनि अनुसन्धान भइरहेको एसएसपी थापाले जानकारी दिए ।

हालसम्मको अनुसन्धानबाट मृतक बोहराले कल्पनालाई आफ्नो नियन्त्रणमा राख्न खोजेको, इच्छाविपरीत यौन सम्बन्ध राख्न खोज्ने र कान्छी छोरीलाई समेत नराम्रो दृष्टिले हेर्ने, बेला–बेला ब्ल्याकमेल गरी सौदाबाजी गरी हायलकायल बनाएको तर हत्या गर्ने योजना आफुले नबनाएको बताउँछिन् ।

तर प्रहरी अधिकारीहरु हत्या हुनुको मुख्य कारण यिनै रहेको देखिए पनि अन्य कारणहरु समेत रहेको हुन सक्ने र अनुसन्धानपछि विस्तृत कुरा खुल्ने बताउँछन् ।

कल्पनाको डेरा सुटकेश भेटिएको स्थानभन्दा करिव सय मिटरको दूरीमा रहेको एक घरको तेस्रो तलामा छ । बोहराको हत्या कल्पनाको कोठामै भएको प्रहरीले जनाएको छ । उक्त कोठामा कल्पना छोरा र छोरीसहित तीनजनाको परिवार बस्दथ्यो ।

सोमबार दिउँसो कोठा पत्ता लगाएर त्यहाँ पुगेको प्रहरीले भित्र हेर्दा कार्पेटमा रगतको टाटा भेटेको थियो । कल्पना छोराछोरीलाई लिएर आइतबार साँझ हिँडेकाले प्रहरीले उनीमाथि नै शंका गरेको थियो । त्यसबाहेक मृतकको अण्डकोषमा चोट देखिएकाले महिलाबाटै उनको हत्या भएको हुन सक्ने प्रहरीको आशंका थियो ।

काठमाडौं ल्याइपुऱ्याएपछि कल्पनालाई उनी बस्ने कोठा लैजान लाग्दा प्रहरीले आशंका गरेको त्यही घरमा पुऱ्याएकी थिइन् ।

प्रहरीले घटनास्थलबाट दुई वटा खुकुरी र एउटा हतौडा पनि बरामद गरेको छ । खुकुरीमा रगतको टाटो पनि देखिन्छ । प्रहरीलाई घटनामा कल्पनाको संलग्नता पुष्टि गर्न यही रगतको परीक्षण पर्याप्त हुने अनुसन्धान अधिकारी बताउँछन् ।

‘मृतक बोहराको र खुकुरी तथा कार्पेटमा भेटिएको रगत मिलेमा कल्पनाको संलग्नता पुष्टि हुन्छ’, अनुसन्धान अधिकारी भन्छन् ।