राम कसका हुन्, कहाँ बस्छन् ?

राम कसका हुन्, कहाँ बस्छन् ?


■ बबिता बस्नेत

केही समययता मुलुकमा रामको चर्चा ब्यापक छ । त्रेता युगका भगवान् श्री रामको कलियुगमा आएर त्यो पनि धर्म नमान्ने कम्युनिष्ट सत्तामा पहिचान खोजिनु, ‘आफ्नो हो’ भनेर संरक्षण गर्न खोज्नु आफैमा ‘इन्ट्रिेस्टिङ’ कुरा हो । हिन्दु धर्म-संस्कृतिमा ‘राम’ लोकप्रिय नाम हो जसलाई ‘फस्ट नेम’, ‘मिडल नेम’ तथा पुरुष र महिला दुवैमा प्रयोग गर्ने गरिएको छ । रामबहादुर, रामजी, रामानान्द, रामेश्वरदेखि रामभक्त, रामाज्ञा, रामहरि, सीताराम, राजाराम, बाबुराम हुँदै राममाया, रामकुमारी, रामदेवी, रामेश्वरीसम्म यस्ता नामहरूमा पर्छन् । बाबुआमाले आफ्नो सन्तानमा रामको गुण आओस् भनेर यी नामहरू राखेका हुन् । वर्तमान मन्त्रिमण्डलमा तीन वटा नाम रामसँग सम्बन्धित छन्, गृहमन्त्री रामबहादुर थापा, शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र श्रममन्त्री रामेश्वर राय यादव । यस्तै यो पङ्क्तिकारले सांसदहरूको नामावली हेर्दा प्रतिनिधिसभामा रामकुमारी झाँक्री, रामकुमारी चौधरी, रामबहादुर बिष्ट, रामकुमार यादव, रामसहायप्रसाद यादव र सीताराम महतो गरी ६ जना र राष्ट्रियसभामा रामचन्द्र राई, रामनारायण बिँडारी, रामप्रित पासवान, बलराम बाँसकोटा गरी चार जना रामवाला नाम भएका सांसदहरू रहेछन् । नीति–निर्माण तहमै यतिका राम भएपछि ‘राम’ नेपालकै हुन् जस्तो लाग्नु स्वभाविक पनि हो । यसका अलावा हाम्रा घर–घरमा, टोल–टोलमा रामहरूको सङ्ख्या धेरै छ ।

कोरोना भाइरस र अन्य प्राकृतिक विपद्ले मुलुक अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भानुजयन्तीको अवसरमा बोल्दै राम नेपालमा जन्मिएका हुन् भन्नुभएपछि मुलुकमा मात्र होइन छिमेकी मुलुकमा पनि रामको जन्मस्थानले ब्यापक चर्चा पायो, पाइरहेको छ । भारतको अयोध्याका रामको विवाह नेपालकी राजकुमारी सीतासँग भएको सुन्दै, पढ्दै हुर्किएकाहरूलाई अयोध्या नेपालको चितवनमा रहेको र राम यही जन्मिएको प्रधानमन्त्रीको अभिव्यक्ति आश्चर्यपूर्ण लाग्यो । जसलाई लिएर सामाजिक सञ्जालमा हँसिमजाक पनि भए । प्रधानमन्त्रीको तर्क थियो, यातायातका साधन नभएको त्यो जमानामा सीतालाई लिन राम त्यति टाढाबाट के आए होला र ? तर्क आफैमा रोचक थियो, किनभने उहाँको जस्तै तर्क गर्ने हो भने पुराना धेरै कुरामा सही थाप्न मिल्दैनथ्यो, मिल्दैन । जस्तो, भगवान् शिवको घर हिमालय पर्वत कैलाशलाई मानिन्छ । महादेवले पार्वतीसँग पशुपतिको मृगस्थलीमा छलदेखि क्रिडासम्म गरेका कुरालाई लिएर त्यति टाढाबाट शिव कसरी आए होलान् र ? भनेर प्रश्न गर्नुपर्ने हुन्छ । काठमाडौंबाट कैलाश पुग्न अहिले पनि मोटर, हवाइजहाज हुँदै हेलिकोप्टरसम्मको प्रयोग गर्नुपर्छ । यस्तै, महाभारतका पञ्चपाण्डवहरू गुप्तवास बसेको विराटनगर हामीकहाँ नै छ । दैलेखमा पाण्डवहरू बसेको प्रमाणस्वरुप पञ्चदेवलहरू छन् । ‘हाम्रै हुन्’ भन्ने दाबी पनि कस–कसको मात्रै गर्ने ?

