मंगलबारदेखि कपिलवस्तु जिल्ला पूर्ण लकडाउन

मंगलबारदेखि कपिलवस्तु जिल्ला पूर्ण लकडाउन


विशेष प्रतिनिधि, कपिलवस्तु

स्थानीय प्रशासनले साउन २७ गते मंगलबार बिहान ५ बजेबाट कपिलवस्तु जिल्लालाई पूर्ण रुपले लकडाउन गर्ने निर्णय गरेको छ ।

समुदाय स्तरमा कोरोना संक्रमण बढ्न थालेपछि प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलेको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

जिल्लामा ८ सय ५७ जनामा कोरोना पुष्टि भइसकेको र यो संख्या अझै बढ्न सक्ने र त्यसबाट कोरोना संक्रमणको अवस्था भयावह हुन सक्ने भन्दै लकडाउन गर्नु परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार २७ गते मंगलवार बिहान ५ बजे देखि ३२ गते राति १२ बजे सम्मलाई पूर्ण रुपमा लकडाउनको घोषणा गरिएको छ ।

लक डाउनको अवधिभर अति आवश्यक सेवाका पसल तथा सवारी साधान बाहेक सवै बन्द हुने जनाइएको छ । मेडिकल, पानी, दुध जस्ता बस्तुहरु बाहेक सबै पसल व्यवसाय बन्द गर्ने निर्णय गरिएको छ । उद्योग तथा कलकारखानाको भने स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य निर्देशिकाअनुसार सुरक्षाको सर्तकता अपनाएर सञ्चालन गर्न सकिने प्रजिअपौडेलले बताए ।

दमकल, एम्बुलेन्स, शव बाहन, दुध, खानेपानीका गाडीहरु बाहेक अन्य सवै निजी तथा भाडाका सवारी साधानहरु संचालनमा पूर्ण रोक लगाइएको छ ।

राजमार्ग भएर गुड्ने गाडीहरु जिल्लामा नरोकिने गरी भने चल्न पाउने छन् । तरकारी र खाद्यान्न खरिदका लागि हरेक दिन विहान ८ बजे देखि १० बजे सम्मको समय तोकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।