सालको पातको ‘भ्यूज’ हालसम्मकै सर्वाधिक

सालको पातको ‘भ्यूज’ हालसम्मकै सर्वाधिक


रामबहादुर थापा

लोकदोहोरी गीत ‘सालको पातको टपरी’ युट्युबमा सार्वजनिक भएको आउँदो साता २३ महिना पुग्दैछ । यस बीचमा गीतको म्युजिक भिडियोले युट्युबमा छ करोड २१ लाख बढी ‘भ्यूज’ बटुलेको छ ।

सालको पातले पाएको भ्यूज लोकदोहोरी गीतमा हालसम्मकै सर्वाधिक रहेको बताइएको छ । सार्वजनिक भएको छोटो अवधिमा धेरै हेरिएको लोकदोहोरीमा उक्त गीत दर्ज भएको थियो । चार महिना नबित्दै युट्युबमा दुई करोड भ्यूज नाघेको थियो ।

गीतमा कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको मीठो स्वर भर्नुभएको छ । युवा पुस्ताका गीतकार नवराज पन्तको शब्दमा वसन्त थापाले सङ्गीत दिनुभएको छ । स्रोता/दर्शकले अत्यधिक रुचाएपछि गीतले एकाएक चर्चा र प्रसिद्धि कमाएको थियो । अहिले पनि गीतको भ्यूज निरन्तर बढेको छ । पछिल्लो एक महिनामा झण्डै दश लाख पटक हेरिएको छ । ‘स्रोताको मन जित्नु ठूलो कुरा रहेछ, व्यावसायिक हिसाबले पनि गीत सफल रह्यो’, सङ्गीतकार थापाले भन्नुभयो ।

झ्याउरे लयमा ठेट जनजीब्राका शब्द र मनछुने स्वरले गीतमा प्राण भरेको छ । कुशल अभिनय र नृत्यले दर्शक लोभ्याउँछ । म्युजिक भिडियोमा नायिका मरिष्का पोखरेलसँगै गायक विश्वकर्मा र सङ्गीतकार थापाको अभिनय छ । निर्देशन शिव विकले गर्नुभएको छ । हाल अमेरिकामा रहनुभएका गीतकार पन्तका अनुसार गीतमा प्रेममा सिर्जित अविश्वास र त्यसको भोगाइको कारुणिक यथार्थबादी कथा छ । ‘मानवीय प्रेम र सम्बन्धमा आउने उतारचढाव गीतको रचनागर्भ हो’, उहाँले भन्नुभयो ।

गायक विश्वकर्माले गीतले यतिसम्म चर्चा पाउँला भनेर पहिले नसोचिएको प्रतिक्रिया दिनुभयो । उहाँको साङ्गीतिक जीवनको मानक गीतका रुपमा सालको पातलाई सधैँ सम्झिने छ । अभ्यास डिजिटल म्युजिक प्रालिद्वारा निर्मित गीत ‘वसन्त थापा’ नामको युट्युब च्यानलबाट सार्वजनिक भएको थियो । एक लाख सब्सक्राइबर (युट्युब च्यानलको समूह सदस्य) पुगेपछि उक्त च्यानलले अर्वाडसमेत पाइसकेको छ ।

अहिले उक्त च्यानलको सब्सक्राइब झण्डै छ लाख पुगेको छ । गीतका बारेमा युट्युबमा १३ हजार बढीले प्रतिक्रिया जनाएका छन् । गीत हेर्ने, लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्नेको सङ्ख्याका आधारमा युट्युबमा गीतको चर्चा मापन हुन्छ । सोही आधारमा कलाकारले पैसा पाउँछन् । पैसा आउनका लागि तोकिएको सङ्ख्यामा हेरिनुपर्ने र सब्सक्राइबर (युट्युब च्यानलको समूह सदस्य) पुग्नुपर्ने प्रावधान छ । अमेरिका, युरोपलगायतका देशबाट हेर्दा बढी पैसा आउँछ ।

शुरुमा युट्युब एकाउन्ट परीक्षणमा रहने र मोनिटाइज भएपछि मात्र पैसा आउने कलाकार बताउँछन् । श्रव्य क्यासेट, सिडी, सिआरबिटी हुँदै सङ्गीत व्यवसाय अहिले युट्युबमा केन्द्रित छ । प्रविधिको फड्कोले सङ्गीत बजारको स्वरुप बदलेको हो । सालको पातले पनि सम्बन्धित लगानीकर्ता/कलाकारलाई आकर्षक कमाइ दिलाएको छ । गायक विश्वकर्मा र सङ्गीतकार थापाबीच अर्को लोकदोहोरीमा पुनः सहकार्य हुँदैछ । ‘शब्द रचना प्रह्लाद सुवेदीले गर्नुभएको छ, गायिका को राख्ने निश्चित भइसकेको छैन’, थापाले भन्नुभयो ।