राजकुमार पृष्ठभूमिका बुद्ध र राम जस्ता महान् आत्माहरूको जन्म कहाँ भएको थियो भन्ने कुराले मात्र होइन ती जन्मस्थलका शासकहरूले के–कस्तो काम र ब्यवहार गरिरहेका छन् भन्ने कुराले पनि त्यत्तिकै अर्थ राख्छ । रामको पूजाआजा छोरा या ज्वाइँको रूपमा नभएर भगवानको रूपमा गरिने भएकाले रामकहाँ जन्मिएका हुन् भन्ने कुराले अनुयायीहरूलाई फरक पर्ने देखिँदैन ।

‘राम’लाई बुझ्नका लागि दुई वटा उपमा महत्वपूर्ण छन्, रामराज्य र मर्यादापुरुष । रामको राज्यमा जनतालाई कुनै दुःख, कष्ट र अन्याय नहुने भएकाले न्यायपूर्ण राज्यको प्रसङ्गमा ‘रामराज्य’ भन्ने गरिएको हो । हामीकहाँ रामराज्यको परिकल्पना अहिलेलाई टाढाको लक्ष्य हुन सक्छ । नेपालका प्रधानमन्त्रीले रामलाई नेपाली भूमिमा जन्मिएको भनेपछि उता भारतका विदेशमन्त्रीले भगवान् बुद्धलाई भारतमा जन्मिएको भने । यसो हेर्दा यी दुई दाबीमा रामवाला जनताको ध्यान मोड्न र बुद्धवाला हिसाबकिताब बराबर गर्नका लागि गरिएका हुन् भन्न सकिन्छ । कसैले ‘क्लेम’ गर्दैमा राम र बुद्धको जन्मस्थान परिवर्तन हुने कुरा होइन । प्रधानमन्त्री, विदेशमन्त्री जस्ता पदाधिकारीले टिप्पणी गर्ने कुरा पनि होइनन् । राजकुमार पृष्ठभूमिका यी दुवै महान् आत्माहरूको जन्म कहाँ भएको थियो भन्ने कुराले मात्र होइन ती जन्मस्थलका शासकहरूले के–कस्तो काम र ब्यवहार गरिरहेका छन् भन्ने कुराले पनि त्यत्तिकै अर्थ राख्छ ।

अयोध्याका राजा दशरथका छोरा राम कर्तब्यपरायण सन्तान थिए । राजा बन्नुपर्ने बेलामा बाबुको आज्ञा पालन गर्दै १४ वर्ष वनबास गएकाले उनले यो उपमा पाएका हुन् । उनका ठाउँमा अरु सन्तान भए विद्रोह गर्ने थिए । राजा दशरथले पत्नी कैकेयीको दबाबमा परेर छोरालाई वनबास पठाउन बाध्य भएपछि ‘तिमी मसँग बरु विद्रोह गरेर राज्य लेउ, राजकाज चलाउ तर वनबास नजाउ’ भन्दा रामले कैकेयी पनि मेरी आमा नै हुन्, आज्ञाको पालना गर्नु मेरो धर्म हो भनेर जङ्गल गए । बाबुआमाको आज्ञालाई आफ्नो कर्तब्य ठान्ने भएकाले उनलाई कर्तब्यपरायण भनिएको हो । रामले पाएको अर्को उपमा हो ‘मर्यादा पुरुष’ । मर्यादाको कसी महिलामा मात्रै लागु हुने र जे-जे गरे पनि, केही नगरे पनि पुरुष भनेको पुरुष नै हो भन्ने मान्यता रहेको तात्कालीन समाजमा पुरुषले धेरै महिलाहरू विवाह गर्ने चलन थियो । आफ्नै बाबु राजा दशरथका तीन वटी पत्नी थिए । समाजमा बहुविवाह सामान्य थियो । श्रृङ्खलावद्ध विवाह गर्न सक्नुलाई मर्दानगी ठानिन्थ्यो । त्यस्तो बेलामा रामले एक पत्नीमा सीमित रही मर्यादा कायम राखेकाले उनलाई पुरुषहरूमा उत्तमको संज्ञा दिँदै मर्यादा पुरुषोत्तम भनियो । अहिले पोशाकलाई लिएर मर्यादित र अमर्यादित भन्ने लहर चलेको छ तर मर्यादाको सीमा जीवनका विविध पाटामा लागु हुन्छ ।

