‘बार’द्वारा प्रधानन्यायाधीशलाई १७बुँदे ध्यानाकर्षण पत्र

‘बार’द्वारा प्रधानन्यायाधीशलाई १७बुँदे ध्यानाकर्षण पत्र


नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई १७बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।

ध्यानाकर्षण पत्रमा न्याय क्षेत्रभित्रका विसंगति, विकृति, विचौलिया र भ्रष्टाचार नियन्त्रण गर्न बारको प्रतिनिधि सम्मिलित एउटा विशेष संयन्त्र अविलम्ब गठन गर्नुपर्ने, न्यायाधीश नियुक्ति, न्यायलयमा हुने सबै प्रकारका राजनीतिक हस्तक्षेप निषेध र अस्वीकार गर्नुपर्ने जस्ता बुँदा रहेका छन् ।

यस्तै, वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्दा बारको सुझावलाई गम्भीरतापूर्वक नलिएको, मुख्य न्यायाधीश, मुख्य भई काम गर्ने न्यायाधीश वा न्यायाधीश नियुक्ति गर्दा निश्चित आधार, कारण र मापदण्ड आधारमा गरिनुपर्ने अदालतमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको प्रवेश र प्रभावलाई तत्काल नियन्त्रण गर्नुपर्ने पनि ध्यानाकर्षण पत्रमार्फत् औंल्याइएको छ ।

पत्रमा अदालतका आदेश, फैसलाको कार्यान्वयन तत्काल गरी न्याय भएको अनुभूति दिलाउनुपर्ने, दैनिक तथा साप्ताहिक पेशी सूचीमा मुद्दा स्थगित हुँदा समान प्रकृतिका मुद्दामा समान आधार र कारणका आधारमा स्थगित गर्नुपर्नेलगायत रहेको छ ।

बारका महासचिव लिलामणि पौडेलले बारले प्रधानन्यायाधीशलाई समग्र न्यायलयको सुधारका लागि सासेमबार (२६ साउन) १७बुँदे ध्यानाकर्षणपत्र बुझाएको जानकारी दिए ।