कोरोना सङ्क्रमित पुरुषको मृत्यु

कोरोना सङ्क्रमित पुरुषको मृत्यु


कास्कीमा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । सङ्क्रमण पुष्टि भई उपचाररत पोखरा–१९ का एक ६२ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको होे ।

यही साउन १७ गते कोरोनासहित मधुमेहबाट पीडित भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको ‘कोभिड उपचार केन्द्र’को सघन उपचारकक्षमा उपचाररत ती पुरुषको गए राति ११ः३५ बजे उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यले जानकारी दिनुभयो । हालसम्म पश्चिमाञ्चल अस्पतालमा उपचारका क्रममा तीन सङ्क्रमितको मृत्यु भएकामा स्याङ्जाका दुई जना छन् ।

यसैबीच तराईका केही जिल्लासँगै काठमाडौं उपत्यका कोभिड–१९ का हिसाबले उच्च जोखिममा परेको छ । काठमाडौंमा दैनिकजसो नै सङ्क्रमणदर बढ्दो रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । बाहिरी जिल्लाबाट भित्रिएका मानिसमा सङ्क्रमण देखिएपछि उनीहरुमार्फत धेरैमा सङ्क्रमण हुन सहयोग गरेको छ । त्यसपछि आम जनमानसको प्रत्यक्ष सम्पर्क हुने सुरक्षाकर्मीमा सङ्क्रमण ह्वात्तै बढ्यो ।

विगतभन्दा अहिले मानिसले लापरवाही र हेल्चेक्रयाइँ गरिरहेको पाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल बताउनुहुन्छ । उहाँका अनुसार व्यावसायिक प्रतिष्ठानले समेत स्वास्थ्य मापदण्ड नअनाउँदा समस्या बल्झिरहेको छ । भौतिक दूरी कायम गर्ने कुरामा समेत ध्यान कम छ । भीडभाड बढ्दो छ । यातायातमा समेत मापदण्ड प्रयोग गर्न सकिएको छैन । खुलम्खुला मानिस भित्रिरहेका छन् । यी विभिन्न कारणले उपत्यकामा कोभिड–१९ फैलाउन मद्दत गरेको स्वास्थ्यविज्ञहरु बताउँछन् ।

उपत्यकाको नाकाबाट सहज रूपमा मानिस आवतजावत हुँदा सङ्क्रमण फैलिन सहयोग गरेको हो । जसरी सङ्क्रमणदर बढ्दो छ, त्यसरी नै परीक्षणको दायरा बढाउनु आवश्यक हुने उहाँहरुको भनाइ छ । शुरुआती चरणमा भारतीय सीमा क्षेत्रमा बढीे सङ्क्रमण देखिएको थियो । अहिले भारतबाट आउने क्रम न्यून भएपछि नेपालभित्रै सङ्क्रमण फैलिसकेको स्पष्ट भएको छ । आपतकालीन उद्धारमा गएका सुरक्षाकर्मीबाट पनि कोभिड–१९ सङ्क्रमण त्रित्रिएको आशङ्का गरिएको छ ।

दुई दिनअघि काठमाडौँको हाँडीगाउँस्थित कोटालमा बस्ने एक सुरक्षाकर्मीमा कोभिड–१९ पुष्टि भयो । परीक्षणका क्रममा उहाँका परिवारसहित पाँच जनाका सङ्क्रमण देखियो । उहाँका घरबेटीलाई समेत सङ्क्रमण भएको पाइयो । सोही टोलमा २५ जनाको परीक्षण गर्दा थप छ जनामा सङ्क्रमण भेटिएको काठमाडौँ महानगरपालिका–५ का वडाध्यक्ष रमेश डङ्गोल बताउनुहुन्छ । उहाँका अनुसार अहिले उक्त टोललाई सिल गरिएको छ । उपत्यकाका अन्य १२० भन्दा बढी स्थानमा सङ्क्रमण देखिइसकेको छ ।

यस्तो अवस्थामा स्वयं सावधानी अपनाइएन भने नियन्त्रणका कुनै पनि उपायले काम नगर्ने मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनुभयो । नेपालमा गत माघ ९ गते पहिलो सङ्क्रमण देखिएको थियो । त्यसपछि चैतमा फाट्टफुट्ट देखियो । वैशाख अन्तिम सातापछि ह्वात्तै बढेको थियो । त्यो बेला क्वारेन्टिनमा बसेका मानिसमा बढी थियो भने अहिले समुदायमै देखिन थालेकाले थप जोखिम छ ।

सङ्क्रमण बढेपछि विभिन्न जिल्लार स्थानीय तहले आ–आफ्नो क्षेत्रमा निषेधाज्ञा जारी गरेर नियन्त्रण प्रयास गरिरहेका छन् । समुदायले आफैँ सचेत भएन भने नियन्त्रण गर्न कठिन हुने चिकित्सकले बताएका छन् ।