नेपाली सेनालाई भारतद्वारा १० वटा आइसीयु भेन्टिलेटर उपहार प्रदान

नेपाली सेनालाई भारतद्वारा १० वटा आइसीयु भेन्टिलेटर उपहार प्रदान


विद्यमान विश्वव्यापी महामारी कोभिड–१९ विरुद्ध लड्न सहयोग पुर्‍याउने प्रयासअनुरुप भारतीय सेनाले २०७७ श्रावण २५ गते नेपाली सेनालाई दशवटा आइसीयु भेन्टिलेटर उपहार स्वरुप प्रदान गरेको छ ।

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले यी भेन्लिेटरहरू सुकीर्तिमय राष्ट्रदीपबाट सम्मानित एवम् भारतको मानार्थ महारथी उपाधिबाट सुशोभित नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापालाई नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा प्रदान गर्नुभयो ।

बताइएअनुसार ‘एडभान्स्ड इन्भेसिभ तथा नन् इन्भेसिभ रेस्पिरेटरी सर्पोट’का लागि यी भेन्टिलेटरहरू व्यापक रूपमा प्रयोग गर्न मिल्ने गरी डिजाइन गरिएका छन् । यी भेन्टिलेटरहरू अस्पतालका आइसीयु, बहु–विशेषतायुक्त अस्पताल तथा विशेष आइसीयु कक्षमा बिरामीको हेरचाहका लागि प्रयोग गर्न सकिने दातृपक्षको भनाई छ ।

यसको अलावा विशेष तरिकाले निर्माण गरिएकाले गम्भीर अवस्थाका र सघन उपचार आवश्यक पर्ने बिरामीहरूको ओसारपसारमा यी भेन्टिलेटरहरू सहज र उपयोगी छन् ।

ज्ञातव्य छ, मानवीय सहायता तथा राहतका लागि पहिलो सहयोगीको रूपमा लामो समयदेखि भारतीय सेनाले नेपाली सेनालाई सहयोग गर्दै आएको छ । दुई देशका सेनाबीच रहिआएको निरन्तर मानवीय सहयोगअन्तर्गत उक्त भेन्टिलेटरहरू उपहारस्वरुप प्रदान गरिएको जनाइएको छ ।

उपहार सामग्री हस्तान्तरणका क्रममा राजदूत क्वात्राले कोभिड–१९ विरुद्धको लडाईमा विजय प्राप्तिका लागि नेपालका जनतालाई सबै आवश्यक सहयोग पुर्‍याउन भारत प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।