आगामी तीन दिन देशभर वर्षा हुने

आगामी तीन दिन देशभर वर्षा हुने


नेपालमा फेरि आगामी तीन दिन मनसुन सक्रिय हुने भएको छ । शनिबार (२४ साउन) रातिबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक सर्ने सम्भावना देखिएकाले दुई–तीन दिनसम्म देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको मौसमविद् कँडेलको भनाई छ ।

बताइएअनुसार यस वर्ष मनसुन बढी सक्रिय भएकोले निरन्तर वर्षा भइरहेको छ । मनसुनी रेखा नेपालमा धेरै दिनसम्म रही रहेकाले वर्षा बढी भएको हो ।

शनिबार रातिबाट दुई–तीन दिनसम्म नेपालमा मनसुन सक्रिय भई देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

हाल प्रदेश नं २ मा र प्रदेश नं ५ का केही भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । त्यस्तै वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५, कणाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।

दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।