विश्व नम्बर एक एस्लेद्वारा युएस ओपनबाट नाम फिर्ता

विश्व नम्बर एक एस्लेद्वारा युएस ओपनबाट नाम फिर्ता


विश्व नम्बर एक अष्ट्रेलियन टेनिस खेलाडी एस्ले बर्टीले सन् २०२० को अमेरिकी ओपन (युएस ओपन) बाट आफ्नो नाम फिर्ता लिएकी छिन् । २४ वर्षीय एस्लेले कोरोना भाइरसको महामारीका कारण अमेरिकी ओपनबाट आफ्नो नाम फिर्ता लिएकी हुन् । उनले यो निर्णय बडो मुस्किलले गरेको बताएकी छिन् ।

यतिबेला विश्वमै कोरोना भाइरसको महामारी छ, यस्तो अवस्थामा म कुनै पनि जोखिम उठाउन चाहन्नँ । यात्रा लामो छ, त्यसैले म जोखिमपूर्ण यात्रा गर्न चाहन्न । मनमा सङ्कोच र स्वास्थ्यलाई सङ्कटमा पारेर यात्रा गर्नुको कुनै अर्थ छैन । अर्को कुरा त्यसको प्रत्यक्ष प्रभाव मेरो खेलमा पर्नेछ । मैले सोचेको जस्तो प्रदर्शन गर्न सक्ने छैन । त्यसैले मैले युएस ओपन ग्राण्ड स्लैम नखेल्ने नमिठो निर्णय गरेकी हुँ, एस्लेले भनिन् ।

युएस ओपन विश्वका चार प्रमुख ग्राण्ड स्लैममध्यको एक हो । युएस ओपन ३१ अगस्तदेखि १३ सेप्टेम्बरसम्म अमेरिकाको न्यूयोर्क शहरमा सञ्चालन हुँदैछ । यो प्रत्येक वर्ष यही समयमा आयोजना गरिन्छ । अमेरिका बढ्दै गएको कोरोना महामारीका कारण यो प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिन ‘हाई प्रोफाइल’ खेलाडीमा एस्ले पहिलो सूचीमा परेकी छिन् । उनले हालै आयोजक कमिटीलाई इमेल पठाउँदै म र मेरो टिमका साथीहरूले यस्तो फैसला गरेको जानकारी गराएकी थिइन् । एस्लेले इमेलमा आफूहरू वेस्टर्न एण्ड सदर्न र अमेरिकी ओपनका लागि यो वर्ष यात्रा नगर्ने बताएका थिए ।

‘आफूलाई दुवै प्रतियोगितामा खेल्न एकदमै मन थियो तर विषम परिस्थितिले गर्दा त्यो सम्भव भएन’, एस्लेले बताएकी छिन् । उनले आफ्नो मनले मानी–नमानी पनि यस्तो फैसला गर्नु परेको खुलासा गरेकी छिन् । ‘यस्तो फैसला गर्नु ज्यादै मुस्किल थियो तर कोरोनाका कारण जोखिम उठाउने आँट नै गर्न सकिनँ । यस्तो अवस्थामा मैले आफू र आफ्नो टिमलाई जोखिममा पार्न चाहिनँ’, एस्लेले भनिन् ।

व्यवसायिक टेनिसकी ‘राइजिङ स्टार’को रूपमा परिचित एस्लेलेले गत वर्ष फ्रेञ्च ओपन टेनिसको उपाधि जितेर सनसनी फैलाएकी थिइन् । अव एस्लेले आफ्नो उपाधि बचाउन फ्रेञ्च ओपन खेल्छिन् या खेल्दिनन् त्यसको बारेमा पनि अहिलेसम्म कुनै निर्णय गरेकी छैनन् ।