शरीरको अङ्ग औंल्याएर जब पूजामाथि ब्यङ्ग्य गरियो…

शरीरको अङ्ग औंल्याएर जब पूजामाथि ब्यङ्ग्य गरियो…


कोरोना महामारीका कारण यतिबेला फिल्म निर्माण तथा प्रदर्शन त ठप्पै रोकिएको छ । भीडभाडबाट बच्नुपर्ने यस महामारीका कारण सिने उद्योगले फेरि पुरानो अवस्थामा आफूलाई कहिले फर्काउन सक्ने हो, त्यसको कुनै टुङ्गो छैन । यसरी फिल्म निर्माण र प्रदर्शन बन्द भए पनि नेपाली फिल्म तथा कला क्षेत्रका कलाकार एवम् सम्बद्ध अन्य सिनेकर्मीहरू आजभोलि अनेक प्रकारका विवादमा पर्ने र पारिने उपक्रम देखापरेको छ । सिने नायक–नायिकाहरू एकाएक आफ्ना दुःखेसो वा पीडाहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहेका देखिन्छन् । यस क्रममा नायिका पुजा शर्माले पनि आफ्नो दुःखेसो पोखेकी छन् । उनी लेख्छिन्–

‘कतिचूप रहने ? कति सहने ? प्राइम टिभीमा अन्तर्वार्तामा बोलाइयो गएँ, सामान्य ज्ञानसँग सम्बन्धित प्रश्न गरियो । अन्तर्वार्ता चल्दाचल्दै मैले पत्रकार प्रकाश सुवेदीजीलाई ‘मैले राम्रो गर्न सकिनँ, प्लिज यो काटिदिनुस्’ भनेँ, मान्नुभएन । त्यो चिज प्रसारण भयो ‘भाइरल’ भयो मेरो थुप्रै ‘ट्रोल’हरू बने, आफ्नै गल्ती हो भनेर चूपचाप बसेँ ।’

‘पछि जब प्रकाशजी ‘एपी वन’ जानुभयो, मलाई पुनः अन्तर्वार्तामा आउ पुजा भनेर भन्नुभयो । म मानसिक तनाव झेलिरहेकी थिएँ, अब फेरि पुरानो गल्ती कसरी गर्न सक्थेँ ? म त्रसित पनि थिएँ, त्यसैले मैले ‘सरी दाइ.. म आउन सक्दिनँ’ भनेँ । तर त्यसपछि उहाँले आफ्नो कार्यक्रममा मलाई लक्षित गरेर ‘दाह्रा निस्केको, महानायिका’ भनेर शारीरिक हाउभाउलाई लक्षित गरेर अत्यन्त क्षुब्ध ढङ्गले प्रस्तुत गरेर मेरो मानहानी गर्न कुनै कसर छोड्नुभएन । के एक पत्रकारले यस्तो अशिष्ट, अभद्र र अमर्यादित शब्द प्रयोग गर्न मिल्छ ?’

‘पत्रकारले गर्न सक्ला मानौँ, के टेलिभिजनमा यस्ता असभ्य कुरा सम्पादन गर्ने कुनै निकाय छैन ? हरेक ‘ट्रोल’को शिकारदेखि, यस्तो अभद्र व्यवहारप्रति हामी कलाकार सधैं मौन नै रहनु पर्ने ? अहिले आएर उहाँले ‘मैले कसैको नाम तोकेको छैन’ भनेर भन्दै हुनुहुन्छ । के यसरी पन्छिन मिल्छ ? म नभए पनि कोही अभिनेत्रीलाई त ‘दाह्रे अभिनेत्री’ सम्बोधन गरिएकै छ त्यहाँ !’

‘हामी कलाकारहरू कहिलेसम्म पालैपालो यस्तो अतिवादको शिकार भइरहने ? हाम्रा गल्ती छन्, होलान् पनि, त्यो कुरा पत्रकार मित्रहरूले औंल्याइ दिनुपर्छ । तर यो ढङ्गको प्रस्तुतीकरणले के पत्रकारिताको पनि इज्जत बढ्छ त ? कृपया सुझाव सल्लाहको अपेक्षा गर्द्छु । यहाँहरूको सल्लाहअनुसार अगाडि बढ्नेछु !…’

नायिका पूजाको उपरोक्त अभिव्यक्तिमा उनको पीडा मात्र पोखिएको छैन, नेपाली मिडियाको एउटा चरित्र वा प्रवृत्तिलाई पनि उदाङ्ग तुल्याइएको छ । वास्तवमै पूजा शर्मा यतिबेला अकस्मात जबर्जस्ती आइपरेको अपमानजनक पीडाबाट गुज्रिरहेकी छिन् । सबै मानिस हरेक कुरामा जानिफकार वा ‘पर्फेक्ट’ हुन सक्दैनन् । कसैमा के क्षमता हुन्छ त कसैमा के ! हो, सुन्दरी नायिका पूजामा सामान्य ज्ञानको कमी रहेछ, जसलाई उनले स्वीकार पनि गरेकी छन् । तर, प्रशारण नगरिदिनु भन्दाभन्दै उनको अन्तर्वार्ता प्रशारण गरिनु र उनलाई ‘ट्रोल’ बनाएर मजाक उडाउनु हाम्रो समाजको विकृति नै हो । फेरि अब अन्तर्वार्ता दिन सक्दिनँ भन्नु पूजाको व्यक्तिगत अधिकारको कुरा थियो । तर अन्तर्वार्ता दिन अस्वीकार गर्दैमा शरीरको अङ्गविशेषलाई इङ्गित गरेर मिडियामार्फत् ब्यङ्ग्य गर्न मिल्छ ? यस विषयलाई पूजाले आफ्नो स्टाटसमार्फत् उठाएकी छिन् ।

यस प्रकरणबाट नेपाली कलाकार, मिडियाकर्मी र आमनागरिक सबैले शिक्षा लिनैपर्छ कि आफूलाई कुनै सार्वजनिक मञ्चमा प्रस्तुत गर्ने कि नगर्ने ? गर्ने हो भने त्यसको लागि तयारी कसरी गर्ने ? अनि कसैले आफूलाई स्वभाविक तवरमा अभिव्यक्त गर्छ भने उसको व्यक्तित्वलाई हाँसोको विषय बनाएर सार्वजनिक रूपमा कुन हदसम्म उछाल्न मिल्ने, या नमिल्ने ? मनन गरौँ, एकअर्कालाई तिरस्कार होइन प्रेम र सद्भाव बाँड्न सिकौँ । सकारात्मक सोच–व्यवहारले नै समाजलाई सुन्दर, सभ्य र उन्नतशील तुल्याउँछ ।