रामबाट सिक्नैपर्ने कुरा के हो भने जस्तोसुकै आपद्विपदमा पनि उनी शान्त रहे । हरेक विपद्लाई सहन सक्ने क्षमता उनमा थियो । देश र जनतालाई उनले सर्वोपरि ठाने । मुलुकको हितको अगाडि परिवार, नातागोता गौण बन्न पुगे । जनताको चाहनालाई नै आफ्नो इच्छा ठाने र उनीहरूमध्ये कसैलाई पनि अन्याय नहोस् भन्ने कुरामा सधैं सचेत रहे । राम आदर्श पति नभए पनि सफल राजा हुन् । आफ्नै पत्नीमाथि न्याय गर्न नसके पनि न्यायिक राज्यको निर्माण गरेर तात्कालीन जनताको मनमा मात्र नभई अहिलेसम्म पनि मानिसहरूको मन–मष्तिष्कमा बस्न सक्नु रामको जिन्दगीको सबैभन्दा ठूलो सफलता हो ।

रामायण अध्ययन गर्दा राम हामीकहाँ जन्मिए जस्तो त लाग्दैन तर जहाँ जन्मिएका भए पनि रामको संरक्षण गर्नु राम्रो कुरा हो । रामको भब्य मन्दिरको उद्घाटनसँगै हठात् गुमेको हिन्दुराष्ट्रको पहिचान पनि फर्काउन सके ओली सरकारको ऐतिहासिक कदम हुनेछ । राम कुनै राष्ट्रको सीमामा बाँधिने ‘नागरिक’ होइनन् । राम एउटा आदर्श र आस्था हुन् । आस्था र आदर्शलाई मान्नेहरूको मन उनको वासस्थान हो ।

भारतीय विदेशमन्त्रीले बुद्धको बारेमा बोलेको कुरालाई भारतीय सरकारले गलत भनेर खण्डन गरिसक्यो । यता, प्रधानमन्त्रीले रामका बारेमा बोल्नुभएको कुरालाई लिएर परराष्ट्रमन्त्री प्रदीप ज्ञावालीले हाम्रा प्रधानमन्त्रीले भन्न खोज्नुभएको कुरा अर्कै हो, राम तिमीहरूकै हुन् भन्ने आशयको वक्तब्य निकाल्नुभएको थियो । प्रधानमन्त्रीले बोलेको कुरा परराष्ट्रमन्त्रीले खण्डन गर्नुपर्ने अवस्था आउनु आफैमा असहज परिस्थिति थियो । राम काण्ड अब सकियो होला भन्ने ठान्दै गर्दा अहिले प्रधानमन्त्रीले माडी नगरपालिकाका जनप्रतिनिधिलाई बोलाएर रामको जन्मदिन रामनवमीसम्ममा भब्य मन्दिर बनाउने निर्देशन दिनुभएको छ । राम भारतको अयोध्यामै जन्मिएका हुन् भन्दा नै पनि नेपालमा राममन्दिरहरू थिए, छन् । रामको पूजाआजा छोरा या ज्वाइँको रूपमा नभएर भगवानको रूपमा गरिने भएकाले रामकहाँ जन्मिएका हुन् भन्ने कुराले अनुयायीहरूलाई फरक पर्ने देखिँदैन ।

सत्यवादी रामलाई युगौँपछि आफ्नो बारेमा अनेक चर्चा सुन्नुपर्दा कस्तो लागेको छ थाहा भएन । तर आफ्नो पढाई सकेर बेरोजगार बस्नु परेका, जिन्दगी धान्न परदेश पुगेर दुःख पाएका, उपचार र हौसला नपाएर क्वारेन्टिनमा आत्महत्या नै गरौँ कि भन्ने अवस्थामा पुगेका तमाम रामहरू र अनेक जोखिमपूर्ण परिस्थितिबाट गुज्रिन बाध्य राममायाहरूलाई भने यो बहस निरर्थक लागेको छ । रामायण अध्ययन गर्दा राम हामीकहाँ जन्मिए जस्तो त लाग्दैन तर जहाँ जन्मिएका भए पनि रामको संरक्षण गर्नु राम्रो कुरा हो । रामको भब्य मन्दिरको उद्घाटनसँगै हठात् गुमेको हिन्दुराष्ट्रको पहिचान पनि फर्काउन सके ओली सरकारको ऐतिहासिक कदम हुनेछ । जहाँसम्म राम कसका हुन् भन्ने प्रश्न छ, राम सबैका हुन् । राम कुनै राष्ट्रको सीमामा बाँधिने ‘नागरिक’ होइनन् । राम एउटा आदर्श र आस्था हुन् । आस्था र आदर्शलाई मान्नेहरूको मन उनको वासस्थान हो । नाथुराम गोड्सेले आफूमाथि गोली चलाएपछि महात्मा गान्धीले जीवनको अन्तिम शब्द बोलेका थिए– हे राम !