कति विद्युत् खपत गर्ने अब तपाईंकै हातमा

कति विद्युत् खपत गर्ने अब तपाईंकै हातमा


महिना दिनभर तपाईले औसतमा कति मूल्य बराबरको विद्युत् उपभोग गर्नुहुन्छ ? यसको लेखाजोखा तपाईं आफैँले गर्न सक्नुहुने भएको छ । तपाईं लाई धेरै विद्युत् खपत हुन्छ भन्ने लागेको खण्डमा बढी महसुल तिर्नुपर्नेछ, कम खपत गर्छु भन्ने लागेको छ भने कम महसुल तिर्दा हुने भएको छ ।

यस्तै, आगामी महिनाको विद्युत् महसुल पनि यसै महिना तिर्छु भन्ने तपाईंलाई लागेको छ भने त्यो पनि गर्न सकिने भएको छ । नेपाल विद्युत् प्राधिकरणले आइतबार (२५ साउन)देखि सञ्चालनमा ल्याएको स्मार्ट मिटरले तपाईंले अग्रिम नै महसुल तिर्न सक्ने व्यवस्था गरेको हो ।

प्रविधिमा आएको परिवर्तन तथा संसारका विभिन्न देशमा लागू भएको स्मार्ट मिटर अवधारणा कार्यान्वयनमा आएपछि महिना दिनभित्र आफूले प्रयोग गर्ने विद्युत्को मात्रा आफैले तोक्नसमेत सकिने भएको छ । ‘स्मार्ट मिटरमा पोष्ट पेड र प्रि पेड दुवै व्यवस्था हुने हुँदा ग्राहकको इच्छाअनुसार पोष्ट पेड र प्रि पेडमा महसुल तिर्न सक्ने छन् । ग्राहकले जुनसुकै ठाउँबाट अनलाइन बिल भुक्तानी गर्न समेत सहज हुनेछ’, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भनाई छ ।

प्राधिकरणले घरायसी ग्राहकको घरमा रहेका सिंगल फेज मिटरलाई विस्थापन गरी स्मार्ट मिटर जडान गर्न सुरु गरेको छ । मुलुकभर हाल करिब ५० लाख सिंगल फेजका ग्राहक रहेकोमा पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका ग्राहकहरुको सिंगल फेज र थ्रि फेज गरी करिब एक लाख मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरिनेछ । स्मार्ट मिटर जडानको शुरुआतसँगै प्राधिकरणले अगाडि सारेको ‘डिजिटल एनइए’ पनि कार्यान्वयनतर्फ गएको छ ।

स्मार्ट मिटर प्रयोगमा आएपछि ग्राहकको घरघरमा गएर मिटर रिडिङ गर्नुपर्ने झन्झटको समेत अन्त्य हुनेछ । विद्युत् खपतको तथ्याङ्क (ग्राहक र वितरण केन्द्र) दुवैतर्फ प्रसारण हुन सक्ने हुँदा वितरण केन्द्रबाटै मिटर रिडिङ गर्न सकिने र बिल नतिर्ने ग्राहकको लाइन केन्द्रबाटै अनलाइनमा काट्न सकिने व्यवस्था उक्त मिटरमा रहेको छ । समयमा मिटर रिडिङ हुन नसक्दा हुने विद्युत् चुहावट नियन्त्रण हुने कार्यकारी निर्देशक घिमिङले जानकारी दिनुभयो ।

कसैले मिटर बाइपास गरी विद्युत् चोरी गर्न खोजेमा त्यसको जानकारी वितरण केन्द्रमा हुने हुँदा चोरी नियन्त्रणमा थप प्रभावकारिता आउने प्राधिकरणको विश्वास छ । स्मार्ट मिटरमा एकीकृत लोड मात्र प्रयोग गर्न पाउने गरी सेटिङ गर्न सकिने हुँदा डिमाण्ड चुहावट नियन्त्रणमा आउनेछ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आइतबार काठमाडौंको बूढानिलकण्ठ नगरपालिका–९ को वडा कार्यालय मन्डिखाटारमा रहेको सिंगल फेज मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरी जडान कार्यको शुभारम्भ गरेका छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले स्मार्ट मिटरको प्रयोगपछि मिटर रिडिङका लागि कर्मचारी आवश्यक नपर्ने हुँदा आगामी दिनमा दुई हजार ५०० देखि तीन हजारसम्म कर्मचारीको खर्च कम हुने जानकारी दिए । उनका अनुसार स्मार्ट मिटरमा हरेक घण्टाको महसुल फरक–फरक कायम गर्न सकिने हुँदा बढी विद्युत् माग हुने समय, सामान्य विद्युत् माग हुने तथा अति सामान्य समयमा ग्राहकका लागि फरक–फरक महसुल तोक्न सकिने छ । यस्तै, वर्षायाममा बढी विद्युत् उत्पादन हुने भएकाले त्यसको खपत बढाउन सस्तो महसुल पनि कायम गर्न सकिने उनको भनाइ छ । त्यस्तै, हिउँदको बढी विद्युत् माग हुने भएकाले महसुल पनि फरक तोक्न सकिने भएको छ ।

प्राधिकरणले पहिलो चरणमा देशभरका आठ हजार २२२ टाइम अफ डे (टिओडी) मिटरलाई स्मार्ट बनाइसकेको छ । दोस्रो चरणमा देशभरका करिब एक लाख २५ हजार थ्रि फेज मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गर्ने काम शुरु भएको छ । प्राधिकरणका अनुसार काठमाडौं उपत्यकामा यस्ता करिब १८ हजार मिटर जडान भइसकेका छन् ।

स्मार्ट मिटरको प्रभावकारी प्रयोगका लागि आवश्यक सञ्चार उपकरण सहितको ‘व्याकबोन’ काठमाडौं उपत्यकाभरीलाई हुने गरी जडान गरिँदै छ । सञ्चार उपकरण सहितको प्रणाली र सिंगल फेज स्मार्ट मिटर जडानको लागत करिब रु एक अर्ब रहेको छ । त्यसका लागि एसियाली विकास बैंकले सहुलितपूर्ण ऋण उपलब्ध गराएको छ ।

कार्यक्रममा मन्त्री पुनले सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य राज्यका निकायले प्रवाह गर्ने सेवाको आधुनीकरण र चुस्तता कायम गर्नुभएको उल्लेख गर्दै त्यसलाई पूरा गर्न स्मार्ट मिटर जडानको शुरुआत एउटा कोशेढुङ्गा भएको स्पष्ट पारे । स्मार्ट मिटरको जडान मात्रै हैन, सङ्घीय राजधानीलगायत मुलुकका मुख्य मुख्य सहरमा विद्युत् वितरण प्रणालीलाई भूमिगत गरी सहरी सौन्दर्यता बढाउन र प्रणालीलाई विश्वसनीय तथा भरपर्दो बनाउन काम गरिरहेको पनि उनले बताए ।

काठमाडौं उपत्यकामा हाल रहेका करिब चार लाख मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गर्न बोलपत्र प्रक्रिया अगाडि बढाइएको छ । कार्यकारी निर्देशक घिसिङलाई उद्धृत गर्दै राससले जनाएअनुसार प्राधिकरणले मुलुकभरका सबै ग्राहकको मिटरलाई स्मार्ट बनाउने गरी कार्यक्रम अगाडि बढाएको छ ।